नेपालमा अझै यस्ता ठाउँ पनि छन् जहाँ तरकारी र फलफूल बेच्नु तल्लो श्रेणीको काम मानिन्छ, तुच्छ काम ठानिन्छ । हो, बझाङमा यस्तो धारणा अझै छ । यस्तो धारणा भएको बझाङमा गजेन्द्र ओलीले क्रान्तिकारी काम गरेका छन् ।
अन्य जिल्लामा, खासगरी मध्य तथा पूर्वी नेपालमा आधुनिक तरकारी खेति गर्नु सामान्य भइसकेको छ । तर, बझाङमा त्यस्तो छैन ।
बझाङमा गजेन्द्रले थाले व्यावसायिक तरकारी खेति ।
खेति थाल्दा उनीसँग पाँच लाख रुपैयाँ थियो । स्थानीय कृषि सहकारीबाट दुई लाख रुपैयाँ ऋण लिए । त्यसपछि हेमन्तवाडाको डुङग्रीजिउलोमा जग्गा भाडामा लिएर खेति थाले ।
अचम्म माने गाउँलेले । यस्तो पनि खेति हुन्छ ? यसरी खेति गरेर पनि उँभो लागिन्छ ? प्रश्न र आक्रोशको वर्षा भयो गजेन्द्रमाथि ।
सबैले सुझाव दिए, पैसा डुबाउने काम नगर, खुरुक्क विदेश फर्क ।
दुई वर्ष दुबई बसेर आएका थिए गजेन्द्र । दुबईमा एउटा कम्पनीको स्टोर किपर जागिर खान्थे । राम्रै कमाउँथे । विदेशीको सेवा गर्न मन लागेन र गाउँ फर्किएर खेति गर्न थाले । तर, विदेशको जागिरभन्दा खेति राम्रो हो भनेर मान्न गाउँले तयार थिएनन् ।
गजेन्द्र सामु चुनौती थियो– अरबको जागिरभन्दा गाउँको तरकारी खेति फाइदाजनक हुन्छ भनेर प्रमाणित गर्ने ।
उनलाई दाजु रमेशले साथ दिए ।
दाजुभाई भएर २० रोपनी जमिनमा खेति गर्न थाले ।
‘सुरुमा यति धेरै लगानी गरेर तरकारी खेती नगर्न धेरै आफन्तले आग्रह गरेका थिए’ गजेन्द्रले भने ‘लगानी डुब्छ । तरकारी लगाएर को उँभो लागेको छ ? बरु विदेश जाउ भनेर सल्लाह दिन्थे । कसैका कुरा नसुनेर थालेको हूँ, राम्रै भएको छ।’
यो सिजनमा उनले दुइटा प्लाष्टिक टनेलबाट पाँच लाख भन्दा बढीको गोलभेडा बेचेको बताए ।
तरकारी खेती कै लागी भनेर उनले पाँच वटा गुम्बज टनेल र दुइटा फलामे ट्रष्ट भएका अत्याधुनिक टनेल बनाएका छन । आधुनिक टनेल भित्र एउटै बोटमा १५ किलो सम्म गोलभेंडा फलेको बताउँछन् ।
उनले काउली, बन्दा, रायो, गाजर, रामतोरिया, भन्टा, धनिया उत्पादन गरिरहेका छन् । बर्षमा ६ सय क्वीन्टलभन्दा धेरै तरकारी उत्पादन हुने गरेको बताउदै लागत खर्च कटाएर बर्षमा १२÷१४ लाख रुपैयाँ सजिलै नाफा भएको बताउँछन् ।
‘बार्षिक एक लाख ५० हजार रुपैयाँ जग्गा भाडा तिर्छौं’ दाजु रमेश बताउँछन्, ‘मल, बीऊ, औजार र काम गरेको खर्च कटाएर ठिकै आम्दानी भइरहेको छ।’ अब दस वर्ष भाडाकै जग्गामा खेती गर्ने र त्यसपछि आफ्नै जग्गा किनेर ठूलो स्केलमा व्यवसायिक तरकारी खेती गर्ने योजना उनले सुनाए ।
उनीहरुको खेतिमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग गरिँदैन। आजकाल ग्राहकहरु बारीमै आइपुग्न थालेका छन् तरकारी किन्न । उनले पशु बस्तुको मलमुत्रलाई राम्रोसँग कुहाएर कम्पोष्ट मल बनाउने गरेका छन्। तरकारीमा लागेको रोगकीरा नियन्त्रणका लागि तितेपाती, केतकी, टिमुर, बोझो जस्ता वनस्पतीबाट जैविक विषादी तयार गर्छन् ।
अर्गानिक तरकारी कै व्यवसायीक खेती गर्नका लागी उनका दाजु रमेश ओलीले महेन्द्रनगर स्थित क्षेत्रीय कृषि तालिम केन्द्रबाट अगुवा कृषक तालिम पनि लिएका छन् ।
जिल्ला कै लगनशील र मेहनती किसानको रुपमा ओली दाजुभाई कहलिएका छन् । अर्गानिक तरकारी खेति प्रर्वद्धन गर्न जिल्ला कृषि विकास कार्यालयले पनि विभिन्न खालका सहयोग गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत राजेशकुमार केसी बताउँछन् ।
गजेन्द्र सफल भएका छन् ।
अनि, पहिले गजेन्द्रले तरकारी खेति थाल्दा नगर यस्तो काम भन्ने गाउँलेहरु चाहिँ के भन्छन् ?
गाउँले भन्छन्, ‘गरे त हाम्रो गाउँमै विदेश रैछन्, गजेन्द्रले गाउँलाई नै विदेश बनाएर देखायो ।’
source hamrokatha
Leave a Reply