आइआइटीमा नेपाली विद्यार्थीलाई अवसर, प्रवेश परीक्षा नेपालमै हुने

Posted On    Author    Category शिक्षा.

तपाईंले स्तरीय विदेशी शैक्षिक संस्थाबाट विज्ञान प्रविधि तथा इञ्जिनियरिङमा स्नातक वा स्नतकोत्तर गर्ने योजना छ भने भारतको चर्चित प्राविधिक शिक्षालय ‘इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजी’ (आइआइटी) तपाईंको लागि उचित गन्तब्य हुन सक्छ ।
आगामी वर्षदेखि आइआइटीले नेपालसहित ८ देशका विद्यार्थीहरुलाई अध्ययनको अवसर दिने भएको हो । यसका लागि संस्थाले सन् २०१७ को प्रवेश परीक्षा समेत नेपालमै गर्ने भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तानसहित इथेयोपिया, सिंगापुर, दक्षिण अफ्रिका र युएईका विद्यार्थीले पनि आइआइटीमा अध्ययनको अवसर पाउनेछन् । ति देशका विद्यार्थीले पनि आफ्नै देशमा प्रवेश परीक्षाको अवसर पाउने भएका छन् । यहाँ सञ्चालन हुने परीक्षामा भारतीय विद्यार्थीहरु पनि सहभागी हुन पाउनेछन् ।
यसका लागि संस्थाले प्राविधिक तयारीहरु सुरु गरेको छ । सम्बन्धित देशमा भारतीय दुताबासहरुले परीक्षाको व्यवस्था मिलाउनेछन् । विभिन्न देशबाट विद्यार्थी आइआईटीमा भर्न लिएपनि भारतीय विद्यार्थीको कोटमा भने कुनै कटौति नगरिने भएको छ ।
विदेशी प्रतिभाहरुलाई पनि अवसर दिन आइआइटीले नयाँ व्यवस्था गरेको हो । उत्कृष्ट विदेशी प्रतिभाहरुलाई संस्थामा अध्ययन गर्न दिँदा विश्वमा आईआईटीको शैक्षिक बरियता माथि पुग्ने विश्वासका साथ यसको सुरुवात भएको हो ।
यसलाई नेपाली विद्यार्थीले पनि अवसरका रुपमा प्रयोग गर्न पाउनेछन् । पछिल्लो समयमा आइआइटी विश्वमै प्राविधिक शिक्षामा अब्बल संस्थाका रुपमा परिचित हुँदै गएको छ ।

source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *