शाहिद अफ्रिदीको २३ वर्ष पुरानो कीर्तिमान रोहित पौडेलले तोडे

Posted On    Author    Category खेल.

पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले २३ वर्ष  अगाडि बनाएको कीर्तिमान नेपाली खेलाडी रोहित पौडेलले तोडेका छन्।

अफ्रिदीको नाममा रहेको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पौडेलले आफ्नो नाममा लेखाएका हुन्।

युएईविरूद्ध जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका लागि सातौ नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले अर्धसतक पुर्‍याउँदै उक्त कीर्तिमान बनाएका हुन्। उनले ५८ बल खेल्दै ७ चौकासहित ५५ रन बनाए।

सन् १९९६ मा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै शतक बनाएका थिए। उनले मात्र ४० बलमा ११ छक्का र ६ चौकासहित १०२ रन बनाएका थिए।

त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो। रोहित पौडेलले आज अर्धसतक प्रहार गर्दा उनको उमेर १६ वर्ष १४६ दिन रहेको छ।

यो रेकर्डको पहिलो नम्बरमा रोहित हुँदा दोस्रोदेखि चौथो नम्बरसम्म शाहिद छन्। पाँचौ नम्बरमा हङकङका अंशुबन रथ छन् भने छैठौंदेखि आठौं नम्बरसम्म पुनः अफ्रिदीनै छन्।

नवौं र दशौ नम्बरमा अफगानिस्तानका उश्मान घानी छन् भने ११ औं नम्बरमा पाकिस्तानकै मोहम्मद आमिर रहेका छन्।

newclassictailor-1

 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने पौडेल विश्वकै चौथो कान्छा खेलाडीसमेत हुन्। पौडेलले गत वर्ष नेदरल्याण्डसँग नेपालले खेलेको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो एकदिवसीयमा नेपालको लागि डेब्यू गरेका थिए। त्यस दिन रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्रै थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बिश्वकै कम उमेरमा डेब्यू गर्ने खेलाडी पाकिस्तानका हसन राजा हुन् उनले १४ वर्ष २३३ दिन उमेर हुँदा जिम्बाबेबिरुद्ध सन् १९९६ मा डेब्यू गरेका थिए।

यस्तै केन्याका गुरदिप सिंहले सन् २०१३ मा अफगानिस्तान बिरुद्ध डेब्यू गर्दा १५ वर्ष २५८ दिन उमेर थियो। तेस्रो नम्बरमा क्यानडाका खेलाडी नितिश कुमार छन्। उनले सन् २०१० मा अफगानिस्तानसँग डेब्यु गर्दा उनको उमेर १५ वर्ष २७३ दिन थियो।

युएईविरूद्ध अर्धशतक बनाउने ‍ रोहित नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपालीसमेत भएका छन्।

उनीभन्दा अगाडि ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामि र सुबास खकुरेलले अर्धशतक बनाइसकेका छन्।

यस्तै रोहित सातौं नम्बरमा ब्याटिङ गरेर अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। यस अघि ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले ओपनिङ्ग गर्दै, पारस खड्काले चौथो नम्बरमा तथा सोमपाल कामीले आठौँ नम्बरमा ब्याटिङ गर्दै अर्धशतक बनाएका थिए।

यस्तै रोहितले युएईसँग आरिफ शेखसँग छैठौं विकेटको लागि गरेको ८२ रनको साझेदारी नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि गरेको सबैभन्दा ठूलो साझेदारीसमेत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *