राजधानीमा ‘हङकङ फ्लु’

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं-राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरस (एच३एन२) संक्रमणको प्रकोप बढेको चिकित्सकले बताएका छन् । मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रूपमा देखिएको उनीहरूको भनाइ छ।

banner-300X250
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ बिरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको अस्पतालले जनाएको छ । अन्य अस्पतालका ओपिडी तथा आइसियुमा पनि ठूलो संख्यामा हङकङ फ्लुका बिरामी हुन सक्ने अनुमान छ।

अन्य सामान्य फ्लुमा लगातार खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या, १०२ डिग्रीभन्दा बढी ज्वरो आउनेजस्ता लक्षण हुन्छन् । तिनका भाइरसले रोगीप्रतिरोधी क्षमता कमजोर भएका र दीर्घरोगीलाई बढी असर गर्छन् । हङकङ फ्लुले भने युवक र अन्य स्वास्थ्यसमस्या नभएकालाई पनि गम्भीर असर गरिरहेको टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनले भने, ‘यो रोग पहिलोपटक संक्रमण हुनेमा अलि कडा रुपमा देखिएको हो ।’

पहिलोपटक सन् १९६८ हङकङमा भेटिएको यो भाइरसले त्यति बेला १० देखि ४० लाख मानिसको ज्यान लिएको अनुमान छ । हङकङमा भेटिएको दुई वर्षमै संसारका अधिकांश देशमा यो भाइरस सल्किएको थियो । १९७० पछि जन्मिएकाहरूमा भाइरसले बढी असर गरेको हुन सक्ने चिकित्सकको भनाइ छ ।

डा. पुनका अनुसार अघिल्ला वर्षमा नेपालमा मध्य चैतदेखि यो भाइरस देखिने गरेकामा यस वर्ष फागुनदेखि नै सक्रिय छ । एकपटक निको भएर फर्किएकालाई पुनः बल्झने, लामो समयसम्म पनि निको नहुने समस्या पनि थपिइरहेको छ । ‘हङकङ फ्लुका विभिन्न प्रकारमध्ये कुन प्रजातिको भाइरस हो, हामी छुट्ट्याइरहेका छौँ,’ पुनले थपे, ‘एउटा प्रजाति निको भएपछि अर्को प्रजातिको संक्रमण पनि हुनसक्छ ।’

सुरुमा व्यक्तिको माथिल्लो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हङकङ फ्लुलाई बेवास्ता गरे यो बिस्तारै भित्री श्वासप्रश्वास प्रणालीमा पनि संक्रमण हुन्छ । त्यसपछिको अवस्थामा पीडितलाई आइसियु र भेन्टिलेटरमै राखेर उपचार गराउनुपर्ने हुन्छ ।

ज्वरो नियन्त्रणमा नआउने, श्वासप्रश्वास कठिन हुने, सातादिनसम्म पनि रुघाखोकी निको नभए, अस्पताल गइहाल्न चिकित्सकको सुझाव छ । अहिले स्वाइनफ्लु नामले चिनिने मौसमी रुघाखोकी (एच१एन१, इन्फ्लुएन्जा बी टाइप) का भाइरस पनि सक्रिय छन् । ती सबैभन्दा हङकङफ्लु कडा रूपमा आइरहेको उनीहरू बताउँछन् ।

यो मौसममा हङकङ फ्लुसँगै अन्य भाइरसबाट पनि जोगिन चिकित्सक आग्रह गर्छन् । यसका लागि भिडभाडमा नजाने, प्रशस्त झोलिला खाने कुरा खाने, संक्रमितले प्रयोग गरेको रुमाल, भाँडा अरूले प्रयोग नगर्ने, संक्रमितसँग कम्तीमा एक मिटर परै बस्ने, हात नमिलाउनेजस्ता उपाय अपनाउन उनीहरूको सुझाव छ । सामान्यतः यस्ता भाइरस खोकी तथा हाच्छिउँ गर्दा सर्ने भएकाले यी प्रक्रियाबाट जोगिनुपर्छ । हात मिलाउँदा, सामूहिक प्रयोजनका किबोर्ड, कलम, ढोकाका ह्यान्डिलजस्ता साधनको प्रयोग पनि यस्ता भाइरस संक्रमणको कारण हुन सक्छन् । व्यक्तिगत सरसफाइसँगै साबुनपानीले हात धोइरहने बानीले संक्रमणबाट जोगाउन मद्दत गर्ने चिकित्सक बताउँछन् ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *