फेसबुक, मदिरा, सेक्स अनि हत्या

Posted On    Author    Category अपराध.

काठमाडौं- मैले नि धेरै माया गर्ने मान्छे पाए हुन्थ्यो नि!
आइतबार माघ २४ मा फेसबुकमा रहेको भेनिसा लिम्बुको स्ट्याटस हो यो, जो २० दिनपछि नगरकोटको बाँसको झ्याङमा मृत फेला परिन्।

लिम्बुबारे महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार जुन समय उनले धेरै मायाको आकांक्षासहित सामाजिक सञ्जाल फेसबुकमा सन्देश सम्प्रेषण गरेकी थिइन्, त्यो बेला उनी राजन राईसँग सम्बन्धमा थिइन्।

प्रायः दैनिक फेसबुकमा तस्बिर पोस्ट गर्न रुचाउने उनको राजनसँगको भेट त्यही सामाजिक सञ्जालले नै गराइदिएको थियो। फेसबुक पेजमा उनलाई पछ्याउने १३ हजार २ सय ६४ जनामध्येका एक राजनसँग उनको भर्चुअल दोस्ती ३ महिनाअघि भएको थियो। उनीहरु भर्चुअल संवादबाटै निकट बने। भेटघाटबाट आत्मीय रुपमा अगाडि बढेको सम्बन्ध फागुन ८ मा लिम्बुको हत्यासँगै दुखान्त मोडमा पुगेर टुंगियो।

कच्चा सम्बन्धले लिम्बुको ज्यान गयो। उनको हत्या अभियोगमा राजनसँगै सन्नी लामा र सजित लामा प्रहरी हिरासतमा पुगे। प्रहरी अर्का एक युवकको खोजीमा छ।

‘अहिलेसम्मको अनुसन्धानमा ४ जना युवाले भेनिसाको हत्या गरेको देखिएको छ,’ घटनाको अनुसन्धान गरिरहेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘तीन जना हाम्रो नियन्त्रणमा आइसके, अर्का एक जनाको खोजी भइरहेको छ।’

कपन, सरस्वतीनगर बस्दै आएकी धनकुटा, राजारानीकी २० वर्षीया भेनिसा लुम्बिनी एकेडेमीमा पढ्थिन् भने चाबहिल भत्केको पुलमा रहेको हेरिटेज स्कुलमा शिक्षिकाका रुपमा कार्यरत थिइन्। फागुन ८ गते साथीसँग घुम्न सरस्वतीनगरको घरबाट निस्केकी उनी घर फर्किइनन्।

परिवारका सदस्यले २ दिन बाटो हेर्दासमेत उनी नफर्केपछि फागुन १० गते महानगरीय प्रहरी वृत्त बौद्धमा युवती हराएको निवेदन दिए। प्रहरीले खोजतलासका लागि अन्य कार्यालयमा सर्कुलर गर्यो१। १४ गते भक्तपुरको बाँसझ्याङमा युवतीको शव फेला परेपछि अपराध महाशाखाको टोलीसमेत पुग्यो।

कालो टिसर्ट र पाइन्ट लगाएको शवको बाहिरी कपडा लगाएको अवस्थामा थियो। खुट्टामा जुत्ताचप्पल नभएकाले अन्त कतै हत्या गरी ल्याएर फालेको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अगाडि बढायो।

नगरकोट, मनपोखरी नजिकैको बाँसघारीमा फेला परेको शव स्थानीयबाट पहिचान नभएपछि प्रहरीले शिक्षण अस्पताल महाराजगन्ज ल्याएर युवती हराएको निवेदन खोजी गर्योे।

‘शव फेला परेपछि उपत्यकामा कतै युवती हराएको निवेदन खोज्दा बौद्धमा एउटा निवेदन फेला पर्योए,’ अनुसन्धानमा संलग्न महाशाखाका डिएसपी दिपक रेग्मीले भने, ‘निवेदनमा उल्लेख हुलिया र मृतकको हुलिया मिलेपछि आफन्तलाई देखाउँदा पहिचान भयो।’

शव फेला परेको करिब महिनादिन पछि प्रहरीले बिहीबार तीन आरोपी र प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गर्योल, जसमा हत्याको कारण देखियो, भर्चुअल कच्चा सम्बन्ध, मदिरा अनि सेक्स।

मदिरा, सेक्स र हत्या

‘सामाजिक सञ्जालमा जोडिएको सम्बन्धकै आधारमा विश्वास गरेर सम्बन्ध अगाडि बढाउँदा दुखद घटना भएको देखियो,’ खनालले भने, ‘योसँगै युवा वर्गमा बढेको मदिरा लत र यौन सम्बन्धबारे बढेको खुला विचार यसका सहायक कारक हुन्।’

महाशाखाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार तीन महिनाअघि फेसबुकमार्फत साथी बनेका राजन र भेनिसाबीच मोबाइल नम्बर साटफेर भयो। फागुन ८ गते यी दुवैबीच कुराकानी भयो र भेट्ने सहमति भयो। दिउँसो ३ बजे सरस्वतीनगर बस्ने भेनिसा बौद्ध गेटमा पुगिन्। थली बस्ने राजन बौद्ध बस्ने सन्नी, सजित र अर्का एक युवकसँगै त्यहीँ थिए।

शनिबारको दिन भएकाले ठमेल गएर रमाइलो गर्ने प्रस्तावमा सबै सहमत भएपछि ६ बजेतिर पाँचै जना ठमेलको हार्ड रक रेस्टुरेन्ट पुगेका थिए। ‘उनीहरु ११ बजेसम्म त्यही रेस्टुरेन्टमा बसेर बियर र रक्सी खाएको देखिन्छ,’ एसएसपी खनालले भने, ‘यो बीचमा भेनिसा बढी नै लट्ठिएकी थिइन्।’

बेलुका साढे ११ तिर उनीहरु ठमेलबाट निस्केर बौद्ध फर्किए। बौद्ध गेट पुगेपछि राजन र सजित निस्किए। भेनिसा, सन्नी र अर्का युवक त्यहाँबाट लाजिम्पाटमा रहेको अपार्टमेन्टमा फर्किए।

प्रहरी प्रतिवेदन अनुसार अपार्टमेन्टको छैटांै तलामा फरार रहेका युवकको नामको फ्ल्याटमा पुगेपछि सन्नी र भेनिसाले बियर थपे र दुवैबीच सहमतिमै यौनसम्पर्क भयो। केही समयपछि फरार रहेका युवक सन्नी र भेनिसा बसेको कोठामा फर्किए।

‘उनले पनि भेनिसासँग यौन सम्पर्क राख्ने प्रस्ताव गरे तर युवतीले स्वीकार गरिनन्, युवकले जबर्जस्ती गर्न थालेपछि युवती सँगै जोडिएको ट्वाइलेटमा गइन्,’ एसएसपी खनालले भने, ‘युवक पनि सँगै ट्वाइलेटमा गएर जबर्जस्ती गर्न खोज्दा नमानेपछि झ्यालबाट धकेलेर खसालेको देखिन्छ।’

प्रहरीका अनुसार छैटौं तलाबाट खसेर घाइते भएकी भेनिसा होसमै थिइन्। उनले पानी मागेपछि सन्नीले पानी खुवाएका थिए। तर उनीहरुले घाइते भेनिसालाई उपचारका लागि अस्पताल नलगी गाडीमा राखेर काठमाडौं डुलाइरहे।

भेनिसाले चल्न–चट्पटाउन छाडेपछि उनीहरु नगरकोटतिर गएर मनपोखरी नजिकैको बाँसको झ्याङमा शवलाई छोपेर काठमाडौं फर्किएका थिए। बिहान ३ बजेतिर फरार युवकले सन्नीलाई घरमा छाडेर हिँडे। बिहान १० बजे भेट्ने भने पनि उनी नआएपछि सोही दिन सन्नी र राजन भारत भागे। भारतीय प्रहरीको सहायतामा प्रहरीले यी दुवैलाई पक्राउ गरी काठमाडौं ल्यायो। अर्का युवक बौद्धमै पक्राउ परे। प्रहरी अहिले चौथो युवकको खोजीमा छ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *