जेठ १ गतेदेखि यातायात व्यवस्था विभागमै सवारी ट्रायल

Posted On    Author    Category सामाजिक.

काठमाडौं- यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपांग्रे सवारीको ट्रायल(प्रदर्शन परीक्षण) सेन्टर सञ्चालन गर्ने भएको छ। विभागको नयाँ बानेश्वरस्थित परिसरमा आगामी जेठ १ गतेबाट चारपांग्रे सवारीको पनि ट्रायल लिन लागिएको हो। यसअघि सो ठाउँमा मोटरसाइकलको मात्र ट्रायल हुँदै आएको थियो।

विभागले अहिले रामशाहपथस्थित नेसनल ट्रेडिङ कार्यालय परिसरमा ट्रायल सेन्टर सञ्चालन गर्दै आएको छ।

सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सहज बनाउन एकान्तकुना बाहेक सल्लाघारी, कंलकी, चाबहिलमा यातायात कार्यालय थपे पनि ट्रायल सेन्टर सँख्या नबढेकाले समस्या सुल्झिएको छैन। विभागका प्रवक्ता टोकराज पाण्डेले लाइसेन्स वितरण प्रक्रियालाई सहज बनाउन कार्यालय स्थापनासँगै ट्रायल सेन्टर पनि विस्तार गर्न लागिएको बताए । विभागले निजी क्षेत्रको सुजुकी ड्राइभिङ स्कुल प्रालिको सवारीसाधन चलाउन सिकाइने ठाउँलाई ट्रायल प्रयोजनका लागि भाडामा लिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मापदण्ड नपुगेकाले निजी क्षेत्रको स्कुलमा ट्रायल लिन नमिल्ने आदेश भएपछि विभागले आफ्नै परिसरमा ट्रायल लिने तयारी थालेको हो।

ट्रायल दिनेको चापलाई दृष्टिगत गरी विभाग परिसरमै पनि ट्रायल लिने व्यवस्था गरिएको प्रवक्ता पाण्डेले बताए । ट्रायल सेन्टरको विस्तारले लाइसेन्स जारी गर्ने प्रक्रियामा सहजता आउने उनको विश्वास छ।

विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० को अनुसूची ३ विपरीत ट्रायल सेन्टर सञ्चालन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको थियो। सोहीविरुद्ध परेको रिटले सेवाग्राहीलाई थप आर्थिक भार पर्ने भएको भन्दै निजी संस्थामा ट्रायल सेन्टर सञ्चालन गर्न नहुने आदेश न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दिएको थियो । विभागले १० वर्षका लागि निजी क्षेत्रसँग सम्झौता गरेको थियो । विभागले खरिद ऐनविपरीत आशय–पत्र नमागिकनै प्रस्ताव–पत्रको भरमा कामलाई अघि बढाएको थियो।

Source: Nagarik News

Leave a Reply

Your email address will not be published. Required fields are marked *