ललितपुर बलात्कार घटना – रिपोर्ट नआउँदै आरोपीहरू रिहा

Posted On    Author    Category अपराध.

कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । यो खबर देवेन्द्र भट्टराईले आजको कान्तिपुरमा लेखेका छन्।

सुरुमा फोन लागिरहेको थियो तर, एकछिनबाटै फोन बन्द भयो । ललितपुरको भित्री एक मनोरम बस्तीकी युवती यामकुमारी मंसिर २ को साँझ ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् ।

खोजबिनमा हिँडिरहेका युवतीका श्रीमान्ले बाटैमा भेटिएका प्रहरीको एक डफ्फालाई श्रीमती बेपत्ता भएको बारे जानकारी गराए । ‘तिम्री श्रीमती राम्री थिइन्, कसैले लग्यो होला । भोलि खोजौंला’ भन्ने गैरजिम्मेवार जवाफ पाएपछि हरेराम र अरू आफन्त खोजीमा यताउता भौंतारिइरहे । कतै नभेटिएपछि रातको १२ बजे ललितपुर प्रहरीमा फोन गरेर घटना अवगत गराउँदै हरिरामले खोजबिनका लागि आग्रह गरे ।

घटनाको भोलिपल्ट बिहान मात्रै यामकुमारीलाई बस्ती बीचबाट बग्ने खोलाको किनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि यो प्रकरण थप रहस्यमयी बन्दै गएको थियो । युवतीको टाउकोमा ठूलो चोट देखिन्थ्यो, शरीरको तल्लो भागमा कपडा थिएन, दायाँ हात धेरै ठाउँमा भाँचिएको थियो । तिघ्रा, स्तनलगायतका स्थानमा नीलडाम देखिन्थ्यो । एउटा कानको लोती चुँडिएसरह थियो । ‘मैले प्रेममा परेर बिहे गरेको एक वर्ष पनि भएको थिएन, प्राणभन्दा प्यारी श्रीमतीको त्यो हाल देखेर अरू कुराभन्दा पहिले ऊ बाँचिदिए मात्रै हुन्थ्यो भन्ने भित्री इच्छा मनमा पलाएको थियो,’ नृशंस घटनामा परेकी युवतीका श्रीमान् हरिरामले कान्तिपुरलाई सुनाए ।

घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगियो । तर टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेकाले शिक्षण अस्पताल ‘रिफर’ गरियो । ‘उनलाई ७ दिनसम्म आईसीयूमा राखियो, झन्डै कोमाजस्तै थियो,’ युवतीकी आफन्त दिदीले पनि घटनाबारे सुनाइन्, ‘बहिनीलाई लगातार एक महिना अस्पताल राख्यौं, झन्डै ३ लाख रुपैयाँ खर्चेर उसले जीवन त पाई । तर, बाँच्नु र मर्नुको दोसाँधमा ऊ बसेकी छे ।’

दाहिने हात टुक्राटुक्रा रूपमा भाँचिएको अवस्थामा भेटिएकी यामकुमारीको स्टिल सपोर्टमा हात जोडिएको छ भने टाउकाको गहिरो घाउमा ३० भन्दा बढी टाँका लगाइएको छ । यो घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र महिला अधिकार आयोगले पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छन् ।

पीडित युवतीले दिएको बयानमा आफूलाई मंसिर २ को साँझमा ३ जना व्यक्तिले ज्यान मार्ने नियतले आक्रमण गरेको, पैदल हिँडिरहेको सडकबाट तल तोरीबारीमा खसाएर ढुंगाले टाउकोमा हानेको, मोबाइलको टर्च आँखामा बाल्दै रघु, विशाल र पवनको नाम काढेरै एकअर्कालाई बोलाएकोबताएकी थिइन् ।

कुटपिट र लछारपछारपछि बेहोस अवस्थामा बलात्कार गरे/नगरेको आफूलाई थाहा नभएको उनले बयानमा बताएकी थिइन् ।

source setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *