नेपाल म्याराथनमा पदकविहीन, बैकुण्ठ मानन्धरको कीर्तिमान तोडिएन

Posted On    Author    Category खेल.

काठमाडौं, माघ २९ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा पदकको आश गरिएको म्याराथनमा पनि नेपाल पदकविहीन बनेको छ ।

शुक्रबार बिहान गुवाहटीको इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा भएको म्याराथनमा पुरुषतर्फ नेपालका भूमिराज राई पाँचौ र खिमबहादुर खत्री छैटौं स्थानमा रहे ।

भूमिराजले दुई घन्टा ३२ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दा खिमले दुई घन्टा ३९ सेकेन्ड ५६ मिनेटमा पूरा गरे ।

यस स्पर्धाको स्वर्ण भारतका नितेन्द्रसिंह रावतले हात पारे । उनले दुई घन्टा १५ मिनेट १८ सेकेन्डमा दुरी पार गरेका थिए ।

यसपटक पनि बैकुण्ठ मानन्धरको नाममा रहेको दुई घन्टा १५ मिनेट शून्य तीन सेकेन्डको कीर्तिमान कसैले तोड्न सकेन । ९ खेलाडी सहभागी पुरुष म्याराथनको रजत श्रीलंका र कास्य पदक भारतले जित्यो ।

त्यस्तै, महिलातर्फ स्वरुपा खड्का पाँचौ स्थानमा रहिन् । उनले तीन घन्टा १२ मिनेट शून्य एक सेकेन्डमा दुरी पार गर्दा अर्की खेलाडी पुष्पा भण्डारीले भने बीचैमा खेल छोडेकी थिइन् ।

भारतकी कविता रावतले दुई घन्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण र श्रीलंकाले रजत र कास्य जिते । महिला म्याराथनमा भारत, नेपाल र श्रीलंकाका गरी ६ खेलाडी सहभागी थिए ।

म्याराथनसँगै १२औं सागमा एथलेटिक्सका सबै स्पर्धा सकिएका छन् । २२ खेलाडी सहभागी सागमा नेपालका लागि हरि रिमालले पाँच हजार मिटर दौडमा कास्य पदक जित्नुबाहेक अन्य खेलाडीको प्रदर्शन निकै फितलो रह्यो ।

हालसम्म नेपाल एक स्वर्ण, १२ रजत र २० कास्यसहित ३३ पदकमात्र बटुलेको नेपाल समग्रमा पाँचौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *