देशकै फराकिलो सडकमा दैनिक दुर्घटना

Posted On    Author    Category सामाजिक.

भक्तपुर- हेर्दै लोभलाग्दो ६ लेनको फराकिलो सडक। सडकको क्षमताअनुसार कम मात्रै सवारी साधन चल्दा खालीखाली देखिने सडक तर दुर्घटना भने दैनिक। दुई लेनको सडक फराकिलो बनेर ६ लेनको बनाइए पनि दुर्घटना भने बढ्न थालेको छ।

महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरको तथ्यांकअनुसार काठमाडौंको कोटेश्वरदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको १५ किलोमिटर दुरीको राजमार्ग खण्डमा दैनिकजसो दुर्घटना हुने गरेको छ।

दुर्घटना हुने कोटेश्वरदेखि सूर्यविनायकसम्मको करिब ८ किलोमिटर सडक ६ लेनको फराकिलो छ। त्यसदेखि पूर्व साँगासम्मको झण्डै ७ किलोमिटर सडक भने दुई लेनको मात्रै छ। तर बढीजसो दुर्घटना भने ६ लेनकै सडक खण्डमा हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

परिसरको सल्लाघारी शाखाका अनुसार पछिल्लो माघ महिनामा राजमार्ग खण्डमा २१ वटा दुर्घटना भए। पुसमा २१, मंसिरमा १७, कात्तिकमा १५, असोजमा २४, भदौमा १९ र साउनमा १४ वटा दुर्घटना भएका थिए। तथ्यांक केलाउँदा दिन बिराएर दुर्घटना भइरहेको देखिएको छ। बढी दुर्घटनामा पर्नेमा मोटरसाइकल छन्। बढी दुर्घटनामा पर्ने साधनहरुमा ट्रक, बस, कार, जिप, भ्यान छन्। तथ्यांकअनुसार माइक्रो र ट्र्याक्टरको दुर्घटना भने खासै छैन। माइक्रो भने काठमाडौंदेखि नयाँ थिमिसम्म मात्रै चल्छ। दुर्घटनामा परी महिनैपिच्छे सर्वसाधारणको मृत्य हुने गरेको छ। माघ महिनामा भने दुई जनाको मृत्य भएको प्रहरी परिसरको भनाइ छ।

६ लेनको लोभलाग्दो फराकिलो सडकको कुनै खण्डमा पनि खाल्डाखुल्डी छैनन्। सडकमा सवारी चाप निकै कम हुने ठाउँँ हो यो। परिसरको सल्लाघारी प्रमुख इन्स्पेक्टर महेश थापाका अनुसार यो रुटमा दुर्घटनाको मुख्य कारण चालकको लापरवाही प्रमुख रहेको छ। खालीखाली सडक देखेर तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको उनको विश्लेषण छ। बढीमा प्रतिघण्टा ६० किलोमिटर गतिमा सवारी चलाउन पाइने भए पनि युवाहरुले एक सयसम्मको गतिमा सवारी हाँक्नाले बढी दुर्घटना हुने गरेको थापाको भनाइ छ।

source nagarik news

Leave a Reply

Your email address will not be published. Required fields are marked *