२० वर्ष पुराना गाडीले फागुनपछि रुट इजाजत नपाउने

Posted On    Author    Category सामाजिक.

२३ कात्तिक, काठमाडौं । २० वर्ष पुराना सवारी साधन सडकमा गुड्न नपाउनु पर्ने हो । तर, कवाडीमा बेच्नुपर्ने अवस्थामा पुगिसकेका यस्ता झण्डै २० हजार सार्वजनिक सवारी अहिले पनि नेपालमा गुडिरहेको सरकारी अनुमान छ ।

यातायात व्यवस्था विभागले फागुनदेखि देशभरका सडकमा गुड्ने २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारी कवाडीमा बिक्री गर्ने योजना बनाएको छ । र, अटेर गरेर गुडे कारवाहीको भागिदार हुनुपर्नेछ ।

थोत्रा गाडीको रुट इजाजत बन्द

सरकारको निर्णयअनुसार आउँदो फागुनदेखि २० वर्षे पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने यातायात व्यवस्था विभागले बताएको छ । अहिले प्रत्येक ४-४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

विभागको साना तथा ठूला सवारी कार्यालयमा भर्खरै प्रमुखका रुपमा पुगेका उप-सचिव बसन्त अधिकारीले फागुनपछि २० वर्ष आयु नाघेका कुनैपनि सवारीको कर समेत नबुझिने अनलाइनखबरलाई बताए ।

गुडेमा कारवाही पनि

उनकाअनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । यस्ता सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने उनले बताए ।

‘अब फागुनपछि २० वर्ष पार गरेका सार्वजनिक सवारीलाई कुनैपनि सरकारी कागजातका प्रक्रिया अघि बढाउने र रोडमा चल्ने अनुमति दिने क्रम रोकिनेछ,’ अधिकारीले भने, ‘रुट इजाजत नभइ सवारीले सडकमा गुड्नै पाउँदैनन् । त्यसपछि व्यावसायीलाई यस्ता सवारी नहटाई सुखै हुनेछैन ।’

यदि यस्ता सवारी सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिनेछ ।

पुरानै निर्णय कार्यान्वयनको तयारी

२० वर्षे सार्वजनिक सवारी देशभरबाटै विस्थापन गर्ने निर्णय नयाँ भने होइन । सरकारले दुई वर्षअघि नै यो निर्णय गरेको थियो । मन्त्रिपरिषदको यो निर्णय २०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *