काठमाडौंलाई उपयुक्त विद्युतीय स्कुटर

Posted On    Author    Category अर्थ.

इन्धनबाट सवारी चलाइरहेको बेला विद्युतीय साधनको अनुभव नौलो हुन सक्छ। न त ध्यार्रघुर्रको कर्कश आवाज न अभावका बेला कालोबजारमा बढी मूल्य तिरेर पेट्रोल वा डिजेल किन्नुपर्ने झन्झट । सहर सफा राख्नको लागि पनि विद्युतीय साधन उपयुक्त हुन्छ, घना बस्ती र सवारी साधनको धनत्व बढी भएका ठाउँका लागि।

nepalipatro-nagarik
अस्ट्रेलियन कम्पनी भिमोटोको विद्युतीय स्कुटर इ–म्याक्सको ‘टेस्ट ड्राइभ’ले विद्युतीय स्कुटर काठमाडौंको बाटोमा उपयुक्त भएको अनुभव दियो । भिमोटो कम्पनीको इ–म्याक्सको चार दिनको ‘टेस्ट ड्राइभ’ले विद्युतीय स्कुटरमा रहेको उच्च क्षमता र आरामदायी अनुभव दिलायो ।

ब्याट्री चार्ज गरेर चलाउन सकिने विद्युतीय स्कुटर गुडाउँदा आवाज आउँदैन । आरामदायी यो स्कुटरको अनुभव नौलो पक्कै हुनेछ । अन्य स्कुटरमा जस्तै यसमा पनि सबै सुविधा छन् । अगाडि पांग्रामा डिस्क ब्रेक र पछाडी ड्रम ब्रेक, स्पिड कम र धेरै गर्नको लागि इकोनोमी मोड, नर्मल मोड र पावर मोडको सुविधा छ । जसलाई बुस्ट बटन नामकरण गरिएको छ । ओरालो चलाउँदा ब्याट्री खपत हुँदैन । रिभर्स (पछाडि) चलाउन पनि सकिन्छ । चिल्लो सडकमा चलाउँदा सुलुलु बगेको जस्तो अनुभव हुन्छ । काठमाडौंका उकालोमा मजाले तान्छ ।

त्यसो त बत्ती नै नआउने सहरमा विद्युतीय साधन के महŒव भन्ने पनि हुन सक्छ तर दिनमा कम्तीमा दुई तीन घन्टा ब्याट्री चार्ज गर्न सक्ने हो भने आर्थिक र वातावरणीय हिसाबले विद्युतीय साधनले नेपालको लागि उपयुक्त देखिन्छ । सहरमा विभिन्न कम्पनीका विद्युतीय स्कुटरहरू उपलब्ध छन् । यसमध्येको एक हो– अस्ट्रेलियन कम्पनी भिमोटोका इलेक्ट्रिक स्कुटर ।

जर्मन टेक्नोलोजी र इटालियन डिजाइनमा निर्मित यो कम्पनीका विद्युतीय स्कुटरहरू युरोप लगायत विश्वका विभिन्न देशमा चलिरहेका छन् । यसै क्रममा भिमोटोले एक वर्षअघिमात्र नेपालमा बजार विस्तार गरेको हो । ‘हामी एक वर्षदेखि नेपाली बजारमा छौं,’ नेपालका लागि भिमोटोको आधिकारिक बिक्रेता आस्ता अटोमोबाइल्सका निर्देशक सुरेन्द्र मानन्धरले भने, ‘विद्युतीय साधन उत्पादनमा विश्वको ख्याति प्राप्त यो कम्पनी नेपालमा बजार विस्तार गर्ने योजना बनाउँदैछ ।’

काठमाडौंमा यो कम्पनीका ७ दर्जन स्कुटर कुदिरहेका छन् । भी हन्ड्रेड एस, इ–म्याक्सबाहेक एलेन र भेट्रिक्स मोडलका स्कुटर छन् । अन्य डिजाइन ल्याउने तरखरमा कम्पनी छ ।

यस कम्पनीका स्कुटरको सकारात्मक पक्ष यसको उच्च स्तरको क्षमता हो । काठमाडौंका उकालो–ओरालो बाटोमा अन्य स्कुटर जस्तै प्रदर्शन गर्ने क्षमता यसमा छ । टेस्ट ड्राइभ गरिएको इ–म्याक्स ४ हजार वाटको स्कुटर हो । कम्पनीका अनुसार ८ घन्टा चार्ज गरेको ब्याट्रीले स्कुटर १ सय २० किलोमिटर कुद्छ । टेस्ट ड्राइभका क्रममा यो ९० किलोमिटर हाराहारीमा कुदेको थियो ।

ब्याट्री पूरै चार्ज गर्दा ३ युनिट हाराहारी बिजुली खपत गर्छ । एक युनिटको मूल्य १० रुपैयाँले हिसाब गर्दा ८०–९० किलोमिटर दौडिँदा ३० रुपैयाँ मात्र खर्च हुने भयो । मानन्धरका अनुसार यो स्कुटर कुदाउँदा किलोमिटरको एक रुपैयाँ मात्र खर्च हुन्छ । पेट्रोलले चल्ने बाइक वा स्कुटरमा कम्तीमा ३ रुपैयाँ ५० पैसा खर्च हुने हुन्छ ।

विद्युतीय स्कुटरको खर्च भनेको यसमा प्रयोग हुन ब्याट्रीमा हो । सामान्यतया यी स्कुटरमा प्रयोग हुने ब्याट्री एक सेटको मूल्य ४० हजार रुपैयाँ पर्छ । यस्ता स्कुटरमा लिड एसिड र लिथियन गरी दुई किसिमका ब्याट्री प्रयोग गर्न सकिन्छ । लिथियन ब्याट्री अलि महँगो पर्छ । कम्पनीका अनुसार यसको आयु ३५ हजारदेखि ४० हजार किलोमिटर हो भने यसमा एक वर्षसम्म ग्यारेन्टी छ । मोटर, कन्ट्रोलर, चार्जर जस्ता मुख्य सामानमा दुई वर्षको ग्यारेन्टी रहेको मानन्धरले बताए ।

अहिले नेपालमा भिमोटोका ५ सयदेखि ४ हजार वाटसम्मका विद्युतीय स्कुटर ल्याइएको छ । ५ सय वाटको स्कुटरलाई १ एक लाख १० हजार रुपैयाँ पर्छ भने हजार वाटको एलेन स्कुटरलाई १ लाख ६० हजार रुपैयाँ, ४ हजार वाटको इ–म्याक्सलाई २ लाख ५० हजार र ४ हजार वाटको भेट्रिक्सलाई २ लाख ६० हजार रुपैयाँ पर्ने मानन्धरले बताए ।

विद्युतीय साधनको अर्को फाइदा भनेको अन्य सवारी साधनले जस्तो सडक दस्तुर दिर्नु पर्दैन । सर्भिसिङको लागि चाहिने खर्च यसमा निकै कम हुन्छ । मानन्धरका अनुसार अन्य सवारी साधनजस्तो सर्भिसिङ गरिरहनु पर्दैन । यसको खर्च भनेका ब्याट्री हो । त्यसबाहेक अन्य पार्टपुर्जा बिग्रने सम्भावना न्यून हुने उनको दाबी छ ।

बजार विस्तार गर्ने क्रममा कम्पनी रहेकाले थप डिजाइन मगाएको मानन्धरले बताए । ‘नेपालको भौगोलिक अवस्था र क्रयशक्तिका आधारमा विभिन्न डिजाइन आउन लागेका छन्,’ मानन्धरले भने, ‘सुन्दर र नयाँ डिजाइन आउँदै छन् ।’

अहिले ग्राहकले विद्युतीय स्कुटरमा धेरै चासो देखाएका छन् । ४ हजार वाटका स्कुटरको माग धेरै भएको मानन्धरले बताए । ‘यो वर्ष १२ सय विद्युतीय स्कुटर बेच्ने योजना छ,’ मानन्धरले भने । टेकुस्थित अम्बे कम्प्लेक्समा रहेको सोरुममा अहिले पनि कैयौं ग्राहकले स्कुटर बुक गरेर पर्खिरहेका छन् । ‘दिनमा २० जना यो स्कुटरबारे बुझ्न आउनुहुन्छ,’ मानन्धरले बताए ।

अहिले बजारमा विद्युतीय साधन खासगरी स्कुटर ल्याउने कम्पनी बढिरहेका छन् । चीन, जापान, भारत लगायतका कम्पनीहरू आइरहेका छन् । कम्पनीको प्रतिस्पर्धासँगै विद्युतीय साधन बढ्दै जाने देखिन्छ । इन्धनमा बानी परिरहेको बेलामा विद्युतीय साधन चलाउने ‘कन्भिन्स’ गर्न सक्ने हो भने उपभोक्ताको लागि आर्थिक रुपमा फाइदा र वातावरणीय हिसाबले पनि सहर सफा राख्न अवश्य सहयोग मिल्नेछ।’

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *