एउटा नयाँ कृषि संस्कृति, फैलँदैछ गाउँगाउँमा सामूहिक खेति

Posted On    Author    Category कृषि.

group farming in nepal

अहिले गाउँगाउँबाट एउटा नयाँ ‘कृषि संस्कृति’ फैलँदैछ । यो संस्कृति हो सामूहिक खेतिको । सामूहिक खेतिको यो नयाँ संस्कृतिले नेपालकोे कृषि प्रणालीमा मात्र नभएर सामाजिक संरचनामा समेत सकारात्मक फेरबदल ल्याउँदैछ ।

देशका विभिन्न भागमा अहिले सामूहिक खेतिको चलन बढेको छ । समूह बनाउने, गाउँमा कसैको जग्गामा सामूहिक खेति गर्ने, काम पनि बराबर गर्ने, नाफा पनि बराबर बाँड्ने । हो, यो तरिका गाउँगाउँमा फैलँदैछ ।

सफल हुन्छ त सामूहिक खेति ?

‘सफल हुन्छ,’ दावीसाथ इन्दिरा बराल पोखरेल भन्छिन् । इन्दिरा पाँचथरकी हुन् । याङवरक गाउँपालिकामा उनको समूहले अदुवा खेति गरेको छ । समूहको नाम हो, मेदिबुङ महिला कृषि सहकारी । समूहमा ४० जना महिला छन् । उनीहरुले १२ रोपनीमा खेति गरेका छन् । एक्लै बारीमा अदुवा रोप्दा भन्दा समूह बनाएर खेति गर्दा धेरै फाइदा हुने अनुभव छ इन्दिराको ।

के छ त फाइदा ? इन्दिराको अनुभवमा फाइदा निम्न छन्:

  1. समाजमा आपसी अन्र्तक्रिया हुन्छ ।
  2. समूहमा काम गर्ने अर्थात् टिम वर्कको अभ्याश हुन्छ ।
  3. सुख मात्र नभएर दुख पनि बाँड्न सकिन्छ ।
  4. काम गर्न जाँगर चल्छ ।
  5. खेति प्रभावशाली हुन्छ अर्थात् राम्रो मेहेनत गरिने हुनाले उत्पादन पनि राम्रो हुन्छ ।
  6. हरेक व्यक्तिले थोरै काम गरे पुग्छ, थोरै काम गरे पनि फाइदा धेरै हुन्छ ।
  7. समूहमा काम गर्दा नयाँनयाँ कुरा सिकिन्छ, नयाँ विधि र प्रविधि जानिन्छ ।

सामूहिक खेतिको अर्काे गज्जबको फाइदा हो, कोष निर्माण गरिनु । मेदिबुङ महिला कृषि सहकारीकै कुरा गरौं । यो सहकारीले अदुवा बेचेर आएको रकम प्रत्यक्ष रुपमा बाँड्दैन । कोष बनाउँछ र ऋण लगानी गर्छ । कोषको रकमले आवश्यकता हुनेको गर्जाे टर्छ र कोषमा रहेको रकमबाट समूहका सबैलाई नाफा पनि मिल्छ ।

सामूहिक खेतिले दिने अनेक फाइदा छ । जस्तो कि मेदिबुङ महिला कृषि सहकारीलाई सरकारी सहयोग पनि छ । जिल्ला कृषि विकास कार्यालयले यो समूहलाई अदुवा धुने मेसिन दिएको छ । अर्काे गज्जबको फाइदा के भने यो समूहलाई बीऊ पनि जिल्ला कृषि विकास कार्यालयले नै दियो । व्यक्तिलाई दिँदैन तर यसरी समूह बनाएर माग गर्यो भने दिन्छ ।

यस्ता सामूहिक खेतिमा ठूलो लगानी पनि हुँदैन । गाउँको आवश्यकता पनि सानै हुन्छ, गाउँमा सानो रकमले धेरै ठूलो काम गर्न सक्छ, रोजगारी सिर्जना गर्न सक्छ । यस्तो सामूहिक खेतिले कृषि उत्पादकत्व बढाउँछ र गाउँमा काम गर्ने जाँगरिलो बातावरण पनि बनाउँछ । अर्थात्, झट्ट हेर्दा सामूहिक खेति सामान्य लाग्ला, आम्दानी पनि सामान्य लाग्ला तर यसले समाजलाई सकारात्मक बाटोमा लैजान ठूलो मद्दत गरिरहेको देखिन्छ ।

सामूहिक खेति गर्ने हो ? गर्ने हो भने सरकारले पनि सजिलैसँग सहयोग दिन्छ ।

source : hamrokatha

Leave a Reply

Your email address will not be published. Required fields are marked *