गर्भवतीको शल्यक्रिया गर्दा शिशुको खुट्टो भाँचियो

Posted On    Author    Category सामाजिक.

१४ चैत, मोरङ । बिराटनगरको एक अस्पतालमा गर्भवती महिलाको अप्रेसन गर्ने क्रममा नवजात शिशुको खुट्टो भाँचिएको छ ।

बिराटनगरको नोबेल अस्पतालका डाक्टरले आमाको शल्यक्रिया गरेर पेटबाट बच्चा निकाल्ने क्रममा शिशुको दाँया खुट्टाको हड्डी भाँचिएको हो ।

मोरङ केराबारी-९ कुसुमे निवासी अनिशा बिकको शल्यक्रिया गरी शिशुलाई बाहिर निकाल्ने क्रममा शिशुको दाहिने तिघ्राको हड्डी भाँचिएको अनिशाका पति टेकबहादुर बिकले अनलाइनखबरलाई बताए ।

डाक्टरको लापरवाहीले नावालक शिशुको खुट्टा भाँचिएपछि दुई सातादेखि अस्पतालमा बस्नुपरेको बिकले बताए । अहिले नवजात शिशुको तिघ्रामा ब्याण्डेज गरेर दुईसातादेखि अस्पतालमै राखिएको छ ।

डाक्टरकै लापरवाहीका कारण शिशुको खुट्टा भाँचिए पनि अस्पतालले औषधि खर्च व्यहोर्न नमानेको र आफूहरु मर्कामा परेको बिक दम्पतीले  गुनासो गरेका छन् ।

आफूहरुको आर्थिक अवस्था सामान्य रहेको भन्दै शल्यक्रिया गर्ने क्रममै शिशुको खुट्टा भाँचिएकाले उपचारको जिम्मा अस्पतालले नै लिनुपर्ने बिक दम्पतीको माग छ ।

‘औषधी खर्च अस्पतालले बेहोर्न मानेको छैन, प्रवन्धक नारायण दाहाललाई निशुल्क उपचार हुनुपर्ने माग राख्दा उनले बेड चार्ज छुट गरौंला भनेका छन्’ नवजात शिशुका पिता बिकले भने, ‘औषधी खर्चमा छुट माग्दा हाम्रो औषधी फ्याक्ट्री छैन भन्ने जवाफ दिएका छन् ।’ बिकले भने- ‘दुई सातादेखि अस्पतालमा बसेका छौं, खान बस्न र उपचार खर्च धेरै भइसक्यो, बच्चाको खुट्टा भाँचिएका कारण सुत्केरीलाई घरमा लगेर पोसिलो खुवाउन पनि पाइएको छैन ।’

घटनाबारे अस्पतालका प्रवन्धक दाहालसँग सम्पर्क गर्दा उनले शल्यक्रियाका क्रममा एकाध घटना यस्ता हुन सक्ने बताए । उनले बच्चाको अवस्था त्यस्तो भएकै कारण बेड चार्ज नलिएको बताए ।

source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *