एमबीबीएस परीक्षाको प्रश्नपत्र चुहावटमा ६ जना दोषी ठहर

Posted On    Author    Category अपराध.

काठमाडौँ — विशेष अदालतले दुई वर्षअघि गोल्डेनगेट कलेजको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई दोषी ठहर गरेको छ ।  अदालतले बुधवार प्रश्नपत्र चुहावट प्रकरणमा मुख्य योजनाकार मानिएका प्रभात कुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैंया जरिवानाको फैसला सुनाएको रजिष्ट्रार भीम श्रेष्ठले बताए।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले देवीराम पाण्डेलाई ९ महिना कैद तथा ५ लाख ५ हजार जरिवानाको फैसला सुनाएको हो। त्यसैगरी हरिहर भनिने खेचरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय रुपैंया जरिवानाको फैसला भएको छ।
धमेन्द्र यादवलाई एक वर्ष कैद र ९ लाख रुपैंया जरिवाना भएको छ। जीवछ कुमार यादवलाई १ वर्ष कैद र ५ लाख २ हजार रुपैंया जरिवाना भएको छ। महेश्वर यादवलाई २ वर्ष कैद र १७ लाख रुपैंया जरिवाना भएको छ। शैफ अख्तर र घनेन्द्र प्रसाद संग्रौलाले भने सफाई पाएका छन्।
शिक्षा मन्त्रालयबाट सञ्चालन हुने एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको थियो। बत्तिसपुतलीस्थित गोल्डेन गेट इन्टरनेशनल कलेज केन्द्रबाट प्रश्नपत्र लिक गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए।
अख्तियार टोलीले गोल्डेनगेट कलेजका एक लगानीकर्ता एवं निर्देशक देवीराम पाण्डे, कलेजकै अध्यापक हरिहर भनिने खेचरलाल सापकोटा, प्रश्नपत्र किनबेचका लागि मध्यस्तता गर्ने डा.प्रभातकुमार कुशवाह, रकम असुल्ने महेश्वर यादव सहितलाई पक्राउ गरेको थियो।
अख्तियारका अनुसार, गौशाला रातोपुल नजिकै प्रश्नपत्रको क र ख खण्डको १०/१० वटा पाना परीक्षार्थीलाई दिलाईदिन्छु भनी रकमको कारोवार गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए। कलेज सञ्चालकहरुको मिलेमतोमा प्रतिव्यक्ति १० लाख रुपैंयाभन्दा बढीको लेनदेनमा प्रश्नपत्र विक्री भइरहेको सूचनाका आधारमा अख्तियारले अनुसन्धान गरी मुद्दा अघि बढाएको थियो।
शिक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको एमबीबीएस छात्रवृत्ति परीक्षामा आर्थिक चलखेल सहित प्रश्नपत्र लिक गर्ने चलखेल शुरु भएको सूचनापछि अख्तियारले छानविन थालेको हो। त्यसक्रममा सम्पर्कमा आएका विद्यार्थीले आफूहरुसँग रकम मागेर प्रश्नपत्र लिक गरिदिने आश्वासन दिएको उजुरी दिएका थिए। उजुरीपछि अख्तियारले ‘विद्यार्थीलाई केही रकम समेत उपलब्ध गराएर रकम बुझाउन र त्यसको तमसुक पनि तयार गर्न’ भनेको थियो। रकम बुझाएर गरिएको कागजात पनि बरामद भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *