बज्रबाराही क्षेत्रमा संचालित ढुङ्गा खानी विवादः प्रहरीले समाउने, वनले छोड्ने

Posted On    Author    Category सामाजिक.

ललितपुर–जिल्ला वन कार्यालय ललितपुरले वन क्षेत्रमा अत्याधुनिक यान्त्रिक औजारको प्रयोग गर्दै उत्खन्न गरेको आरोपमा पक्राउ गरी प्रहरीले बुझाएका दुईजना व्यक्ति र दुईथान सवारी साधन अनुसन्धान सुरु नहुँदै छोडेको खुलेको छ।

प्रहरीले वन क्षेत्रमा जेसिबी र स्काभेटर प्रयोग गर्दै ढुङ्गा उत्खन्न गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाएका दुबै जना सामान्य जमानीमा छुटेका छन्। घटनास्थलमा बरामद भएका सवारी साधनसमेत बुझाएकै दिन वनले फुकुवा गरेको छ। प्रहरीले बज्रबाराही क्षेत्रमा संचालित विनायक इन्डस्ट्रिजका म्यानेजर श्याम महत र सवारी चालक रामबहादुर तामाङलाई नियन्त्रणमा लिएर वनमा बुझाएको थियो।

जिल्ला वन अधिकारी डाक्टर विनोदप्रसाद देवकोटाले घटनास्थलका वन अधिकारीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भै रहेको प्रतिक्रिया दिए। उनले लेले इलाका वन कार्यालयका अधिकारीले अनुसन्धान गरिरहेको बताउँदै वन क्षेत्र भए नभएको यकिन हुन बाँकी रहेको बताए। अनुसन्धान अधिकृत रामचन्द्र कडेंलले वन क्षेत्र नपरेको दाबी गरे। उनले अनुसन्धान भै रहेको र दोषी देखिए कारबाही हुने बताए।

प्रहरीले फागुन १८ गते साझ नियन्त्रणमा लिएर अर्को दिन वन कार्यालयमा बुझाएका दुवैजना सोही दिन सामान्य जमानीमा छोडिएका थिए। घटनास्थलमै रहेको जेसिबी र स्काभेटरसमेत सोही दिन फुकुवा गरिएको हो। महानगरीय प्रहरी परिसर ललितपुरले घटनाका विषयमा अचम्म लागेको प्रतिक्रिया दिएको छ । परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले वनले छोडेर अनुसन्धान गरिररहेको जानकारी पाएको बताए। उनले वन अधिकार क्षेत्रको बिषय भएकाले अनुसन्धान भै रहेको बताए।

परिसरले ढुङ्गा खानीमा भै रहेको बदमासीको समाचार प्रकाशित भएपछि अपराध महाशाखा ललितपुरका सई अजय खनालको नेतृत्वमा टोली अनुगमनका लागि पठाएको थियो। टोलीले विनायक इन्डस्ट्रिजले बज्रबाराही नगरपालिका–१५ मा पर्ने महादेव खोला माथिको जंगलमा स्काभेटर चलाई रहेको अवस्थामा फेला पारेपछि चालक र म्यानेजरलाई नियन्त्रणमा लिनुका साथै सवारीसाधन बरामद गरेको हो। प्रहरीले विनायकले अनुमति पाएको स्थान भन्दा माथी महादेवखोलाको दोषाधमा रहेको वनमा उत्खन्न गरिरहेको अवस्थामा फेला परेको भिडियो रेकर्डसमेत वनमा बुझाएको छ।

प्रहरीका अनुसार विनायकले अनुमित पाएको क्षेत्र भन्दा माथि सल्लाको वनको फेदमा स्काभेटर चलाइरहेको फेला पारेपछि नियन्त्रणमा लिएको थियो। महादेव खोलाको एकतर्फ र महादेव खोला जंगलको तीनतर्फबाट उत्खन्न भै रहेको प्रहरीले फेला पारेको थियो।

वनले विनायकले संचालनका लागि लिएको एकसय रोपनी क्षेत्रफल भित्र रहेको जग्गाबाट प्रहरीले सवारीसाधन र व्यक्ति नियन्त्रणमा लिएको मुचुल्का बनाएर सर्जमिन गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ । संचालक शेखर महतसँग नजिकको सम्वनध राख्ने सहायक वन अधिकृत कँडेलले सत्य सामुदायिक वनका केही पदाधिकारीलाईसमेत प्रभावमा पारेर विनायकलाई उन्मुक्ति दिने चलखेल भै रहेको स्रोतले बतायो। ‘अहिले मदनबहादुर तामाङको निजी जग्गा हो भन्ने कागज बनाइदै छ, माथिको पुरै वन हडप्ने योजना हो,’ स्रोतले भन्यो।

वन ऐन २०४९ ले वन अतिक्रमण भएमा गर्ने व्यक्ति र सवारी साधनलाई नियन्त्रणमा लिएर आफैं अदालत सरह कारबाही चलाउन सक्ने अधिकार र व्यवस्था गरेको छ। ऐन अनुसार प्रहरीले मुचुल्कासहित वनमा बुझाएका व्यक्ति र सवारीसाधनको जाँचबुझपछि मात्र छोडनसक्ने अधिकार वनलाई रहेपनि घटनामा बुझाएको केही घण्टामै छोडिएको थियो।

source nagarik

Leave a Reply

Your email address will not be published. Required fields are marked *