साझाका अपाङ्गमैत्री नयाँ बस साउनदेखि सञ्चालन हुने

Posted On    Author    Category सामाजिक.

२९ चैत, काठमाडौं । साझा यातायातले भित्र्याउन लागेका ३० वटा नयाँ अपाङ्गमैत्री बसहरु साउनदेखि सञ्चालनमा आउने भएका छन् । अब खरिद गरिने ३० वटै बस काठमाडौं उपत्यकाका नयाँ रुटमा पनि सञ्चालनमा आउनेछन् ।
युरो-३ मापदण्डका बस भित्र्याउन साझालाई काठमाडौं महानगरपालिकाले आइतबार ८ करोड रुपैयाँ निकासा दिएको छ । बस किन्न आवश्यक सबै रकम प्राप्त भएकाले अब एक हप्ताभित्रै एलसी (प्रतीतपत्र) खोलिने साझा यातायातका कायम-मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले अनलाइनखबरसँग बताए ।
कम्पनीले एलसी खोलेको १ सय २० दिनभित्र बस दिइसक्ने समझौतामा उल्लेख छ । अब एक हप्ताभित्रै एलसी खोले खरिदको प्रक्रिया अघि बढाइने उनले बताए ।
महानगरलाई १० करोडको सेयर
महानगरपालिकाले साझालाई बस किन्न १० करोडको सेयर लगानी गरेको छ । यो लगानीमध्ये २ करोड रुपैयाँको सेयर महानगरपालिकाले यसअघि नै लिइसकेको छ । अब ८ करोड रुपैयाँको सेयर पनि केही दिन भित्रै महानरपालिकालाई दिइने प्रमुख कार्यकारी पाण्डेयले बताए ।
महानगरले लगानी गरेको १० करोड रुपैयाँमा नै नयाँ बस भित्रिन लागेको हो । साझाले अबको साउनसम्म बस भित्रिएर सञ्चालनमा ल्याइने बताएको छ ।
बस थपिएपछि साझाको बस संख्या ४६ पुग्नेछ । अब भित्रिने बसहरुको खरिदबारे साझा यातासात र भारतीय कम्पनी अशोक ले-ल्याण्ड कम्पनीबीच सम्झौता भइसकेको छ ।
कस्ता छन् बस ?
अब साझाले भित्र्याउनेमा अपांगमैत्री बसमा दुईवटा ढोका हुनेछन् । बसको पछिल्लो भागको ढोकाबाट हृवील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् ।
४० सीट क्षमताको बसमा २५ वटा ह्यांगर पनि राखिने छ । बसमा मनोरञ्जनका लागि टिभी जोडिनेछ भने सुरक्षाका लागि सीसी क्यामारा पनि जोडिने कार्यकारी प्रमुख पाण्डेयले बताए ।
‘अब भित्रिने बसले निकै स्तरीय सेवा दिनेछ । काठमाडौंमा मास ट्रान्र्पोटेशनमा यी बसहरुका छुट्टै विशेषता र महत्व हुनेछन,’ उनले भने-‘हामी नयाँ बसमा नयाँ प्रविधिहरुको प्रयोगमार्फत यात्रुको सहजताका लागि विभिन्न प्रयोस हुनेछ ।’
नयाँ रुट खोजिने, पुरानामा थपिने
साझाले ०७० को वैशाखदेखि राजधानीमा १६ वटा बस सञ्चालन गरिरहेको छ । नयाँ आउने केही बसहरु अहिले चलिरहेका रुटमै थप गरिने छ भने केही नयाँ रुटमा पनि सञ्चालन गरिने पाण्डेयले बताए ।
‘अहिलेकै रुटमा पनि बस संख्या कम छन् । त्यसमा आवश्यक थपेर अन्य रुटमा पनि पर्मिट लिने योजना छ’ पाण्डेयले भने-‘सेयर साझेदार काठमाडौं महानगरपालिकासँग पनि यसबारे छलफल हुन्छ । त्यसका आधारमा नयाा रुटहरुमा साझा बस गुड्न सक्छ ।’
अहिले नयाँ बसपार्कदेखि लगनखेलसम्म ६ वटा बस चलिरहेका छन् भने नयाँ बसपार्कदेखि त्रिभुवन विमानस्थलसम्म ४ वटा बसले सेवा दिइरहेका छन् । लगनखेलदेखि बुढानिलकण्ठसम्म ६ वटा बस सञ्चालनमा छन् ।

source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *