गुन्डा छुटाउन नेताहरूले यसरी दिए दबाब

Posted On    Author    Category राजनीति.

ललितपुर, २० जेठ । ललितपुर प्रहरीले मंगलबार पक्राउ गरेका जग्गा कारोबारी र भिडन्तको तयारी अवस्थामा रहेका १८ जना गुन्डा छुटाउन कांग्रेस नेता परिसर जावलाखेल नै पुगेका छन् ।
परिसर स्रोतका अनुसार प्रहरीले पक्राउ गरेकाको सिफारीसमा ललितपुर कांग्रेशका सभापति मदनबहादुर अमात्य धनकुटाका अर्का कांग्रेस नेतासँगै ललितपुर परिसर जावलाखेल पुगेका हुन । नागरिक दैनिकले समाचार छापेको छ ।
परिसरले इमाडोल र सानागाउँसहितका स्थानमा भएका जग्गा प्लटिङ विवाद मिलाउन दुई पक्षमा विभाजन भएर भिडन्तको तयारी अवस्थामा रहेका २२ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो ।
प्रहरीले जग्गा कारोबारी उमेश श्रेष्ठ, राम लामा, हरिबहादुर थापा र शान्तबहादुर शाहीसहित १८ जनालाई नियन्त्रणमा लिएको हो । चार जनाको संयुक्त लगानीमा जग्गा प्लटिङमा पछि लगानीका विषयमा विवाद उत्पन्न भएपछि श्रेष्ठ र लामा तथा शाही र थापा विभाजन भएर आफ्नो शक्ति प्रदर्शनका लागि नाम चलेका पेसेवर गुन्डा बोलाएका थिए ।
ललितपुर कांग्रेसका सभापति अमात्यले पक्राउ परेमध्य केही कांग्रेस कार्यकर्ता पनि परेकाले घटना विषयमा बुझ्न परिसर गएको स्पष्ट पारे । उनले बदमासी गर्नेलाई कारबाही हुनुपर्ने आफ्नो माग रहेको बताए ।
परिसरका अनुसार ललितपुर र काठमाडौंमा विभिन्न घटनामा मुछिएका व्यक्तिसमेत पक्राउ परेका छन् । एसपी अशोक सिंहले मीनकृष्ण गोली काण्ड र काठमाडौंमा भएका विभिन्न घटनामा मुछिएका व्यक्ति नियन्त्रणमा लिएको बताए ।
परिसरका अनुसार पक्राउ परेका युवराज खड्का, राजकुमार खड्गी, प्रकाश शाही र नवीन परियार यसअघि समेत विभिन्न घटनामा मुछिएर अनुसन्धानमा परेका छन् ।
यस्तै, प्रहरीले लक्ष्मण ब्लोन, रविन तामाङ, मेनीबहादुर तामाङ, अनिल शाही, राजु श्रेष्ठ, दिलबहादुर शाही, सुरेश श्रेष्ठ, महेश रिजाल, विकास विष्ट, मनिष घिमिरे, रोनिल पौडेल, अच्युत थापा, रमेश ऐर र रामचन्द्र थापा मगरलाई हिरासतमा राखेर कारबाही थालेको छ ।

source dainiknepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *