![](http://www.khabarbox.com.np/wp-content/uploads/2019/04/1554202364pos.jpg)
तपाई हामी धेरैले किनमेल गर्दा नगदमार्फत नै भुक्तानी गर्छौँ। खल्तीमा डेविट कार्ड भइकन पनि सपिङ गर्न वा रेष्टुरेन्ट जाँदा एटिएमबाट पैसा निकालेर लैजाने गर्छौँ। कार्डबाटै रकम भुक्तानी गर्ने बानी धेरैमा विकास हुन सकेको छैन।
कार्डबाटै भुक्तानी गराउने बानीको विकास गराउने उद्देश्यले विभिन्न बैंकहरुले भिसासँगको सहकार्यमा नगद फिर्ता योजना ल्याएका छन्। १६ बैंकको भिसा कार्डमार्फत पहिलो पटक ५ सय वा सोभन्दा बढी रकम भुक्तानी गर्दा २५० रुपैयाँ खातामै फिर्ता हुने छ।
सर्वसाधारणलाई डिजिटल कारोबारप्रति उत्साह थप्ने उद्देश्यले पहिलो पटक कार्डबाट भुक्तानी गर्नेलाई २५० रुपैयाँ फिर्ता योजना ल्याइएको मेगा बैंक कार्ड डिपार्टका अधिकृत अजित थापाले बताए।
‘कार्ड खल्तीमा हुँदा पनि नगदबाट भुक्तानी गर्ने धेरैको बानी छ, कार्डकै प्रयोग होस् भन्ने उद्देश्यले यो अफर आएको हो’ उनले भने। किनमेलका क्रममा वा रेष्टुरेन्टको बिल कार्डमार्फत नै भुक्तानी गरेमा दुवै पक्षलाई खुद्रा पैसाको झन्झट हुँदैन।
![sbd-90X900](http://www.khabarbox.com.np/wp-content/uploads/2019/03/sbd-90X9001.gif)
मेगासँगै सेन्चुरी, एनसिसी, राष्ट्रिय वाणिज्य, कुमारी, सानिमा, नेपाल, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ बैंकका कार्डमा यस्तो व्यवस्था छ। यी बैंकको कार्डमार्फत अहिलेसम्म भुक्तानी नभएको भए पहिलो कारोबारमा २५० रुपैयाँ फिर्ता हुने छ।
तिबाहेक गरिमा, मुक्तिनाथ, महालक्ष्मी, कैलाश, सहयोगी कामना सेवा विकास बैंक र युनाइटेड फाइनान्सका भिसा कार्ड होल्डरले पनि भुक्तानी गर्दा पनि यो योजनाबाट लाभ लिन सक्नेछन्। भुक्तानीमा पहिलो पटकको कारोबारका लागि मात्रै अहिले योजना ल्याइएको थापाले बताए।
कार्डबाट जति रकमको भुक्तानी हुन्छ सो रकमको निश्चित प्रतिशतसम्म खातामै नगद फिर्ता गर्नेगरी अन्य बैंकहरुले पनि योजना ल्याएका छन्।
हिमालयन बैंकले कार्डमार्फत भुक्तानी गर्दा ५ प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ। त्यस्तै एभरेष्ट, बैंक अफ काठमाण्डु, जनता बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यास ब्याक अफर छ।
एनआइसी एसिया बैंकले २० प्रतिशतसम्म क्यास ब्याक योजना ल्याएको छ। सीमित अवधिका लागि योजना रहेको बैंकहरुले जनाएका छन्।
Leave a Reply