भूकम्पमा धरहरामा च्यापिएर श्रीमान मरेको भन्दै श्रीमतीले बुझिन नक्कली शव

Posted On    Author    Category सामाजिक.

रत्ननगर (चितवन)-चितवन कुमरोज–८ की शान्ति ढुङ्गानाले आफ्नै श्रीमान् मरेको भनी झुटा विवरण पेस गरी कैद मिनाहाको प्रयास गरेको फेला पारेपछि ढुङ्गाना दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको छ ।

ठगी मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठहर्याएका आफ्ना श्रीमान् विष्णुप्रसादको जरिवाना र कैद मिनाहाका लागि उनले यस्तो हर्कत गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । अदालतबाट २०६५ जेठ ३० गते फैसला भई रु नौ लाख २६ हजार जरिवाना र दुई वर्ष कैद सजाय पाएका विष्णुप्रसाद फरार रहँदै आएका थिए ।

विष्णुप्रसादकै सल्लाहमा शान्तिले गत वैशाखको भूकम्पमा काठमाडौँको सुन्धारामा परी श्रीमानको मृत्यु भएको भन्ने झुटा व्यहोरा बनाई महराजगन्जस्थित शिक्षण अस्पतालबाट एउटा शवसमेत सनाखत गरी बुझी सदगत गरेको प्रहरीले जनाएको छ ।

शान्तिले गत फागुन ९ गते खैरहनी नगरपालिकाको कार्यालयमा श्रीमानको मृत्यु दर्ता गराएको र सो सम्बन्धमा बुझ्दा विष्णुप्रसादको मृत्यु नभएको पाइएपछि प्रहरीले ढुङ्गाना दम्पतीलाई नै पक्राउ गरेको छ । दोषी ठहर उनीहरु बिहीबार काठमाडौँबाट पक्राउ परेका हुन् ।

विष्णुप्रसादलाई ठगी मुद्दामा थुनामा पठाइएको र श्रीमती शान्तिलाई झुटा व्यहोरा उल्लेख गरी मृत्यु दर्ता गरी सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *