सुत्केरी र बच्चाको मृत्युपछि टिचिङमा तनाब

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- डाक्टरको लापरबाहीले सुत्केरी र शिशुको मृत्यु भएको भन्दै आफन्त विरोधमा उत्रँदा सोमबार दिनभर त्रिवि शिक्षण अस्पताल तनाबग्रस्त हुन पुगेको छ। जेठ १३ मा प्रसूतिका लागि अस्पताल ल्याइएकी नुवाकोटकी ३० वर्षीया मीना पाठकको सोमबार मृत्यु भएको हो। नवजात शिशुको भने जेठ १४ मै निधन भइसकेको छ।

आफन्त सुरज थापा अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको आरोप लगाउँछन्। दोषीलाई कारबाही नगरेसम्म विरोध जारी राख्ने उनको भनाइ छ।

थापाका अनुसार प्रसूतिकक्षमा लैजानु एक घन्टाअघि गरिएको भिडियो एक्सरेमा चिकित्सकले बच्चा सामान्य अवस्थामा रहेको प्रतिक्रिया दिएका थिए। प्रसूतिकक्षमा पुर्याेएपछि चिकित्सकले लापरबाही गर्दा दुवैलाई गुमाउनुपरेको उनको भनाइ छ।

‘त्यसपछि हामीलाई यथार्थ सूचना नै दिएनन्, सामान्य भनिएका बिरामी र शिशु दुवैको ज्यान जानु, बच्चा आफन्तलाई नदेखाउनुजस्ता कार्यले लापरबाही गरेको प्रस्टै हुन्छ,’ उनले भने।

थापाका अनुसार प्रसूति भएकै दिन बच्चाको मृत्यु भएको घोषण गरिएको थियो। सामान्य भनिएको प्रसूतिपछि आमालाई तीव्र रक्तस्राव भएको, कारण नदेखाई पाठेघर झिकी फालिएको, अहिलेसम्म पनि शिशुको शव अनेक बहाना गर्दै आफन्तलाई नदेखाइएकाले घटनामा लापरबाही नै भएको उनीहरूको दाबी छ।

‘बच्चा हेर्छौं भन्दा पहिला आमाको उपचारतिर लागौं भनियो, सामान्य भनिएकी सुत्केरीको पाठेघर किन झिकियो?,’ थापाले भने।

यस विषयमा अस्पताल प्रशासन र पाठकका आफन्तबीच सोमबार बसेको बैठक निष्कर्षमा पुग्न सकेन। अस्पतालले घटनाको यथार्थ कारण खुलाउन नसकेकाले विरोध निरन्तर राख्ने उनीहरू बताउँछन्। ‘यतिका कमजोरी हुँदा–हुँदै अस्पताल प्रशासन कमजोरी छैन भन्दै आलटाल गरिरहेको छ,’ थापाले भने।

अस्पतालका प्रशासक गोविन्दबहादुर प्रधान सोमबारको बैठकले अस्पतालको स्थायी छानबिन समितिमार्फत घटनाबारे अध्ययन गर्ने निर्णय गरेको बताउँछन्। ‘यो समितिबाट चित्त नबुझे पीडित पक्षले अर्को उच्च स्तरको छानबिन समिति गठन गर्न पाउने व्यवस्था छ,’ उनले भने, ‘उनीहरूले छानबिनबाटै मूल्यांकन प्रतिवेदन पाउनेछन्, प्रक्रिया अघि बढिसकेको छ।’

source nagarniknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *