महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

Posted On    Author    Category अपराध, रोज्गार.

काठमाडौं—वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डे बुधबार चावहिलस्थित घरबाटै पक्राउ परेका हुन्।

‘सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो’, अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले नागरिकन्युजसँग भने, ‘यही प्रकरणमा दश लाख रुपैयाँ घुससहित विभागका दुई कर्मचारी हिजो पक्राउ परेका थिए। त्यसकै फलोअपमा बुधबार पाण्डे पक्राउ परेका हुन्।’

वैदेशिक रोजगार विभागमा भ्रष्टाचार ‘अाेपन सेक्रेट’ रुपमै हुने गरे पनि सो कार्यलयबाट सहसचिव तहको कर्मचारी घुस प्रकरणमा पक्राउ परेको यो पहिलो घटना हो।
अख्तियारको टोलीले हिजो मंगलबार विभागका अधिकृत कृतिवल्लभ पौडेल र नासु खडक केसीलाई नयाँ वानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको थियो। उनीहरु घुसबापतको १० लाख रुपैयाँसहित पक्राउ परेका थिए। साँझ ६ बजे पक्राउ परेका उनीहरुले बयानमा महानिर्देशक पाण्डेसँगको मिलेमतोमा घुस लेनदेनमा संलग्न रहेको बताएका थिए। त्यही बयानका आधारमा अख्तियारले बुधबार महानिर्देशक पाण्डेलाई पक्राउ गरेको उल्लेख गरेको छ।

सुभद्राको योजनामा महानिर्देशक पक्राउ

वैदेशिक रोजगार विभागका बरिष्ठ अधिकारी पक्राउको कथा महाराजगञ्ज कार्यालय रहेको एसआरएस ओभरसिजसँग गएर जोडिएको छ। मानव तस्करीका लागि बद्‌नाम सो मेनपावरबाट गत वर्ष सेक्युरिटी गार्डका लागि ५२ व्यक्ति युएई गएका थिए। प्रतिव्यक्ति ८ लाख रुपैयाँ बुझाएर गएका उनीहरुले अलपत्र परेपछि नेपाल फर्किएर एसआरएसविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा विभागले एसआरएसको कारोबार रोक्का गरेको थियो। ५२ जना पीडितको दवाब थेग्न नसकेपछि विभागले मेनपावरको कारोबार रोकेको थियो।

कारोबार रोक्का भएपछि मेनपावर सञ्चालक सुभद्रा बराल भागेर आबुधावी पुगेकी थिइन्। लामो समयसम्म त्यहाँ बसेकी उनले उतैबाट रोक्का फुकुवाका लागि कानुनी प्रक्रिया सुरु गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाउँदै एसआरएस ओभरसिजलाई सफाइको आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *