कांग्रेस महाधिवेशन: नगर नेतृत्वमा युवा वर्चश्व

Posted On    Author    Category राजनीति.

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष बेदु गिरीको जिम्मेवारी अब युवा मोर्चामामात्र सीमित रहेन । तीन दिनअघि सम्पन्न भेरी गंगा नगरपालिकाको अधिवेशनबाट नगर सभापतिमा निर्वाचित भएपछि उनको यात्रा पार्टी राजनीतिमा प्रवेश गरेको छ।

nepalipatro-nagarik
दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकामा ३० वर्षीय प्रकाश न्यौपानेले पार्टीको नेतृत्व पाएका छन् । जिल्लाको अर्को नगरपालिका दुल्लूमा पनि ३३ वर्षीय युवा टंकप्रसाद रिमाल नगर सभापतिमा आए ।

यी केही प्रतिनिधिपात्र हुन् । देशकै पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन पूर्वसन्ध्यामा भइरहेका गाउँ–नगर अधिवेशनमा युवा अनुहारको बाहुल्यता देखिएको छ । मध्यपश्चिमका २४ वटा नगरपालिकामध्ये अधिकांशमा ४० वर्ष उमेरमुनिका युवा सभापति बनेका छन् । गाउँ नेतृत्वमा यो संख्या अझ धेरै छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख र दाङका १६ नगरपालिकामध्ये ११ मा युवाले नेतृत्व पाएका छन् ।

दाङका चारमध्ये घोराही र त्रिपुर नगरपालिकामा पार्टी नेतृत्व युवाको काँधमा आएको छ । घोराहीमा मनोज बुढाथोकी र त्रिपुरमा दीपक पाण्डे निर्वाचित भए । दीपकले पुराना नेता चित्रबहादुर डाँगीलाई पराजित गरे । सुर्खेतमा तरुण अध्यक्ष गिरीका साथै वीरेन्द्रनगरमा देवकुमार सुवेदी र सुभाघाट–गंगामालामा हस्त पुन निर्वाचित भए । यी दुबै युवा अनुहार हुन् ।

बाँकेका दुईमध्ये नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व युवाको काँधमै छ । उपमहानगरपालिकामा प्रशान्त बिष्टले नेतृत्व पाएका छन् । विद्यार्थी राजनीतिबाट पार्टीमा आएका बिष्ट यसअघि पनि नगर सभापति थिए ।

बर्दियाका पाँच नगरपालिकामध्ये तीनमा युवाले नेतृत्व पाएका छन् । राजापुर, बबई र बाँसगढी नगरको बागडोर युवाको काँधमा आएको छ । राजापुर नगरमा रमण रेग्मी, बबईमा दीपक तिमिल्सेना र बाँसगढीमा गोविन्द रेग्मी सभापतिमा चयन भए ।

नगर समितिमा पनि युवाको संख्या उल्लेख्य छ । कोहलपुर नगर समितिमा सभापति बलराम शर्माबाहेक सबै पदमा युवा विजयी भएको मतदान अधिकृत ऋषिराज शर्माले जानकारी दिए । उनका अनुसार समितिमा सचिव भूमबहादुर भण्डारी, कोषाध्यक्ष गोविन्द पौडेल तथा सदस्यहरू गोविन्दप्रसाद आचार्य, भोलानाथ शर्मा, यज्ञबहादुर महरा, यज्ञबहादुर ओली, लोकेन्द्र चन्द, बासुदेव उपाध्याय र सुशील सापकोटा विजयी भए । कोहलपुर नगर कोषाध्यक्ष पौडेल पछिल्लो समय कांग्रेसभित्र आमकार्यकर्ताले परम्परागतभन्दा नयाँ विचारसहितका युवालाई महŒव दिएकै कारण नतिजा युवाको पक्षमा आएको बताउँछन् । ‘बूढापाकाबाट पार्टी नचल्ने कुरा आमकार्यकर्तालाई अनुभूति भइसकेको छ, त्यस कारण युवालाई आफ्नो मत दिएका हुन,’ उनको भनाइ छ ।

युवाप्रति कार्यकर्ताको विश्वास बढेकाले नगर नेतृत्व उनीहरूको काँधमा आएको कांग्रेस दैलेख सभापति कृष्णकुमार बिसी बताउँछन् । नयाँ भिजनसँगै पार्टीमा एकबद्ध भएर लागेकाले युवाले जितेका उनले बताए । बिसीका अनुसार क्षेत्रीय प्रतिनिधिमा पनि अधिकांश युवा चुनिएका छन् । ‘यसपटक तल्लो इकाई कमिटीमा धेरै युवा आएका छन्,’ कांग्रेस क्षेत्र नम्बर ३ का पूर्वसचिव रणबहादुर भण्डारीले भने, ‘कतिपय ठाउँमा युवाले पुराना नेतालाई समेत पराजित गरे ।’

