शिवरात्रीमा नाकाबन्दीको असरः भारतीय साधुको संख्या घट्यो

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं – पशुपतिनाथमा अघिल्लो शिवरात्रीको तुलनामा यस वर्ष साधु सन्त एवं नाङ्गा बाबाहरुको आगमन संख्या घटेको छ । भूकम्प नाकाबन्दीपछि भारतबाट बाबाहरु आउन डराएकाले पशुपतिमा जोगीहरुको चहल-पहल घटेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भारतका विभिन्न ठाउँबाट साधुसन्तहरु शिवरात्रीमा पशुपति आउने गर्छन् । तर, यो वर्ष बाबाहरुको संख्या करिव दुई हजारले घट्ने संकेत देखिएको कोषको अनुमान छ ।यो वर्ष करिव पाँच हजार बाबाहरु पशुपति दर्शनका लागि काठमाडौं आएको कोषका

सदस्य-सचिव डा. गोविन्द टण्डनले अनलाइनखबरसँग बताए । अघिल्लो वर्ष ७ हजारको हाराहारीमा बाबाहरु आएका थिए ।
‘पछिल्ला वर्षहरुमा बाबाहरुको उपस्थिति बढ्दै गइरहेको थियो’ टण्डनले भने- ‘यो वर्ष भूकम्प र नाकाबन्दीले त्रासदी फैलिएपछि बाबाहरु आउन डराएको हामीले अनुमान गरेका छौं ।’

त्यसो त एक महिनापछि भारतको उज्वैलमा कुम्भ मेला हुँदैछ । एउटै समय भएपछि नेपाल आउने बाबाहरु उज्वैलतिर लागेको हुनसक्ने सदस्य सचिव टण्डन बताउँछन् ।

नेपालमा भारतीय बाबाहरु गाडी र प्लेन दुबै माध्यमबाट आउँछन् । ठूला ठूला आश्रमका बाबाहरु प्लेनबाट आउने गरेको टण्डनको भनाइ छ ।

शिवरात्रीमा भारतबाट बाबामात्र नभई अन्य तीर्थालुहरु समेत पशुपति दर्शन गर्न आउने गर्छन् । त्यो संख्या पनि यसपटक घटेको टण्डनले बताए ।

शिवरात्रीमा भारतसहित मलेसिया, सिंगापुर, बेलायत, अमेरिकाबाट पनि हिन्दू धर्मालम्बी नेपाल आउँछन् । तर, एक्कासी आइलागेको प्राकृतिक र मानवीय संकटले धार्मिक पर्यटकको आगमन स्वात्तै घट्न पुगेको कोष बताउँछ ।
नेपाली पर्यटनको धार्मिक, सांस्कृतिक र प्राकृतिक संरचना नै हुन् । नेपाल भ्रमणमा आउने पर्यटक मध्ये केही संख्या धार्मिक पर्यटक हुन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *