फुटबलमा आइपुगे प्राविधिक निर्देशक

Posted On    Author    Category खेल.

नेपाली फुटबलको प्राविधिक निर्देशकको भूमिका निर्वाह गर्न जापानी टाकेडा चियाकी राजधानी आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहमा जापान फुटबल संघ (जेएफए) ले चियाकीलाई एकवर्षका लागि नेपाल पठाएको हो।

nepalipatro-nagarik
६२ वर्षे चियाकीले मुख्यतः प्रशिक्षण शैलीमा काम गर्ने एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी गराए । अहिलेको प्रशिक्षण शैलीमा परिवर्तन आवश्यक रहेको मनन गर्दै प्राविधिक निर्देशक पठाउन जेएएफलाई आग्रह गरिएको सिइओ तुलाधरले बताए ।

‘हामीले अहिलेसम्म हचुवाको भरमा योजना बनाइरहेका छौं,’ एन्फाका प्रवक्तासमेत रहेका तुलाधरले भने, ‘अब हाम्रो प्रशिक्षण शैली समयानुकूल र वैज्ञानिक हुने अपेक्षा छ ।’

सिइओ उनले आउने एकवर्षमा नेपाली फुटबलमा प्राविधिक पक्षमा केही न केही परिवर्तन आउनेमा विश्वास व्यक्त गरे । ‘हामीले अहिलेसम्म व्यवस्थापन र प्राविधिक विषय एकैठाउँमा राखेर काम गरिरहेका छौं,’ तुलाधरले कमजोरी औल्याउँदै भने, ‘अब यसलाई अलग अलग पार्नैपर्छ । व्यवस्थापन र प्राविधिक विषय अलग अलग ढंगले लानु पर्छ ।’

तुलाधरका अनुसार चियाकीले एन्फाका जिल्ला÷क्षेत्रीय प्रशिक्षक, एन्फा एकेडेमीका प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद (राखेप) का फुटबल प्रशिक्षकलाई प्रशिक्षणको पछिल्लो शैली सिकाउने छन् ।

राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक कृष्ण थापा एन्फा प्राविधिक प्रशिक्षकबाट अलग भएदेखि पूर्वकप्तान उपेन्द्रमान सिंहलाई त्यो जिम्मेवारी दिइएको थियो । नेपाली युवा खेलाडीमा कम उमेरमा उच्च प्रदर्शन गरेपछि उमेर बढ्दै जाँदा प्रदर्शनमा ह्रास आउने समस्याको पहिचान पनि प्राविधिक निर्देशकबाट हुने विश्वास एन्फाले लिएको छ । ‘हाम्रो छनोट प्रक्रिया वैज्ञानिक छ छैन,’ तुलाधरले भने, ‘हाम्रो खेलाडीको प्रदर्शनमा एकरुपता आउन नसक्नुको कारण लगायत अन्य सबै कमजोरी खोतल्ने र त्यसको समाधानको उपाय निकाल्छन् भन्ने विश्वास छ ।’

‘प्राविधिक निर्देशकका रूपमा काम गर्न हामीले उपेन्द्रमानलाई जिम्मेवारी दिएका थियौं । तर, त्यो कार्यवाहक हिसाबमा मात्र हो,’ उनले भने, ‘अब चियाकीले पूरा जिम्मेवारी लिनेछन् । उनलाई एन्फाका पूर्वकालीन प्रशिक्षक उपेन्द्रमानसहित बालगोपाल महर्जन र हरि खड्काले सघाउने छन् ।’

तुलाधरका अनुसार अब राष्ट्रिय टोलीको प्रशिक्षक पनि चियाकीकै सल्लाहमा नियुक्त हुनेछ । ‘पूर्व प्रशिक्षक प्याट्रिक ओजेम्स आइसकेको अवस्थामा हामीलाई प्राविधिक निर्देशक पठाउन जेएफएसँग आग्रह गरेका थियौं,’ उनले भने, ‘जेएफएले स्थलगत अध्ययनपछि चियाकीलाई पठाएको हो । ओजेम्स आउने सम्भावना छैन । अब नयाँ प्रशिक्षक नियुक्ति उनकै सल्लाहमा हुनेछ ।’

केही सातामा उनले नेपाली फुटबललाई कसरी प्राविधिक रूपमा सफल बनाउने भन्ने योजना तयार पार्ने सिइओ तुलाधरले बताए । चियाकीले मंगलबार १२ औं दक्षिण एसियाली खेलकुदको महिला र पुरुष फुटबल टोलीका प्रशिक्षकसँग भेटेका छन् । उनी नेपालको खेल हेर्न भारत जाने एन्फाले जानकारी दिएको छ ।

एन्फाले जानकारी दिएअनुसार जेएफएको विकास कार्यक्रमअन्तर्गत नेपाल आएका चियाकी सन् १९६७ देखि १९८७ सम्म २० वर्ष खेलाडीका रूपमा सक्रिय रहे । जापानका थुप्रै क्लबमा मुख्य प्रशिक्षक रहिसकेका उनी १९९० देखि २००८ सम्म टोकियो एफए कोच इन्स्ट्रक्टरका रूपमा कार्यरत थिए । उनले २००५ मा जेएफएबाट ‘ए’ लाइसेन्स लिएका थिए ।

चियाकीलाई मासिक पारिश्रमिक जेएफएले नै उपलब्ध गराउनेछ भने स्थानीय बसोबास, यातायात, दोभाषे लगायतको व्यवस्था एन्फाले गर्नेछ । एक वर्षपछि पनि प्राविधिक निर्देशकको निरन्तरताको सम्भावना रहेको उनले बताए । उनले भने, ‘उनको एक वर्षको उपलब्धिपछि पुनः दुई संस्थाबीच छलफल हुनेछ । त्यसपछि अगाडिका बारेमा निर्णय लिनेछौं ।’

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *