ठेचोमा मतया: जात्रा मनाइयो

Posted On    Author    Category कला, सामाजिक.

भाद्र ४, २०७३- साँच्चिकै रातो मच्छिन्द्रनाथको रथ बनाउदा (टुप्पोमा राखिने बाय्मोसहित) झन्डै महिना दिन लाग्छ । तर ठेचोका स्थानीयबासीले तीन दिनमा रथ निर्माण सम्पन्न गरेका छन्, गाईजात्राको भोलिपल्ट मनाइने मतया: (दीप यात्रा) का लागि ।

उनीहरुले रथमात्रै नभइकन पाटन जावलाखेलमा अवस्थित चिडियाखानाको नक्कली स्वरुपसमेत बनाएका छन् । यात्राका क्रममा दु:ख दिन सक्ने भुस्याहा कुकुरहरुलाई नक्कली चिडियाखाना भित्र थुनेर राखिएको छ । ठेचो न्ह्यछे दाफा खलकद्धारा आयोजित यात्राको अवलोकन गर्न आएका कीर्तिपुरका राजेश शाक्य यो दृश्य देखेर दंग परे । हेर्दा हेर्दै अचानक उनी तर्सिए पनि, रथको रक्षाका लागि बसेका नक्कली पल्टनका जवानले जब हावामा बन्दुक (बारुद) पड्काए ।

20082016075619MATYA_FESTIVAL_AT_THECHO_LALITPUR_14-1000x0

त्यसपछि एकैछिनमा भोटो देखाइँदै छ भनेर माइकिङ गरियो । दर्शकहरु भोटो जात्रा हेर्न जम्मा भए । गुठी संस्थानका हाकिमको भेषमा चारै कुनाबाट स्थानीय व्यक्तिले बनावटी भोटो देखाउदा जात्रा अवलोकन गर्न आउनेहरुले रमाएर हेरे ।

14079613_1241966949167783_3235903300016860600_n

 

रथसँगै जात्रा अवलोकनका लागि जिवित देवी कुमारीको भेषमा स्थानीय बालिकालाई नक्कली सिहासनमा सजाइएको थियो । रथको परिसरमा मगन्ते भेषमा बालकदेखि वृद्धसम्म पक्तिबद्ध दृश्यले वास्तविक जावलाखेलको भान दिइरहेको थियो । साथै रथमा कपासको बनावटी दाह्री जुंगा र रातो भेषभुषामा नक्कली पानेजु र गुरुजुहरु बसेका थिए । रथ राखेको स्थानबाट अलि पर काठमाडौ सुनधाराको भुकम्पले ध्वस्त भएको धरहराको प्रतिकृति निर्माण गरिएको थियो, जुन टिनको ड्रमबाट ठड्याएको छ । वर्षौ वितिसक्दा पनि पुननिर्माणमा सरकारी ढिलाईप्रति व्यंग गर्दै ठड्याएको सो धरहरा हेर्न जात्रालुहरु झुमेका थिए ।
यी दुई दृश्य बज्रबाराही नगरपालिका ठेचो ६ लाइझोलको हो । यस्तै नै अन्य टोलमा कहि बुद्धिको मूर्ति, अशोक स्तुपा र मन्जुश्रीको विशाल मूर्ति स्थापना गरि सजाइएको देखिन्थ्यो । कतै अष्टमंगल बनाई सजाइएको थियो । भने सरस्वती मावि जाने बाटोको पोखरीमा कृतिम पुल बनाइ हिडडुल गर्न सहज बनाएको थियो  । सरकारले पुलदेखि लिएर विकास निर्माणको कार्यलाई ढिलाई गरिरहेको अवस्थालाई व्यंग प्रस्तुत गरिएको आयोजकको भनाई  छ ।
20082016075617MATYA_FESTIVAL_AT_THECHO_LALITPUR_02-1000x0

 

ठेचो सांस्कृतिक बाजा संरक्षण समितिका अध्यक्ष जीतगोविन्द्र महर्जनले पहिला ४ वटा दाफा खलकले मात्रै आयोजना गर्दै आइरहेको मतया: जात्रा पछि संस्कृतिको महत्व बुझेर १२ वटा बाजा खलक सहभागी भएको बताए । ‘यसले युवापुस्तामा संस्कृतिप्रतिको अपनत्व बोध भएको छ,’ उनले भने, ‘जात्रा आयोजनाका लागि २ लाख भन्दा बढी खर्च हुन्छ ।’
उनले बज्रबाराही नगरपालिकाबाट २० हजार रुपैया सहयोग गरेको बताए । ‘बाकी खर्च स्थानीयबासी आफैले व्यहोदै आएको छ,’ उनले भने ।

दीप यात्रामा पहिलो समूहमा परम्परागत नेवारी भेषमा दुई महिला ब्यानर समाई अग्रपंक्तिमा थिए । ब्यानरमा ‘झीगु तजिलजि झीगु महसिका’ (हाम्रो संस्कृति हाम्रो पहिचान) नारा लेखिएको थियो । ब्यानरसगै गणेशको भेषमा सजिएका एक पुरुषले जात्रामा अवलोकन गर्न आएकाहरुलाई स्वागत गर्दै अगाडी बढेको दृश्य देख्न सकिन्थ्यो । त्यसपछि शरीरमा हाकुपटासी गुनियो चोलो घाटीमा भिपु माला र चादीका सिक्री र खुट्टामा पाउजुले सजिएका महिलाहरु लस्करै देखिन्थे ।

अर्को समूहमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको भेषमा एक पुरुष हात हल्लाउदै आएको देखिन्थ्यो । त्यसको पछाडी मुलुकमा पहिलो पल्ट मकवानपुरको भीमफेदीबाट गाडी ल्याउदा बोकेको दृश्य थियो । उनीहरु ठेचो मालीगाउबाट यात्रामा सहभागी भएका रहेछन् ।
खर्पनमा क: (एक प्रकारको माटो) बोकर सेतो दाउरा सुरुवालमा लस्कर आएको अर्को समूह छ । उनीहरुले क: क्यागु भनी करिब ७० वर्षअघिको उपत्यकामा  गरिने कृषि प्रविधिलाई देखाउन खोजिएको छ । यो दृश्यले मनोरञ्जनकासाथै इतिहासको एउटा काल खण्डलाई  जिवन्त पार्न खोजिएको ठेचो सांस्कृतिक बाजा संरक्षण समितिले जनाएको छ । समितिका सचिव बसन्त मालीले पर्वमा लोपोन्मुख सांस्कृतिक र इतिहासलाई कलात्मक ढंगबाट देखाउन खोजिएको बताए । ‘यात्राले दर्शन, जनजिवन र मनोरञ्जन तीनै पक्षलाई समेटिएको छ,’ उनले भने ।

यात्राको बीचको अग्रपक्तिमा गौतमबुद्ध लुम्बिनी प्रस्थान गर्दाको दृश्य थियो । ठेचो साल्चाबाट सहभागी भएकाहरु पुरुष महिला र महिला पुरुषको पोसाकमा देखिन्थे । उनीहरुले यात्रालाई थप स्वभनिय बनाएका थिए । साथै यात्रामा लाखे नाच पनि देखाइएको थियो । जात्रामा सहभागी हुनेमध्ये उत्कृष्ट भएकाहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । यो जात्रा सुनाकोठीमा पनि मनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *