मानिसमा लाग्ने ६१ प्रतिशत रोग जनावरबाट सर्छन्

Posted On    Author    Category सामाजिक.

मानिस र जनावरबीचको सामीप्यका कारण मानिसमा विभिन्न प्रकारका रोग सर्ने गरेको एक अनुसन्धानले जनाएको छ । मानिसमा लाग्ने रोगमध्ये ६१ प्रतिशत जनावरबाट सर्ने गरेको अन्तर्राष्ट्रिय अनुसन्धान संस्था सिएमडिएनले जनाएको छ । संस्थाका कार्यकारी निर्देशक दिवेश कर्माचार्यका अनुसार विश्वका विभिन्न अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा मानिसमा लाग्ने रोगमध्ये अधिकांश जंगली र घरपालुवा जनावरबाट सरेको पाइएको जानकारी दिए ।

‘केही वर्षयता विश्वका विभिन्न अनुसन्धानकर्ताले ‘वान हेल्थ’ नीतिअनुसार गरेको अध्ययन अनुसन्धानले धेरैजसो मानिसमा जनावरबाट रोग सरेको पाइएको छ,’ कर्माचार्यले नयाँ पत्रिकासँग भने, ‘यसलाई न्यूनीकरण गर्न विश्वव्यापी रूपमा काम भइरहेको छ । नेपालमा पनि यसको जोखिम रहेकाले हामीले जनावर र मानिसको स्वास्थ्य परीक्षण गरी रोग पत्ता लगाउने काम सुरु गरेका छौँ ।’

विश्वमा नौला प्रकारका रोग देखिएपछि अनुसन्धानकर्ताहरूले १४ सय १५ जना मानिसको नमुना परीक्षण गरेका थिए । परीक्षणमा ६१ प्रतिशत किटाणु (जनावरमा पाइने भाइरस) जनावरबाट मानिसमा सरेको पत्ता लागेको कर्माचार्यले स्पष्ट पारे । मानिसको मात्रै स्वास्थ्य परीक्षण गर्दा कतिपय रोग निको पार्न नसकिएको उनको भनाइ छ । कर्माचार्यले पछिल्ला केही वर्षयता नेपालमा पनि जनावर र मानिसबीचको दूरी नजिकिँदै गएका कारण विभिन्न रोग सर्ने सम्भावना बढेर गएको बताए ।

जनावरको स्वास्थ्य परीक्षण
सिएमडिएनले मानिसमा लाग्न सक्ने विभिन्न रोगमा कमी ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान संस्था स्थापना गरेको जनाएको छ । संस्थाले ‘वान हेल्थ’को नीति अवलम्बन गर्दै जंगली जनावर, घरपालुवा जनावर र मानिसको स्वास्थ्य परीक्षणजस्ता विभिन्न नमुनाका आधारमा अनुसन्धान गरिरहेको छ । निर्देशक कर्मचार्यले जंगली र घरपालुवा जनावर तथा मानिसका विभिन्न नमुना संकलन गरी अत्याधुनिक ल्याबबाट परीक्षण गरी रोग पत्ता लगाउने बताए । उनले आफूहरूको अध्ययन अनुसन्धानले राज्यको नीति निर्माण तहमा सघाउ पुग्ने दाबी गरे । ‘हाम्रो उद्देश्य भनेको रोग लाग्न दिने र उपचार गर्ने हैन, रोग लाग्नुअघि नै विभिन्न परीक्षण गरी रोग लाग्नबाट जोगाउनु हो,’ कर्माचार्यले नयाँ पत्रिकासँग भने ।

छोटो दूरीका जनावर र मानिसको नमुना परीक्षण
नेपालमा अनुसन्धान गर्ने उद्देश्यले विगत १० वर्षअघि खुलेको संस्थाले आफ्नो अनुसन्धानलाई फराकिलो बनाएको छ । उपत्यकालगायत बाहिरका विभिन्न ठाउँमा जनावर र मानिसको रगत, दिसा, डिएनए आदिको नमुना संकलन गरी अनुसन्धानलाई तीव्र बनाएको छ । यसरी नमुना परीक्षण गरेर आएको रिपोर्ट संस्थाले नेपाल सरकारलाई बुझाउने गरेको छ ।

सेवा विस्तार
जनावरबाट मानिसमा रोग लाग्न नदिने उद्देश्यले अनुसन्धानको दायरा फराकिलो पार्न संस्थाले चितवन मेडिकल कलेज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न रोगलाई आधार मानेर नमुना परीक्षणको सेवा सुरु गरेको छ । दुई अस्पतालको समन्वयमा सेवा विस्तार गरेको कर्माचार्यले बताए । अस्पतालमा आउने बिरामीहरू ठीक नभएको अवस्थामा मात्रै संस्थाले रगत, खकार, पिसाब परीक्षण गरी रोग पत्ता लगाउने गर्दछ । ‘कतिपय बिरामी ज्वरो आएर अस्पतालमा उपचारका लागि आउने गर्दछन्,’ कर्माचार्यले भने, ‘अस्पतालले रोग पत्ता नलगाएको खण्डमा नमुना परीक्षण जाँच गरिनेछ ।’

यसकारण चितवन र पाटनमा सेवा विस्तार
सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले चितवन र पाटन क्षेत्रका बासिन्दा जनवारहरूको नजिक बस्ने भएका कारण यी दुई क्षेत्रलाई अध्ययनको आधार बनाइएको जानकारी दिए । चितवनमा एक किलोमिटरको दूरीमा जंगली जनावर र मानिसको बस्ती रहेको छ । जंगली जनावरको नजिक बस्ती रहेको र सो क्षेत्रमा विभिन्न रोग लाग्न सक्ने भएका कारण यस क्षेत्रका जनावर र मानिसको स्वास्थ्य अवस्था कस्तो छ भनेर चितवनमा अनुसन्धान सुरु गरेको उनको भनाइ छ ।

यता, पाटनमा भने स्वयम्भू, पशुपति र थापाथलीमा पाइने बाँदरको संख्या धेरै रहेका कारण तिनका माध्यमबाट विभिन्न प्रकारको रोग लाग्न सक्ने भन्दै सिडिएमएनको सेवा विस्तार गरिएको हो । ‘जनावर मानिससँग नजिक भएको हैन । जनावर बस्ने जंगल फाँडेर मानिसले बस्ती बसाल्न थालेपछि जनावर र मानिसबीचको दूरी नेपालमा नजिक भएको हो,’ उनले भने ।

नेपालमा पनि अनुसन्धान हुँदै
वर्षौँ लगाएर गरिने यस्तो अनुसन्धान दक्षिण एसियामा नेपालमा मात्रै रहेको सिएमडिएनले दाबी गरेको छ । सिएमडिएनले सुरुमा जंगली जनावर, घरपालुवा जनावर र मानिसको नमुना परीक्षण गरेर कुन–कुन रोग मिल्यो भनेर रिपोर्ट तयार पार्ने गर्दछ । कर्माचार्यले आगामी चार वर्षमा जनावरबाट मानिसमा आउन सक्ने रोगबारे अध्ययन गरेको बताए । जनावरबाट मानिसमा सर्न सक्ने रोगमा दक्षिण एसिया बढी जोखिममा पर्दछ । कर्माचार्यले नेपालीहरू रोजगारीको खोजीमा विभिन्न देश जाने भएका कारण रोग भित्रन सक्ने सम्भावनालाई ध्यानमा राखेर संस्थाले स्वास्थ्य परीक्षण गर्न थालेको स्पष्ट पारे ।

यी हुन् जनावरबाट मानिसमा सर्ने रोग
अहिलेसम्मको अध्ययन अनुसन्धानमा बाँदरबाट एचआइभी, कुकुर तथा स्यालबाट रेबिज, कुखुरा तथा हाँस (चराचुरुंगी)बाट बर्डफ्लु एच७एन९, सुँगुरबाट स्वाइनफ्लु एच१एन१, बिरालोबाट टोक्सोप्लाज्मोसिस, मुसाबाट लेक्टोस्पाइरोसिस प्लेग, चमेराबाट इबोला, बाख्रा तथा गाईबाट ग्रुचेलोसिस र टिभी र अन्य घरपालुवा जनावरहरूबाट हान्टाभाइरस, क्रिप्टोच्कोरिबिओसी आदि भाइरस मानिसमा कुनै पनि रूपमा सर्न सक्ने पत्ता लागेको छ ।

Source: Naya Patrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *