उपभोक्ताको स्वास्थसँग खेलवाड गरेको भन्दै, सरकारद्धारा पानी बोक्ने ट्यांकर वर्गिकरण गर्ने तयारी

Posted On    Author    Category कृषि, राष्ट्रीय समाचार.

सरकारले पानी बोक्ने ट्यांकर वर्गीकरण गर्ने तयारी गरेको छ । पानी व्यवसायीले एउटै ट्यांकरमा खानेपानी, निर्माणका लागि पानी र सरसफाइका लागि पानी बोकेर उपभोक्ताको स्वास्थसँग खेलवाड गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो तयारी गरिएको हो । यस्ता ट्यांकरलाई तीन भागमा वर्गीकरण गरिनेछ ।

वाणिज्य तथा आपूर्ति विभागले यसै सातादेखि उपत्यकाभरका ट्यांकर उद्योग, उद्योगका ट्यांकर र पानीका स्रोतको नियमन गरेर पानीको गुणस्तरका आधारमा वर्गीकरण गर्ने तयारी गरेको हो । विभागका निर्देशक हरिनारायण बेलबासेले ट्यांकरमार्फत बिक्री वितरण हुने पानीमा ‘एमोनिया’ तत्वको मात्रा अत्यधिक पाइएकाले पानीको गुणस्तर परीक्षण गराएर ट्यांकर वर्गीकरण गर्न लागिएको जानकारी दिए ।

विभागका अनुसार ट्यांकरमार्फत बिक्री हुने पानीको मूल स्रोत र पानीको गुणस्तरका आधारमा ट्यांकरलाई निर्माण कार्यका लागि, सरसफाइका लागि र खान र पिउन योग्य पानी भनेर तीन भागमा बाँड्न लागिएको हो ।

‘ट्यांकर, जार र बोतलमार्फत बिक्री वितरण हुने पानीमा एमोनियाको मात्रा धेरै भेटिएको भनेर थुप्रै गुनासा प्राप्त भएका छन्’, बेलबासेले भने,‘यस्ता पानीको सेवनले तत्कालीन र दीर्घकालीन रूपमा जटिल रोगलाग्ने सम्भावना भएकाले यसै सातादेखि ट्यांकर, जार र बोतलको पानीको गुणस्तरका विषयमा विशेष अभियान सञ्चालनमा ल्याउँदैछौं ।’ ट्यांकर, जार र बोतलबाट वितरण हुने पानी सेवन गर्दा वाकवाकी आउने, झाडा पखाला लाग्नेजस्ता समस्या देखापरको विभागले जनाएको छ ।

विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को प्राविधिक सहयोगमा पानीको गुणस्तर निर्धारण गरेर वर्गीकरण गर्ने तयारी गरेको हो । विभागका अनुसार ट्यांकरको वर्गीकरण गरेर कुन प्रयोजनका निम्ति पानी हो, त्यससम्बन्धी स्टिकर विभागले उपलब्ध गराउनेछ । ट्यांकर व्यवसायीले सोही स्टिकरका आधारमा उपभोक्तालाई पानी बिक्री गर्नुपर्नेछ ।

विभागले ट्यांकर, जार र बोतलमार्फत बिक्री, वितरण हुने पानीको मूल्य र बोतल तथा जारको प्लास्टिकका बारेमा पनि अध्ययन गरेर आवश्यक मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याउन लागेको बेलबासेले बताए । खाद्य विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार पानीमा पाइने एमोनिया आफैमा त्यति हानिकारक नमानिए पनि यो नाइट्रेट र नाइट्रेटबाट नाइट्राइटमा परिणत हुँदा भने ठूलै हानि गर्छ ।

नाइट्रेटमा रूपान्तरित भएर आमाको दूधमार्फत बच्चाको पेटमा एमोनिया पुग्छ । यसले ‘ब्लु बेविज’ भन्ने रोग बच्चामा देखापर्छ । बच्चाको नाक, कान, गाला निलो हुने र मर्ने सम्भावना हुन्छ । यस्तै नाइट्राइट रूपमा रूपान्तरित हुने एमोनियाले रगतमा हुने हेमोग्लोबिनसँग प्रतिक्रिया गर्नेछ ।

यस्तो प्रतिक्रियाबाट मिथ हेमोग्लोबिन बन्ने सम्भावना हुन्छ । मिथ हेमोग्लोबिन शरीरभर फिजिएर अक्सिजनलाई काम गर्न अवरोध सिर्जना गर्छ । यसले बढी उमेरका सर्वसाधारणलाई विभिन्न प्रकारका दीर्घकालीन रोग लाग्ने सम्भावना हुन्छ । ‘सकेसम्म एमोनियायुक्त पानी नखादा नै स्वास्थ्यका लागि उत्तम हुन्छ’, कर्णले भने ।

वाणिज्य विभागकाअनुसार नदी किनारको दुईसय मिटरभित्र बोरिङ र डिप ट्युववेल जडान गर्न नहुने नीति भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सहित निजी ट्यांकर उद्योगीको पानीको स्रोत नदी किनारमै छन् । वागमति, विष्णुमति, हनुमन्ते, धोविखोला, जोरपाटी, मनमैजु, चाल्नाखेल, गोदावरीलगायत विभिन्न नदी किनारमै बोरिङ गरिएका कारण खानेपानीमा एमोनियाको मात्रा देखिएको हो ।

भूमिगत स्रोतबाटै पानीमा एमोनियाको मात्रा मिसिएको विभागले जनाएको छ । केयुकेएलको केन्द्रीय प्रयोगशालाका अनुसार उपत्यकाको पानीमा करिब ८० प्रतिशतभन्दा बढी हानिकारक रसायन र जिवाणु फेला परेका छन् । उपत्यकाको मध्य तथा दक्षिणपूर्वका प्रमुख स्थान रत्नपार्क, वागबजार, असन, इन्द्रचोक, ललितपुर, भक्तपुर, कीर्तिपुरलगायतका क्षेत्रको पानी निक्कै प्रदूषित भेटिएको छन् ।

यस बाहेक वाणिज्य तथा आपूर्ति विभागले जार र बोतलको पानीमा स्रोत नखुलेको, पर्याप्त मात्रामा प्रशोधन नगरेकोलगायतका समस्या भेटिएमा सीधै कालोबजारी ऐनअन्तर्गत उद्योगमा मुद्दा दायर गर्ने तयारी गरिएको छ । प्रशोधन गरी पानी बिक्री गर्ने उद्योगले अबदेखि जार, बोतल र बिर्कोमा कम्पनीको नाम अंकित गर्नुपर्ने हुन्छ । हालसम्म उद्योगले कागजको स्टिकरमा उद्योगको नाम छापेर टास्ने गरेका छन् ।

इन्फोपानी व्यवसायीले एउटै ट्यांकरमा खानेपानी, निर्माणका लागि पानी र सरसफाइका लागि पानी बोकेर उपभोक्ताको स्वास्थसँग खेलवाड गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो तयारी गरिएको हो ।

अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *