कान्ति लोकपथ वैशाखदेखि

Posted On    Author    Category सामाजिक.

निर्माण सुरु गरेको ६२ वर्षपछि कान्ति लोकपथ सञ्चालनमा आउने भएको छ । २०७५ कात्तिक महिनादेखि सञ्चालनमा ल्याउने उद्देश्यले स्तरोन्नतिको काम भए पनि विस्फोटक पदार्थको अभावले आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भएको हो  ।
नयाँ वर्षको पहिलो महिनादेखि मालवाहक ट्रक र यात्रुवाहक बस कान्तिलोक पथ भएर आउजाउ गर्ने छन्,’ आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी नरेन्द्र भट्टले भने, ‘वैशाख महिनासम्ममा करिब साढे ६ किलोमिटर सडकबाहेक बाँकी सबै भाग कालोपत्रे गरिसक्नेछौं ।’

चालू आवसम्ममा कालोपत्रे गर्ने लक्ष्य आयोजनाको छ । हालसम्म २१ किलोमिटर कालोपत्रे गरिसकेको छ । १९ किलोमिटर मकवानपुरतर्फ र २ किलोमिटर ललितपुरतर्फ गरिएको आयोजनाले जनाएको छ । ५२ किलोमिटर सडक ग्राभेल स्तरको छ । ग्राभेल स्तरको सडक छिट्टै नै कालोपत्रे हुने आयोजनाले जनाएको छ । कालोपत्रे गर्नकै लागि बगुवामा असफाल्ट प्लान्टसमेत निर्माण गरिएको छ । बाँकी ११ किमि डिभिजन सडक कार्यालय र उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको छ ।

मकवानपुरको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो कान्ति लोकपथ पर्छ । विस्फोटक पदार्थको अभावले गर्दा कान्तिलोक पथको केही भाग फराकिलो बनाउन समस्या हुँदै आएको छ । मकवानपुरतर्फ साढे ४ किलोमिटर, ललितपुरतर्फ २ किलोमिटर सडकलाई फराकिलो बनाउन विस्फोटक पदार्थ चाहिन्छ ।

मुख्य चुनौतीका रूपमा कडा चट्टान रहेको आयोजनाले जनाएको छ । विभिन्न खण्डमा गरी करिब ६ दशमलव ६ किमिमा कडा चट्टान रहेका कारण सडक विस्तार गर्न सकिएको छैन । कडा चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर मात्रै फुटाउन सकिने भएकाले आयोजनाले तीन वर्षअघि नै नेपाली सेनासँग ५ टन विस्फोटक पदार्थ माग गरेको थियो ।

patan heart clinic - whole body checkup

 

सेनाले समयमा विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेपछि काम अवरुद्ध भएको हो । नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले विस्फोटक पदार्थ बनाउनका लागि कच्चा पदार्थ आइरहेकाले उपलब्ध गराउन सकिने जानकारी दिएका छन् । आयोजनाका इन्जिनियर एवं प्रवक्ता भट्टका अनुसार उक्त ठेक्काको समय सकिएपछि ५ महिनामा सक्ने गरी करिब ४४ करोड रुपैयाँमा नयाँ ठेक्का आहान गरिएको छ ।

मकवानपुर र ललितपुर क्षेत्रका विभिन्न भागमा गरेर करिब साढे ६ किलोमिटर सडकमा विस्फोटक पदार्थहरूवाट पहरा फोडेर चौडा बनाउनुपर्नेछ । ‘मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्री डाँडालगायत क्षेत्रका सडकलाई फराकिलो बनाउन विस्फोटक पदार्थबाट पहरा फोडनुपर्छ,’ आयोजना इन्जिनियर भट्टले भने, ‘अरू उपाय नै छैन ।’

कान्ति लोकपथको अरू भाग चौडा बनाउने, नाली बनाउने पिच गर्ने काम तीव्र गतिमा भइरहेको छ । यो मार्ग सम्पन्न भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २ सय २६ र पालुङ हुँदै आउने १ सय ३६ किमि सडकको विकल्प तयार हुनेछ । यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रूपमा आवागमन गर्न सक्ने छन् ।

कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’ को प्रयोग गरिएको छ । लोकपथको निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ । अघिल्लो आव ६० करोड रुपैयाँ खर्च भएको आयोजनामा चालू आवका लागि पनि त्यति नै विनियोजन भएको छ ।

८९ किमि लम्बाइको बाटो साढे आठ मिटर चौडा बनाइएको छ । दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिँदै छ । कान्ति लोकपथको ट्रयाक २०१३ सालमा खुलेको थियो । सुरुमा एक लेनको यो सडकमा ०१६ सालदेखि गाडी चल्न थालेका थिए । तर, ललितपुर र मकवानपुरको सीमास्थित बागमती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन अयोग्य रहँदै आएको थियो ।

६ दशकपछि मात्र उक्त सडक सरकारी प्राथमिकतामा परेको हो । लोकपथलाई मकवानपुर जोड्ने दक्षिणकाली–सिस्नेरी सडक र त्रिभुवन राजपथको विकल्पका रूपमा पनि लिइएको छ । नेपाली सेनाले सडक निर्माणको थालनी कान्ति लोकपथबाट सुरु गरेको हो । नेपाली सेनाले अहिले तीन दर्जन सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । पछिल्लो समयमा काठमाडौं निजगढ फास्ट ट्रयाक [द्रुतमार्ग] निर्माणको जिम्मेवारी लिएको छ ।कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *