पति हिँडडुल गर्न नसक्ने, पत्नी आँखा नदेख्ने । कस्तो अनौठो जोडी । धेरैलाई लाग्न सक्छ, यो जोडीको त विजोग नै होला । तर, कुरा ठिक उल्टो छ । यो जोडी अद्भूत छ, अत्यन्त सफल छ, उदाहरणीय र अनुकरणीय छ । यिनलाई देखेर जो कसैले भन्न सक्छ, ‘जोडी होस् त मनरुपा र नन्दप्रसादको जस्तो ।’
पतिको नाम हो नन्दप्रसाद चौलागाईं, पत्नीको नाम हो मनरुपा । उनीहरु सुर्खेतको वीरेन्द्रनगर —१० बुदबुदेमा बस्छन् । ६२ वर्षिय नन्दप्रसादलाई हिँडडुल गर्न वैशाखी चाहिन्छ । तर, उनको मुख्य वैशाखी भने मनरुपा हुन् जो आँखा देख्दिनन् । अनि, मनरुपाको आँखा बनेका छन् नन्दप्रसाद ।
यिनको जीवन गाथा देखेर भन्न सकिन्छ, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल ।’
जुम्लादेखि सुर्खेतसम्म
हरेक मानिसको जीवन गाथा आफैमा संघर्ष गाथा हो तर नन्द र मनरुपाको जीवन गाथा सामान्य संघर्ष गाथा जस्तो मात्र लाग्दैन ।
यी दम्पत्तिको संघर्ष गाथा सुरु हुन्छ जुम्लाबाट । दृष्टिविहिन मनरुपा र शारीरिक अपांगता भएका नन्दप्रसादले बिहे गरे । कठिन गरिबी बीचमा एउटा छोरा जन्मियो । पाल्ने कसरी ? यिनका अगाडि यो समस्या थियो । छोरा पाल्न शारीरिक रुपमा मात्र नभएर आर्थिक रुपमा पनि सबल हुन आवश्यक थियो । तर, पहिले त शारीरिक रुपमै सबल हुन आवश्यक थियो ।
त्यसपछि उपचार गराउन यो जोडि छोरा च्यापेर दुखजेलो गर्दै सुर्खेत आइपुग्यो । २०५२ सालको कुरा हो यो । महंगो उपचार गर्नु त परै जाओस्, खानाको पनि जोहो गर्न मुश्किल थियो । उनीहरु बीरेन्द्रनगरमा घासको झुपडी बनाएर बस्न थाले । जसोतसो छाक जुटाउन थाले । तर, भरपेट खान पाएनन् । त्योभन्दा पनि मुख्य कुरा, भविष्यको चिन्ताले सताउन थाल्यो ।
भोकले भन्दा भविष्यको चिन्ताले मानिसलाई धेरै सताउँछ । अनि, जो चिन्तामा जल्छ ऊ अघि बढ्न सक्दैन, जो चिन्तामा चिन्तन गर्छ उसैले जीवन बनाउँछ । यो दम्पत्ति चिन्तामा जलेन, चिन्तन गर्न थाल्यो ।
त्यो दिन
त्यसैबीच उनीहरुले एउटा साधारण खबर पाए । बीरेन्द्रनगर नगरपालिका र नेपाल नेत्रहिन संस्था मिलेर मिठाई राख्ने बट्टा बनाउने तालिम दिँदैछ । यो दम्पत्ति तालिम लिन गयो । तीन दिन तालिम लियो । त्यो तीन दिनको तालिम लिने कोको थिए उनीहरुलाई अहिले राम्रोसँग याद पनि छैन तर उनीहरुको जीवन फेरियो त्यही तालिमले ।
source hamrokatha
Leave a Reply