बज्रबाराही नगरपालिका का खानीको यस्तो बदमासी

Posted On    Author    Category सामाजिक.

ललितपुर– प्रहरीले ललितपुरको सामुदायिक बन र खोलामा स्काभेटर र जेसीबिबाटै अवैध उत्खन्न गरिरहेको अवस्थामा उत्खन्नमा प्रयोग भएका सवारीसाधन र दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले बिनायक इन्डस्ट्रिजले बज्रबाराही नगरपालिका–१५ मा पर्ने महादेव खोला माथिको जंगलमा स्काभेटर चलाई रहेको अवस्थामा फेला पारेको हो। परिसरबाट खटिएको प्रहरीको टोलीले बिनायकले अनुमति पाएको स्थान भन्दा माथि महादेवखोलाको दोषाधमा रहेको बनमा उत्खन्न गरिरहेको अवस्थामा फेला पारेको हो।

परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले वन अतिक्रमण र अवैध उत्खन्न गरिरहेको अवस्थामा फेला परेका दुईजना ब्यक्ति र एकएक थान स्काभेटर तथा जेसिबि नियन्त्रणमा लिएको बताए। ‘अवैध उत्खन्नको निगरानी गर्नेक्रममा बरामद सवारीसाधन र ब्यक्तिलाई बुधबार वन कार्यालयमा बुझाएका छौ,’अधिकारीले भने। प्रहरीले बिनायकका कर्मचारी श्याम महत र चालक रामबहादुर तामाङलाई वनमा बुझाएको हो। बिनायकका संचालक शेखर महतका बिषयमा भने प्रहरीले अनुसन्धान भै रहेको जनाएको छ।

बिनायकले लेले इलाका वन कार्यालयको क्षेत्राधिकार भित्र नियम बिपरित माथि रहेको सल्लाको वनको फेदबाट उत्खन्न गरिरहेको हो। बिनायकले वन क्षेत्रमा उत्खन्नका लागि फरक बाटो र उत्खन्न क्षेत्रमा अस्थायी टहरा नै बनाएको प्रहरीले फेला पारेको हो।

जिल्ला वन अधिकृत डाक्टर बिनोदप्रसाद देवकोटाले अनुसन्धान अधिकृत तोकेर घटनाका विषयमा छानविन भै रहेको बताए। उनले इलाका वन कार्यालय लेलेका प्रमुख सहायक वन अधिकृत रामचन्द्र कँडेललाई अनुसन्धान अधिकृत तोकेको जानकारी दिए।

कागजमा मात्र बन्द

जिल्ला विकास समिति ललितपुरमा खानी उद्योग र क्रसर संचालनका बिषयमा निर्णयका लागि मन्त्रालय र ब्यवसायीको दबाब बढिरहेपनि जिल्लाका खानी र क्रसरले सामाग्री उपत्यकामा पठाइरहेको भेटिएको छ। ललितपुरको टिकाभैरब क्षेत्रमा रहेका ढुङगा खानी र क्रसर उद्योगले ढुङगा र रोडा दैनिक एकसय देखि तीनसय ट्रिपर सम्म पठाइ रहेका हुन्। सरकारी कार्यालयको अनुगमन र संचार माध्यमले चासो राखे बन्द जस्तै गर्ने अन्य समय नजिकका खानीमा अवैध उत्खन्न सुचारु रहेको नागरिकले फेला पारेको हो।

यसरी हुन्छ ओसारपसार

टिकाभैरव क्षेत्रमा रहेका उद्योगमा नै पछाडिको भाग नउठने गरी ढुङगा तथा रोडा लोड गरिन्छ। रोडा र ढुङगा जस्ता निर्माण सामग्री बोक्दा छोप्नुपर्ने नियमको फाइदा उठाउदै ट्रिपरको पछाडिको भाग त्रिपालले बलियोगरी छोपिन्छ र ओसारपसार गरिँदै आएको हो। प्रहरीले चापागाँउ भएर साना तथा ठूला ढुवानी ट्रिपरमा रोक लगाएको भएपनि लगातार साना तथा मझौला ट्रिपर ओहोरदोहर गरिरहेका हुन्छन।

चापागाँउ प्रहरी वृत्त भन्दा माथि लागेपछि खोला र पुलका छेउमा क्रसर उद्योग संचालन भै रहेका छन्। यस्तै टिकाभैरब मन्दिर भन्दा अघिबाट बनको फेदमा उत्खन्न र उद्योग संचालनमा रहेका छन्। नयाँ मान्छे देख्नासाथ ट्रिपर चालक र स्थानिय समेत शंसकित हुने अवस्था लेले र टिकाभैरब क्षेत्रमा रहेको छ। महानगरीय प्रहरी वृत्त चापागाँउ, इलाका वन कार्यालय र अस्थायी प्रहरीकै सामुन्ने खुलेआम ओसारपसार भै रहेको र प्रहरीले नै मंगलबार बिनायक इन्डिस्ट्रीको बदमासी बाहिर ल्याएपछि सरकारी निकायको मिलमतो बिना नै कसरी सम्भव भयो, प्रश्न उब्जिएको छ।

खानीमा माफिया तन्त्र

ललितपुरका ढुङगा खानीका बिषयमा २०६३ सालदेखिको विवाद अझै टुङिएको छैन । स्थानियबासी, सामुदायिक बन र ब्यवसायीबीचको विवाद कायम नै छ। प्रहरी प्रशासन, जिविस र बनको रवैया २०६८ सालमा संसदको प्राकृतिक स्रोत साधन समितिले दिएको प्रतिवेदनमा उल्लेख भएभन्दा फरक यस पटक समेत देखिएको छैन्।

टिकाभैरव क्षेत्रमा रहेका खानी तथा क्रसर उद्योगमा मिनकृष्ण महर्जन गोली काण्डमा मुछिएका मधुसुदन डोटेल, नेपाल प्रहरीका पूर्व डिएसपी कमल भण्डारी, शोभाकर पोखरेल र मिनकृष्ण महर्जनकै दबदबा रहेको छ। टिकाभैरव क्षेत्रमा रहेका १९ रोडा, ढुङगा र क्रसर उद्योग कसैलाई पनि उत्खन्न र ओसारपसारको आधिकारीक अनुमति छैन्।

क्याललिटी रोडा ढुङगा, महालक्ष्मी एग्रिगेट, शक्ति रोडाढुङगा, छम्पी माई , फुलचोकी चुन ढुङगा, ठूलो सगरमाथा रोडा ढुङगा र जय बुद्ध जस्ता उद्योगले कागजमा बन्द रहेपनि सामग्री नियमित उपत्यका पठाउँदै आएका छन्।

चापागाँउ र भैसेपाटी भएर कान्ती पथ निर्माणमा उत्खन्न भएका ढुङगासमेत हाल उपत्यकामा ढुवानी भै रहेको हो। ढुङगा बेच्ने अनुमति नपाएपनि कानितपथ निर्माण कम्पनीले ढुङगाको कारोबार गर्दै आएको स्रोतको दाबी छ। यस्तै लेले र छम्पी क्षेत्रमा रहेका सामुदायिक वन र महादेव खोला क्षेत्रबाट अवैध उत्खन्न गरिएका रोडा र ढुङगा उपत्यकामा पुग्ने गरेको हो। युनाइटेड र केपी सिमेन्ट र बन्द रहेको भनिएका क्रसरका लागि आवश्यक कच्चा पर्दाथका लागि अनुमति लिएको स्थानभन्दा अन्यत्र उत्खन्न भै रहेको भेटिएको हो।

‘उपत्यकामा विकास निर्माणका लागि एकमात्र ढुङगाको मुहान भएका कारण ललितपुरका खानी माफियाको ठूलो चलखेल हुनेगर्छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने। उनका अनुसार प्रहरी, प्रशासन, जिविस, बनसँगको सहयोगमा नियमित अवैध उत्खन्न भै रहेको हो ‘जिविस र पुलिसका हाकिमका गाडी चापागाँउबाट उकाले लागेको खबर यहाँ आइपुग्छ,’ अनुगमन गरेको जस्तो गर्ने न हो,’ ती स्थानीयले आक्रोस पोखे ।

जिविसका खानी प्रमुख रामेश्वर पौडेलको जिल्लामा कुनै पनि खानीलाई अनुमति नदिएको बताउँदै आएका छन्। उनका अनुसार जिल्लामा कतैपनि ढुङगा खानी उत्खन्न र निकासी भए त्यो गैरकानुनी र अवैध हो।

जिविस बाहेक खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर निजी र ऐलानी जग्गामा संचालनमा रहेका क्रसर उद्योगको मुख्य कच्चा पर्दाथ टिकाभैरबकै ढुङगा खानी रहेपनि प्रहरी प्रशासन र जिविसका प्रतिनिध पुग्दा उत्खन्न रोक्ने र अन्य समय निर्वाध संचालन गर्ने गरेका हुन्। प्रमुख जिल्ला अधिकारी ऋृषिराम शर्माले यस अघि नै अनुगमनमा दुई खानीले सरकारी जग्गा र बनलाई हानी पुर्याउने गरी उत्खन्न गरेकोे स्थलगत भ्रमणमा देखिएको बताएका थिए।

जिविसले माघको अन्तिम साता विकास निर्माणमा कठिनाई भएको भन्दै खानी खोल्न जिल्लामा रहेका ढुङगा खानीको स्थलगत अनुगमन गरेको थियो। प्रमुख जिल्ला अधिकारी शर्मा र एसएसपी अधिकारी सहितको टोलीले गरेको अनुगमनमा जिल्लामा रहेका खानी खोल्न संसदको प्राकृतिक स्रोतसाधन समितिले बनाएको मापदण्ड अनुसार गर्न गराउन स्थानीय र वन उपभोक्ता समितिसँग सहकार्य गर्ने निर्णय गरेको थियो।

तर जिविसले कुनै ठोस निर्णय लिनु अघि नै विनायक र टिकाभैरब क्षेत्रमा भै रहेको बदमासी बाहिर आएको हो। संसदको प्राकृतिक स्रोत साधन समितिले बनाएको मापदण्ड अनुसार खानी क्षेत्र वातावरणमैत्री हुनुपर्ने, चेकड्याम बनाउनुपर्ने, गरा बनाउँदै उत्खनन् गर्नुपर्ने, खानीको धुलो उडाउन र बगाउन नपाइने नियम ललितपुरका कुनै खानीले पालना गरेका छैनन्।

समितिले २०६८ सालमा गरेको अनुगमनमा जिल्लामा रहेका खानी उद्योगले चरम बदमासी गरेको प्रतिवेदन सरकारलाई बुझाएपछि खानी बन्द हुने र बेलाबेला मन्त्रिपरिषदको निर्णयले संचालन हुने गर्दै आएका छन। खानी उत्खन्न गर्दा अपनाउनु पर्ने सामान्य विधि र स्थानसमेत ललितपुरका क्रसर उद्योग र खानीले पूरा नगर्दा जोडिएर रहेका वन र सरकारीजग्गासमेत अवैध उत्खन्न र निकासीको चपेटमा परिरहेका हुन्।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *