तालिम सकियो पोसाक छैन

Posted On    Author    Category सामाजिक.

‘गर्मीमा ज्यान फालेर तालिम गरियो,’ धुर्कोट गाउँपालिका–१ का म्यादी प्रहरी सुरज जिसीले भने, ‘चुनाव होला जस्तो लाग्दैन ।’ स्थानीय निर्वाचन सरेपछि उनले शंका व्यक्त गरे । फुर्सदको समय देश सेवामा समर्पित हुने विश्वास लिएका जिसीले भने, ‘लगभग तालिम सकियो, कहाँ जाने र के गर्ने केही जानकारी आएको छैन ।’ उनले भने, ‘नियुक्ति र पोसाक पनि पाएका छैनाैँ ।’

पढाइ र विदेश छाडेर म्यादी
रेसुंगा बहुमुखी क्याम्पसमा अध्ययनरत गीता भण्डारी ५५ दिनका लागि भनेर म्यादी प्रहरीमा भर्ना भइन् । तर, एकाएक निर्वाचन सरेपछि उनमा चिन्ता बढेको छ । ‘पढाइ एकातिर लगाएर म्यादीमा भर्ना भइयो,’ भण्डारीले भनिन्,‘चुनाव स्थगित भए बर्बाद हुन्छ ।’ यस्तै धुर्कोट गाउँपालिका–४ जैसीथोकका दलबहादुर खत्री पनि विदेश जाने तयारीमा थिए । केही समयका लागि भनेर म्यादीमा भर्ना भएका खत्री चुनाव सरेपछि अन्योलमा छन् । ‘भिसा आउने वेलासम्म भनेर म्यादीमा भर्ना भएँ,’ उनले भने,‘खै निर्वाचन होला जस्तो लागेन ।’

कुनै आदेश आएको छैन
स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीलाई तालिम दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । ‘घाममा कति दुःखले म्यादीलाई तालिम दिइयो,’ उनले भने,‘ अब के भन्ने वा के गर्ने कुनै निर्देशन आएको छैन ।’ १५ दिनको तालिमपछि म्यादी प्रहरीले नियुक्ति–पत्र पाउने र कार्यक्षेत्रमा जानुपर्ने हो । तर, प्रदेश नम्बर १, ३, ५ र ७ मा निर्वाचन सरेसँगै म्यादी प्रहरीमा पनि अन्योल देखिएको छ ।

न नियुक्ति, न पोसाक
सरकारले पोसाक समयमै उपलब्ध नगराएछि म्यादी प्रहरीले बर्दीविना नै तालिम गरेका छन् । पुरुषहरूले नेपाली ढाकाटोपी र महिलाहरू क्यापको साथमा तालिम गरिरहेका छन् । पोसाक किनेर सिलाउन दिएको भन्ने जानकारी आएकाले केही दिनमा जिल्लामा आउने जिल्ला प्रहरी उपरीक्षक भोला रावलले बताए । अहिले उनीहरू जिल्ला प्रहरी कार्यालयकै मातहतमा छन् । ‘उनीहरूको बारेमा अझै स्पष्ट निर्णय आएको छैन,’ रावलले भने, ‘सायद एक–दुई दिनमा केही निर्देशन आउला ।’ पोसाक आएपछि नियुक्ति दिएर पायक पर्ने प्रहरी चौकीतिर पठाउने सामान्य छलफल भएको उनले बताए । ‘पहिले जिल्लाबाहिर पठाउने भनिएको थियो, अहिले त्यस्तो छैन,’ उनले भने,‘सम्भवतः गाउँपालिका वा नगरपालिका परिवर्तन गरेर खटिन्छन् ।’ स्थानीय तह निर्वाचनको सुरक्षाका लागि गुल्मीबाट आठ सय २० जना म्यादी प्रहरीमा छनोट भएका छन् ।

Source: Naya Patrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *