काठमाडौं- मजदुर हक–हितको पक्षमा चर्को नारा लगाउँदै सोमबारदेशभर श्रमिक दिवस मनाइयो। यो वर्षको श्रमिक दिवसमा पनि विगतमा झै आठ घन्टा काम, आठ घन्टा आराम तथा आठ घन्टा मनोरञ्जन हुनुपर्ने भाग सहित टे्रड युनियनहरुले ठाउँठाउँमाकार्यक्रम गरे। अधिकांश ट्रेड युनियनका कार्यक्रममा विभिन्न दलका नेता पुगेर श्रमिक हक, अधिकारको पक्षमा चर्को भाषण गरे। कृषि, पर्यटन, जलविद्युत् उत्पादनलाई जोड दिएर देशलाई समृद्ध बनाउन सकिने र रोजगारीको अवसर वृद्धि हुने पुरानै भाषण ठोके।
देशको आन्तरिक श्रम बजार भने सस्ता भाषणको तुलनामा ठीक उल्टो छ। श्रमिकको पक्षमा ठुल्ठूला कुरा गरिए पनि वर्षौंदेखि आन्तरिक श्रमिकको संख्या वृद्धि हुन सकेको छैन। बर्सेनि श्रम बजारमा प्रवेश गर्ने करिब चार लाख जनशक्तिमध्ये ५० हजारभन्दा बढी स्वदेशमा खपत हुँदैनन्।
विश्वभरएक सय २८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा नेपालमाउक्त दिवसले व्यवहारमा कत्तिको सार्थकता पाइरहेको छ त?यसबारेसहरका चोकैपिच्छे आयोजना गरिएका कार्यक्रममा देख्न पाइएन। टे्रड युनियनका कार्यक्रममा श्रमिकभन्दा राजनीतिक दलका कार्यकर्ता, विद्यार्थी तथा अन्य पेसाकर्मी बढी देखिए। ट्रेड युनियन राजनीतिक दलका लागि सत्तामा पुग्ने भर्याङ मात्र हुन् भन्ने पुरानो मान्यतालाई पुष्टि हुने व्यवहार अधिकांश दलका नेताले यसपटक पनि देखाए।
देशमा उद्योगधन्दा फस्टाउन नसकेर दिनहुँ श्रमिक रोजगारविहीन हुँदासमेत अधिकांश नेताले त्यसलाई कुनै समस्याको रूपमा लिएनन्। केबल नेताहरूको भाषण युवायुवतीलाई कहाँ रोजगारी दिनेभन्दा पनि काम दिने उद्योग प्रतिष्ठानसँग कसरी अधिकार प्राप्त गर्ने भन्नेमै केन्द्रित थियो। श्रमिक दिवस मनाउन पुगेकाहरूका अनुसार नेपालमा मजदुर पीडित हुने क्रम पछिल्ला केही वर्षयता झनै बढेको छ।
२०४६ सालपछि मजदुर हक, अधिकारको पक्षमा सशक्त कुरा उठ्न थाले पनि यथार्थमा श्रमिक पीडित हुने क्रम त्यसपछि नै सुरु भएको भुक्तभोगीको भनाइ छ। स्थानीय निकायको सन्दर्भमा हरेक राजनीतिक दलले जारी गरेका घोषणा पत्रमा उल्लेख गरिएझैंदलका कार्यकर्ताले आ–आफ्ना दलले चुनाव जिते लाखौंलाई रोजगारी दिने भाषणा दोहोर्याए।
यता वास्तविक मजदुरले भने मजदुर आन्दोलनको नाममा बिचौलिया र राजनीतिक दलका नेतालाई मात्र फाइदा भएको गुनासो गर्दै आइरहेका छन्। मजदुर नेता तोरणमान बिकलेबिचौलिया र राजनीतिक दलको व्यवहारले वर्षौंदेखिश्रमिकले धोका पाइरहेको गुनासो गरे। ‘नेपालका वास्तविक मजदुर वर्षौंदेखि पीडित हुँदै आएका छन्,’ उनले भने, ‘नक्कली मजदुर भने मालिक र शासनसत्तासँग सौदाबाजी गरेर मालामाल भइरहेका छन्।’ नेपालमा २००३ सालदेखि श्रमिक दिवस मनाउँदै गए पनि यसबीचमा श्रमिकले सधैं त्रासको महसुस गर्नुको साथै रोजगारीको संख्या पनि गुमाउँदै गए।१९९३ सालमा विराटनगर जुटमिलको स्थापना भएपछि केही वर्ष मजदुरको सशक्त प्रभाव देखिए पनि त्यसयता लामो समयदेखि मजदुरको सशक्त प्रभाव देखिन नसकेको श्रमविज्ञ बताउँछन्।
पछिल्लो समयमा नेपालमा उद्योग प्रतिष्ठानको संख्या बढ्न नसक्दा आन्तरिक रोजगारीको अवसर खुम्चँदै गएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार २०४९ सालमा देशभर चार हजार दुई सय ७१ उद्योग प्रतिष्ठानमा दुई लाख २३ हजारले रोजगारी पाएका थिए भने त्यसको २० वर्षपछि उद्योग प्रतिष्ठानको संख्या घट्दा स्वेशमा रोजगारी पाउनेको संख्या पनि घटेको छ। विभागको औद्योगिक गणना अनुसार २०६९ सालमा पुग्दा उद्योग प्रतिष्ठान (१० जना कामदारभन्दा बढी कार्यरत) को संख्या चार हजार ७६ मा झर्यो भने दुई लाख चार हजार महिला, पुरुषले मात्र स्वदेशमा रोजगारी पाउन सके। श्रम विज्ञका अनुसार २०६९ सालपछि पनि नेपालका उद्योग प्रतिष्ठानमा सुधार आउन नसकेकाले आन्तरिक रोजगारीको संख्यामा झनै गिरावट आएको हुन सक्ने प्रबल सम्भावना छ।
आन्तरिक रोजगारीको अवसर खुम्चँदै गएपछि बर्सेनि लाखौं युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७०/०७१ र २०७१/०७२ मा श्रम स्वीकृति लिएर क्रमशः पाँच लाख १२ हजार र पाँच लाख २७ हजार युवायुवती वैदेशिक रोजगारीमा गए। वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जाने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जानेमध्ये धेरैले श्रम ऐनले गरेको व्यवस्था अनुसार सुविधा नपाएको पीडितले गुनासो गर्दै आएका छन्। नेपालमा बर्सेनि करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि सरकारी र गैर सरकारी निकायमा गरी करिब १० प्रतिशतले मात्र रोजगारी पाउने गरेको बताइन्छ।
Source: Nagarik News
Leave a Reply