जिल्लाका कतिपय पुराना नेता इकाई तहमै युवासँग पराजित भएका छन् । बाँकेमा जिल्ला सभापतिको तयारी गरिरहेका दुई नेता वडामै युवाबाट पराजित भए । जनताको बीचमा गई कुराहरू राख्न सक्ने र भिजन भएकाले युवा निर्वाचित भएको बर्दिया जिल्ला सचिव तेजबहादुर भाट बताउँछन् । जिल्ला सचिव भाटको भनाइप्रति पूर्व जिल्लासचिव विद्याप्रसाद खनाल पनि सहमत छन् । युवासँग नयाँ दृष्टिकोण भएकाले उल्लेख्य संख्यामा निर्वाचित भएका उनले बताए । नगर समितिमा युवाको बाहुल्यता भएपछि कार्यकर्ता उत्साहित बनेका छन् । पार्टीलाई सबल रूपमा अघि बढाउने भिजन भएकाले युवा निर्वाचित भएको कार्यकर्ता बताउँछन् ।

दाङका लमही र तुलसीपुर, बर्दियाको सानोश्री र गुलरिया र बाँकेको कोहलपुर नगरको नेतृत्व भने पाको उमेरका नेताको काँधमा छ । लमहीमा पार्टीका पूर्वजिल्ला सभापति शिवप्रसाद चौधरी र तुलसीपुरमा पूर्वसांसद गेहेन्द्र गिरीले नेतृत्व समालेका छन् । । सानोश्री तारातालमा टेकबहादुर ओली र गुलरियामा राजकुमार यादव सभापति भएका छन् भने कोहलपुरमा बलराम शर्माले नेतृत्व पाए ।

यसैबीच, मुगुका गाउँ कार्य समितिमा भने पाको उमेरका नेतृत्वमा आएका छन् । जिल्लाका २४ गाविसमध्ये सातमा ४० वर्ष उमेरमुनिका र १७ मा सोभन्दा माथिका नेताले नेतृत्व पाएका छन् । वडा तथा गाउँ कार्य समितिमा पनि युवाकै बाहुल्यता छ ।
नगरमा देउवा पक्ष हावी
मध्यपश्चिमका अधिकांश नगरपालिकामा देउवा पक्षीय उम्मेदवारले नेतृत्व हत्याएका छन् । भेरी, कर्णाली र राप्ती अञ्चलमा रहेका २४ नगरपालिकामध्ये १४ मा देउवा र १० मा संस्थापन पक्षका उम्मेदवारले जितेको जिल्लास्थित नागरिककर्मीले जनाएका छन् ।

सुर्खेतका तीनमध्ये भेरीगंगा र सुभाघाट–गंगामालामा देउवा पक्षका क्रमशः बेदु गिरी र हस्तबहादुर पुन तथा वीरेन्द्रनगरमा संस्थापन पक्षका देवकुमार सुवेदी निर्वाचित भए । बाँकेमा नेपालगन्ज उपमहानगरपालिकामा संस्थापन पक्षीय प्रशान्त बिष्ट र कोहलपुर नगरपालिकामा देउवा पक्षीय बलराम शर्मा निर्वाचित भए । मध्यपश्चिममा सबैभन्दा बढी (पाँच) नगरपालिका रहेको बर्दियामा संस्थापन पक्षका तीन र देउवा पक्षका दुईजना नगर सभापतिमा निर्वाचित भए ।

दाङका चारवटै नगरपालिकामा यसपटक देउवा पक्षीय उम्मेदवार विजयी भए । तुलसीपुरमा गेहेन्द्रप्रसाद गिरी, घोराहीमा मनोज बुढाथोकी, त्रिपुरमा दीपक पाण्डे र लमहीमा श्याम चौधरी निर्वाचित भए । प्यूठानको एकमात्र नगरपालिमा भने संस्थापन पक्षका मेघराज भट्ट सभापतिमा निर्वाचित भए । रुकुमका दुई नगरपालिकामा दुबै पक्षका एक÷एकजना आए । सल्यानका दुई र रोल्पाको एक नगरपालिकामा देउवा पक्षीय तथा दैलेखका दुई र जाजरकोटको एक नगरपालिकामा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भए । रुकुमको मुसिकोटमा देउवा र चौरजहारीमा संस्थापन पक्षीयले जिते ।

कन्चनपुरका आठ नगरपालिकामध्ये सातमा देउवा र एकमा संस्थापन पक्षका उम्मेदवार सभापतिमा विजयी भएका छन् । भीमदत्त नगरपालिकाबाट पदमराज अवस्थी सभापतिमा निर्वाचित भएका छन् । यस्तै दोधारा–चाँदनीमा डम्मर चन्द, बेदकोटमा हरिप्रसाद बोहरा, बेलौरी रामलाल राना, पुनर्बासमा यमप्रसाद पौडेल, कृष्णपुरमा भक्तबहादुर खत्री, झलारी–पिलाडीमा जयबहादुर बिष्ट र बेलडाँडी नगरपालिकामा हर्कदेव जोशीले नेतृत्व पाएका छन् । जोशीबाहेक सबै देउवा पक्ष निकट मानिन्छन् ।

source nagarik news

Leave a Reply

Your email address will not be published. Required fields are marked *