सुनाकोठी सडकमा अत्याधिक सवारी चाप ,स्थानीयवासी हैरान

Posted On    Author    Category सामाजिक.

ललितपुर, भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेकी चापागाउँकी निशा शर्मा कुनै दिन सुनाकोठीमा एक घन्टा लामो गाडी जाममा पर्दा परीक्षा हलमा ढिला पुग्नुभएको थियो ।

सातदोबाटो–चापागाउँ सडकखण्डअन्तर्गत सुनाकोठीमा दैनिक हुने जामका कारण उहाँ परीक्षाहलमा पुग्न ढिला हुनुभएको थियो । सुनाकोठीको जाम लामो समयसम्म नखुलेपछि बस धापाखेलको बाटो घुम्दा उहाँ आधा घन्टा ढिला हुनुभएको हो । आफू कलेज जाँदा दैनिकजसो नै ढिलो हुँदा कक्षा छुटेको अनुभव उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “कार्यालय समयमा ओहोरदोहोर गर्न अझै हैरानी भोग्नुपर्छ ।”

ठेचोका सुमन महर्जन आफूले हजुरबुबालाई उपचारका लागि लैजाँदा झन्डै आधा घन्टा जाममा परेको सुनाउनुहुन्छ । जामका कारण एम्बुलेन्ससमेत अघि बढ्न सकेको थिएन । ट्राफिक प्रहरीले प्रयास गरे पनि कतै पनि बाटो नहुँदा एम्बुलेन्स अघि बढ्न सकेन । उहाँ भन्नुहुन्छ – “एम्बुलेन्ससमेत अघि बढ्न बाटो नपाएपछि आफन्तलाई के गर्ने भन्ने हैरान हुने गर्छ ।”

वार्षिक रुपमा सडकको चाप बढ्दै गए पनि साँघुरो बाटोका कारण यहाँँका सडकमा दैनिक गाडी अड्किने गरेको छ । केही वर्ष पहिलेसम्म ठूला सवारीको प्रवेशमा रोक लगाए पनि अहिले ठूला सवारी साधनका कारणसमेत दैनिक सडकमा जाम हुने गरेको छ । दैनिक रुपमा बाटो अवरुद्ध हुँदा एम्बुलेन्स, शव वाहन, दमकललगायतका अत्यावश्यक सवारीसमेत जाममा फस्ने गरेका छन् । बिहान ८ देखि १० बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म बाटो ओहोरदोहोर गर्न झनै कठिन हुने गरेको स्थानीयवासी बताउँछन् ।

चापागाउँका निशान्त देशार आफू मोटरसाइकलको वैकल्पिक बाटो खोज्दा दुर्घटनासमेत परेको बताउनुहुन्छ । हतारका समयमा भित्री बाटो प्रयोग गर्दा आफू चिप्लिएर आलीमा लडेको उहाँले सुनाउनुभयो । मूल बाटो पनि साँघुरो र वैकल्पिक बाटोसमेत राम्रो नहुँदा चालक र यात्रु दुवैले हैरानी बेहोर्नु परिरहेको हो । उहाँ भन्नुहुन्छ – “साँघुरो बस्ती भएका ठाउँमा कम्तीमा वैकल्पिक बाटो मात्रै हुँदा पनि सहज हुने थियो ।”

ट्राफिक प्रहरीले भने कार्यालय समयमा ठूला सवारीलाई यस सडकखण्डमा प्रवेशमा रोक लगाएको दाबी गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग चापागाउँमा कार्यरत प्रहरी चन्द्रदेव गिरी वर्षाका समयमा सडक अझै अस्तव्यस्त हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “उसै त साँघुरो बाटो छ त्यसमा पनि खाल्टाखुल्टीले गर्दा सवारी जाम हुने गरेको छ ।” बाटो साँघुरो हुँदा ट्राफिक प्रहरीले प्रयास गर्दा पनि सडक खुल्न गाह्रो हुने उहाँ बताउनुहुन्छ ।

कार्यालय समयमा सवारी जाम हुने स्थानमा सडक व्यवस्थापनका लागि ट्राफिक पहिले नै तयारी अवस्थामा हुने गरेको प्रहरी गिरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हामीले सकेसम्म आधा घन्टाभन्दा बढी जाम हुन दिएका छैनौँ ।” जाम खुलाउन स्थानीयवासीले समेत सहयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

यो सडकखण्डमा सुनाकोठी र चापागाउँ पुरानो बजार गरेर दुई ठाउँमा दैनिक समस्या हुने गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले दुई वर्ष पहिलेदेखि नै सडक विस्तारको काम थालेको थियो । भूकम्पका कारण झन्डै एक वर्षसम्म सडक विस्तार रोकिएको थियो ।

प्राधिकरणको ललितपुर शाखामा कार्यरत इञ्जिनियर पूर्णबहादुर महर्जनले प्राधिकरणले गर्ने काम सकिएको र अब डिभिजन सडक कार्यलयले गर्ने काम मात्रै बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले चिह्न लगाउने काम सकेका छौँ । अब कार्यालयले नै निर्माणको काम अघि बढाउने हो ।” प्राधिकरणले घर भत्किएका वा विस्थापितलाई दिनुपर्ने मुआब्जा भने दिन बाँकी छ । ठेचो र सुनाकोठीमा गरेर गरेर झन्डै ८०० घर सडक विस्तारका लागि भत्काइने छ । बाइस मिटरको मापदण्ड भएकामा कतिपय स्थानीय बासिन्दा १८ मिटरको मापदण्ड कायम गर्न भनिरहेका छन् ।

source News24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *