नेपाल टेलिकमको सिस्टम ह्याक !

Posted On    Author    Category अर्थ.

काठमाडौं-ह्याकरहरूले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । टेलिकमले उक्त दाबीलाई असत्य भनेको छ । ह्याकर दाबी गर्नेले आफ्नो ‘अपरिचित’ फेसबुक वालमार्फत टेलिकमलाई सन्देश पठाउँदै उसको सिस्टम ह्याक गरेर ‘सिस्टम कन्ट्रोल’मा लिएको दाबी गरेको थियो ।

नेपाल टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले ह्याक पुष्टि नभएको बताए । ‘यो खबर सुनेपछि हाम्रो प्राविधिक टोलीले खोजी गर्यो,’ अधिकारीले भने, ‘सिस्टममा ह्याक भएको केही संकेत नै छैन ।’ अहिलेसम्म टेलिकम सिस्टमभित्र कुनै पनि सूचना लिक भएको वा कुनै समस्या वा खराबी नदेखिएको उनको भनाइ छ ।

ह्याकरले नेपाल टेलिकमभित्र ठूलो स्तरमा ‘भ्रष्टाचार’ भइरहेको र त्यो उनीहरूले अनुगमन गरिरहेको दाबी गरेका छन् । टेलिकमले ग्राहकलाई एडिएसएलबाट र ब्रोडब्यान्डबाट पाँचदेखि ६ एमबी डाटा पठाउनुपर्नेमा एक एमबी वा त्योभन्दा कम पठाइरहेको उनीहरूको दाबी छ । नेपाल टेलिकमको सम्पूर्ण सिस्टमलाई आफ्नो ‘कन्ट्रोल’मा राखे पनि नेपाल टेलिकममा हानी नोक्सानी पुर्याउने आफ्नो नियत नभएको ह्याकरले बताएका छन् । यसो गरेमा नेपाल सरकारलाई लाखौं रुपैयाँ घाटा हुने भन्दै सिस्टमलाई कन्ट्रोलमात्र गरेको दाबी गरेका छन् ।

अधिकारीले सिस्टममा ह्याक भएको नभएर सिम वितरण गर्ने कुनै निजी सेन्टरबाट ग्राहकको विवरण ह्याकरले प्राप्त गरेको हुनसक्ने बताए । नेपाल टेलिकमले देशभर सयौं निजी सिम डिस्ट्रिब्युटर सेन्टर राखेको छ । उक्त सेन्टरबाट ग्राहकले सिम लिँदा भरेको फर्मको विवरण अनलाइन मार्फत भर्ने गरिन्छ । त्यही डिस्ट्रिब्युटरले भर्ने अनलाइन विवरण ह्याकरले प्राप्त गरेको हुनसक्ने अधिकारीको भनाइ छ ।

ह्याकरको चाहना ग्राहकले प्रयोग गर्ने सिममा रहेको ब्यालेन्समा हुनसक्ने तर त्यसको ‘सेक्युरिटी कोड’ भने टेलिकमको उच्च सुरक्षामा रहने भएकाले त्यसको सम्भावना पनि नभएको अधिकारीले बताए । ‘उक्त सेक्युरिटी कोड वितरण सेन्टरसँग पनि हुँदैन,’ अधिकारीले भने, ‘कोड बाहिर जाने सम्भावना नै छैन ।’

ह्याकरको दाबी अनुसार अहिलेसम्म आफ्नो कुनै पनि सिस्टममा खराबी वा संकेत नभेटिएको टेलिकमले जनाएको छ । खास कुरा के हो भनेर टेलिकमका प्राविधिक लागिरहेकाले बिहीबारसम्म यथार्थ कुरा थाहा हुने टेलिकमले जनाएको छ ।

टेलिकमभित्र भ्रष्टचार बढिरहेको, ग्राहकले किनेको भन्दा कम डाटा पठाएको आफूहरुले फेला पारेको ह्याकर बताउनेले फेसबुक वालमा दाबी गरेका छन् । ‘हामी तिमीहरूलाई हेरिरहेका छौं, हेरिरहेका थियौं र हेरिरहने छौं,’ ह्याकरले आफ्नो फेसबुक वालमा भनेका छन्, ‘हामीलाई एनटिसीमा दर्ता भएको तपाईंको प्राइभेट नम्बर पठाउनुस्, हामी तपाईंको पूर्ण विवरण पठाउँछौं ।’ नम्बर दिनेहरूको विवरणसमेत फेसबुक वालमा पोस्ट गरेका थिए । ह्याक गरेको पुष्टि गर्न केही विवरण दिएको भन्दै बुधबार साझँतिरबाट विवरण दिन बन्द गरेकोसमेत उनीहरुले बताएका छन् ।

 

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *