कर्मचारी, नेता र टोले डनले राजधानीमै यसरी चोर्छन् बिजुली, कुलमानले लिँदैछन् यस्तो एक्सन

Posted On    Author    Category सामाजिक.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै प्रचार-प्रसार गरेपनि राजधानीमा नै संगठित रुपमा विद्युत् चोरी हुने गरेको पुष्टि भएको छ ।

रमाइलो त के छ भने चोरी नियन्त्रणमा गएका कर्मचारी नै दिनभर थुनामा परेर चोरी नियन्त्रण नगर्ने प्रतिवद्धता जनाएर रिहा हुनु परेको छ ।

चोरी नियन्त्रण अभियानलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ कार्यक्षेत्रमा पुगेका प्राधिकरणका कर्मचारीलाई केही दिन पहिले हरिसिद्धीमा दिनभर थुनेर राखिएको जानकारी प्राप्त भएको छ ।

प्राधिकरणले सो विषयमा आधिकारिक जानकारी नदिए पनि चोरी नियन्त्रणमा पुगेका कर्मचारी दिनभर चोरको नियन्त्रणमा बस्नु परेको र पछि लाइन नकाट्ने सहमति गरेपछि मात्रै छुटेका थिए ।
हरिसिद्धी पुगेका प्राधिकरणका कर्मचारीलाई लाइन काट्न आएको सूचना चुहिएपछि दिनभर थुनिएको थियो ।

प्राधिकरणले पछि समन्वय गरेर विद्युत् चोरीमा संलग्नबाट आफ्ना कर्मचारी छुटाएको थियो । लाइन नकाट्ने प्रतिबद्धता जनाएपछि मात्र थुनिएका कर्मचारी छुटेको प्राधिकरण ललितपुरका एक उच्च अधिकारीले बताए ।
प्राधिकरणकाअनुसार मिटर उल्टो बनाउने, दोस्रो मिटरमा प्वाल पारेर किला हाल्ने हुकिङ गर्ने र चौथौ सडक बत्तीबाट तार जोडेर घरमा लैजाने प्रवृत्ति बढेको छ ।

ललितपुरको हरिसिद्धी, सानागाउँ, पाटन, च्यासल, मंगलबजार, गुहीटोल, पेन्छे, लुकुसी, लाकुरी भञ्ज्याङमा संगठितरूपमा विद्युत् चोरी हुने गरेको पाइएको छ ।

चोरीमा प्राधिकरणका कर्मचारी नै संलग्न

ललितपुरमा आवश्यकताभन्दा बढी माग हुन थालेपछि प्राधिकरणले सुक्ष्म अध्ययन गर्दा विद्युत् चोरी हुने गरेको रहस्य पत्ता लाग्यो । त्यसमा प्राधिकरणका केही उच्चा अधिकारी नै संलग्न रहेको पाइएको छ ।

संगठित रुपमा चोरी हुने क्षेत्रमा अनौपचारिक रुमपा अध्ययन गर्दा माग बढ्नुको कारण समेत पत्ता लगायो । चोरी नियन्त्रणका लागि पुगेका कर्मचारी नै थुनामा परेपछि प्राधिकरणले सुरक्षाकर्मी समेतको सहयोगमा चोरी नियन्त्रण गर्ने बताएको छ ।

प्राधिकरण ललितपुरका अनुसार आधा दर्जनभन्दा बढी स्थानमा संगठितरूपमै विद्युत् चोरी भइरहेको छ । प्राधिकरणले सुरक्षा निकायसँग कहिल्यै समन्वय नगरेका कारण पनि चोरी नियन्त्रण गर्न नसकेको र नियन्त्रण गर्न जाने कर्मचारीले पहिल्यै स्थानीयलाई जानकारी दिने गरेको पाइएको छ ।

केही स्थानमा त स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता, टोले गुण्डा समेत विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ । बाक्लो बस्ती भएको स्थानमा बढी चोरी हुने गरेको छ ।

प्राधिकरणलाई २५ लाख घाटा

ललितपुरमा विद्युत् चोरी नियन्त्रण नगर्दा मासिक २५ लाख रुपैयाँसम्म घाटा हुने गरेको छ । कुनै महिना २० लाख घाटा देखिए पनि कुनै महिना २५ लाख रुपैयाँसम्म घाटा हुने गरेको छ । तर प्राधिकरणले चोरी नियन्त्रण भने गर्न सकेको छैन । करिब २२ सयभन्दा बढी घरधुरीमा विद्युत् चोरी हुने गरेको छ ।

राजधानीकै जिल्ला भए पनि कर्मचारीको अभाव, सुरक्षाकर्मीसँग समन्वयको अभाव तथा प्राधिकरणकै कर्मचारी भिलने भइदिदा चोरी नियन्त्रण गर्न नसकिएको बताइएको छ । प्राधिकरणको उच्च स्रोतकाअनुसार मासिक ३ देखि ५ मेगावाटसम्म विद्युत् चोरीमा खेर गइरहेको छ ।

कुलमान आफैं लाग्ने

तराई मधेशका जिल्लामा चोरी नियन्त्रणमा आफै संलग्न भएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफै चोरी नियन्त्रणका लागि ललितपुरका भित्री क्षेत्रमा खटिने भएका छन् ।

स्थानीय सुरक्षाकर्मी, जनप्रतिनिधिसहितको टोली लिएर चोरी नियन्त्रणमा लाग्ने कुलमानको तयारी छ । कर्मचारीको समेत सहयोग नपाएपछि केन्द्रीय कार्यालयबाटै प्राविधिक समेत लिएर जाने उनले तयारी गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *