![](http://www.khabarbox.com.np/wp-content/uploads/2016/02/deepak.jpg)
काठमाडौं- कीर्तिमान बनाउन सहज छैन। थुप्रै खेलाडी कीर्तिमान बनाउने लक्ष्य लिएर दैनिक रंगशाला धाउँछन्। खेलाडीका लागि कीर्तिमान नजिक पुगेर असफल हुँदाको क्षण सर्वाधिक पीडादायी हुने गर्छ। त्यस्तै पीडादायी अनुभवबीच करातेका दीपक श्रेष्ठ करियर टुंगाउन बाध्य भएका थिए।
nepalipatro-nagarik
दीपक आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को स्वर्ण पदक विजेता हुन्। सन् १९९९ मा काठमाडौंमा आठौं साफ हुँदा कराते र तेक्वान्दोले नेपालका लागि सर्वाधिक समान १४ स्वर्ण जितेका थिए। १४ स्वर्ण जित्ने कराते खेलाडीमध्येका हुन् दीपक। घरेलु मैदानमा सर्वाधिक स्वर्ण जित्दै इतिहास बनाएको नेपालले नवौं सागमा त्यसलाई निरन्तरता दिन सकेन। पाकिस्तानको इस्लामावादमा भएको नवौं साफमा नेपाली करातेले एक मात्र स्वर्ण पदकमा चित्त बुझायो। त्यतिखेर करातेको साख जोगाउने खेलाडी दीपक नै थिए।
दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जित्ने थोरै खेलाडीमध्ये एक हुन् उनी। तर, दक्षिण एसियामा स्वर्णको ह्याटि्रक गर्ने उनको लक्ष्य श्रीलंकामा समाप्त भयो। अघिल्ला दुई संस्करणमा स्वर्ण जितेका उनले ह्याटि्रकको लक्ष्यसहित दसौं सागको तयारी गरेका थिए।
‘पाकिस्तानबाट फर्किएपछि मेरो एउटै लक्ष्य सागमा ह्याटि्रक गरेर इतिहास बनाउने थियो। मैले त्यसका लागि कडा मिहिनेत गरेको थिएँ,’ दीपक भन्छन्, ‘तर निर्णायकको खराब निर्णयसँगै नेपाल र श्रीलंकाका केही कराते अधिकारीको द्वेषका कारण मेरो लक्ष्यमा धक्का लाग्यो। खेल सुरु हुनुअघि नै श्रीलंका र नेपालका केही करातेकर्मीले मलाई दुई वर्षका लागि एसियन कराते महासंघले कारबाही गरेको हल्ला फैलाए। मेरो मनोबल घटाउन यस्तो चाल चलिएको रहेछ।’
पहिलो राउन्डमै श्रीलंकन खेलाडीसँग खेल पर्नु आफ्नालागि दुर्भाग्यजनक भएको उनको ठम्याइ छ। ‘श्रीलंकन खेलाडीसँग जो पर्योी, त्यसलाई निर्णायकले हराउने रणनीति बनाएका रहेछन्, मैले त्यसको विरोध गरेर नखेल्ने निर्णय गरे,’ उनले सम्भि्कए।
करातेमा निर्णायक निष्पक्ष नहुनुको सिकार बने दीपक। ‘निर्णायक निष्पक्ष नहुनु करातेको नराम्रो पक्ष हो, खेलाडीको करियर निर्णायकले तहसनहस पार्न सक्छन्,’ दीपकले कोलम्बोको घटना सम्भि्कए, ‘त्यतिबेला मलाई साह्रै पीडा भएको थियो।’
श्रीलंकाबाट फर्किएको एक महिनापछि उनले दोहामा १५ औं एसियाली खेलकुद खेले। तर, पदक जित्न सकेनन्। ढाकामा भएको ११औं सागको पूर्वसन्ध्यामा उनले खेल करियरबाट संन्यास लिएर प्रशिक्षकको भूमिका रोजे। औपचारिक रुपमा खेल करियरबाट संन्यास लिने उनी पहिलो कराते खेलाडी हुन्। ग्रोइङ नेपालको आधिकारिक बिक्रेता नेबिको प्रालि र महर्जन निर्माण सेवाले टाटाको टि्रपर र एउटा पल्सर मोटरसाइकल पुरस्कार प्रदान गर्दै उनको संन्यासलाई अविस्मरणीय बनाउने काम गरेे।
राष्ट्रिय खेलकुद परिषदका कराते प्रशिक्षक दीपकले ११औँ सागमा प्रशिक्षकको रूपमा नेपाली टोलीको नेतृत्व गरेका थिए। संन्यासपछि पनि करातेप्रति उनको सक्रियता रत्तिभर डगमगाएको छैन। ललितपुर चापागाउँका स्थायी बासिन्दाको दैनिकी दशरथ रंगशालामा राष्ट्रिय टोलीलाई प्रशिक्षण गराएर सुरु हुन्छ।
‘मैले जस्तै अरु खेलाडी रेफ्रीको सिकार नबनुन्। करातेमा निष्पक्ष निर्णय हुनुपर्छ। मार्सल आर्ट्सका अन्य खेलजस्तै वैज्ञानिक आधारमा निर्णय हुने प्रणाली विकास गर्नुपर्छ भन्ने आवाज उठाइरहनेछु,’ दीपक भन्छन्, ‘नेपालमा करातेको सम्भावना बलियो छ। अन्तर्राष्ट्रिय स्तरमा यो खेलले देशको नाम उच्च बनाउन सक्छ।’
करातेलाई ओलम्पिकमा समावेश नगर्नुको कारण करातेको छवि मुख्य भएको उनको बुझाइ छ। उनी भन्छन् ‘यो समस्या नेपालमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा छ। अन्य देशका राम्रा खेलाडीले पनि निर्णायककै कारण करियरलाई अन्य क्षेत्रतर्फ मोडेका छन्। अब त्यसलाई रोक्न अन्तराष्ट्रिय स्तरमा बहस जरुरी छ।’
कराते पनि नेपाली खेलकुदसँगै राजनितिक हस्तक्षेपको सिकार भइरहेको छ। विवादले करातेमा थुप्रै समस्या उत्पन्न गरिरहेका छन्। साग, एसियन खेलकुद जस्ता प्रतिष्ठिन प्रतियोगिता आउँदा करातेमा विवाद थप चुलिने गरेको दीपकको अनुभव छ। उनी भन्छन्, ‘करातेलाई सही मार्गमा लान व्यवस्थापन सही हुनुपर्छ। हाम्रो खेल प्रणालीमै कमजोरी छ। राखेप र नेपाल ओलम्पिक कमिटीले विशेष ध्यान दिएर समस्या अन्त्य गर्नुपर्छ।’
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिवसमेत रहेका कराते प्रशिक्षक दीपक १२ औं सागमा कराते समावेश नभएकोमा निराश छन्। भारतीय करातेको विवादका कारण १२औं सागमा कराते समावेश गरिएन। नेपालले १३औं साग आयोजना गर्ने तयारी गरिरहेको छ।
source nagariknews
Leave a Reply