महावीर पुन आफूले पाएको पदक बेच्दै आविष्कार केन्द्रका लागि

Posted On    Author    Category सामाजिक.

महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम संकलन गर्न आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएका पदकहरू बिक्री गर्ने भएका छन्। पुन आफूले पाएका दुई वटा राष्ट्रदीप पदक, डाक्टर हर्क गुरुङ पर्वतीय पुरस्कार, फिलिपिन्सबाट पाएको रामोन म्यागसेसे पदक, अमेरिकाबाट पाएको इन्टरनेट हल अफ फेम र अमेरिकाकै नेब्रस्का विश्वविद्यालयबाट पाएको अनर ग्राजुएट पदक संग्रह गर्न चाहनेले सम्पर्क गर्न आव्हान गर्दै बिक्रीका लागि राखेका छन्।

उनले उक्त बहुमुल्य पदक बिक्रीमा राखेर सम्मान दिने संस्था तथा नेपाल सरकारको अपमान गर्न नखोजेको भन्दै उनले ती पदकको उपयोग सही कामका लागि गर्न लागेको स्पष्ट पारेका छन्। उनले सेतोपाटीसँग कुरा गर्दै पदक बिक्रीबाट आएको सबै रकम राष्ट्रिय आविष्कार केन्द्रमा खर्च हुने बताए। ‘यो पदक लिलामीमा राख्नु भनेको पदकको अपमान गरेको होइन। यसलाई उत्पादनमुलक मात्र बनाएको हुँ। यसले नेपालको विकासमा लामो समयसम्म काम गर्छ। यसबाटै चित्त बुझाउनु पर्छ,’ उनले भने। बुधबार दिउँसो १२ बजेसम्म ठमेलको नेपाल मण्डलामा राखेका ती पदकहरु एक जान भाइले अमेरिका लगेर लिलामी गर्ने जानकारी पुनले दिए। ‘मैले हिजो १२ बजेसम्म नेपालीका लागि राखेको थिएँ। एउटा भाइले अमेरिका लगेर यहाँभन्दा राम्रो मुल्यमा लिलामी गर्छु भनेकाले उसैलाई दिन खोजेको छु,’ उनले भने,‘यद्यपी अमेरिकामा जानुभन्दा यहीकै नेपाली कसैले राख्न चाहेमा शनिबारसम्म राख्ने निर्णय गरेको छु। शनिबारसम्म पनि कसैले लगेन भने उसैलाई दिएर पठाउँछु।’ कसैले पदक हेर्न र बुझ्न चाहेमा ठमेल आउन समेत पुनले आग्रह गरेका छन्।

‘यस्ता बहुमुल्य पदक नेपालमा बन्दैनन्। कसैले हेर्न चाहुनहुन्छ भने पनि शनिबार ४ बजेसम्ममा ठमेल आउन सक्नुहुन्छ,’ उनले भने। यसको कुनै न्यूनतम् मूल्य नभएको भन्दै पुनले जतिसक्दो धेरै रकम दिनेलाई हस्तान्तरण गरिने जानकारी दिए। ‘यसको कुनै मुल्य छैन। सकेसम्म धेरै लिउँ भन्ने हो,’ उनले भने,‘मैले खेलेका दुई वटा विज्ञापनमा पनि मैले कुनै मुल्य तोकिनँ। सकेसम्म धेरै देउँ भने। आफूलाई भविश्यमा राम्रो काम गरोस् भनेर नै पदक दिइएको भन्दै उनले पदक नबेच्न सुझाव नदिन समेत आग्रह गरेका छन्। ‘मैले २५ वर्षसम्म समाज सेवाको काम गर्दा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था र नेपाल सरकारबाट समेत गरेर विभिन्न किसिमका पदक पाएको छु, ती पदक कोठाको कुनामा बसिरहेका छन्’, उनले भने, यदि पुराना पदकहरुको संग्रहकर्ता कोही हुनुहुन्छ र मैले पाएका पदक किनेर सुरक्षित साथ संग्रह गर्न चाहनुन्छ भने इमेलमा सम्पर्क गर्नुहोला।’ पुन पछिल्ला दिनमा राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा सक्रिय भएका छन्। पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उनले केही समयअघि मात्र आफ्नो सबै जग्गा बिक्री गरेका थिए। आविष्कार केन्द्रका लागि तत्काल ४० देखि ५० करोड रुपैयाँ आवश्यक पर्ने उनले अनुमान छ।

उक्त रकम र बैंकबाट ऋण लिएर १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने र सोही आयोजनाबाट भएको आम्दानीले आविष्कार केन्द्र सञ्चालन गर्ने योजना छ। एउटै विषयमा खोज र अनुसन्धान गर्न करोडौँ रुपैयाँ आवश्यक पर्ने भएकाले त्यस्ता प्रतिभा र अनुसन्धानकर्तालाई सहयोग गर्न सकिने भएको छ। विभिन्न मुलुकमा नेपाली वैज्ञानिकले खोज अनुसन्धान गरेर ती मुलुकलाई आर्थिक क्रान्तिमा अघि बढाएको अवस्थामा सरकारले यस्तो कार्यमा लगानी गर्न नसकेको उनले बताए। उनले आवश्यक सहयोग गरेर उक्त अभियानमा साथ दिन पनि सबैलाई आग्रह गरेका छन्। उक्त आविष्कार केन्द्रमार्फत कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा, वनजङ्गल जुनसुकै क्षेत्रमा पनि काम गर्न सकिने भएको छ। एउटै विषयलाई अनुसन्धान गर्न र त्यसबाट लाभ लिनका लागि वर्षौं लाग्ने भएकाले पनि तत्काल फाइदा हुँदैन तर भविष्यमा नेपाललाई विश्वका अन्य धनी राष्ट्रसरह बनाउन सकिने उनको तर्क छ।

अहिलेसम्म करिब ४ करोड रूपैयाँ संकलन भइसकेको पुनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *