
काठमाडौं, जेठ १३ । बालिका बलात्कारको अभियोगमा नेपाली टेलिभिजन क्षेत्रका चर्चित पत्रकार केदार कोइराला पक्राउ परेका छन् । आफ्नै घरमा काम गर्न राखिएकी १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बानेश्वरले उनलाई शुक्रबार साँझ पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले सुशासन न्युजलाई जानकारी दिए ।
पत्रकार कोइरालाले आफ्नो घरमा काम गर्ने १५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेर गर्भवती बनाएको प्रहरी अनुसन्धानको क्रममा खुल्न आएको एसएसपी जोशीले बताए । प्रहरी स्रोतका अनुसार कोइरालाले उक्त घटनालाई गुपचुप राख्न खोजे पनि बलात्कारपछि आफू गर्भवती भएको भन्दै ती बालिकाले आफूले अध्ययन गर्ने स्कुलकी एक शिक्षिकालाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको थियो । स्रोतका अनुसार ती बालिकाको गर्भमा तीन महिनाको बच्चा छ ।
उक्त विषयमा बालिका पढ्ने स्कुलले कोइरालासँग चासो राख्दा स्कुल नै बन्द गराइदिने भन्दै उल्टै स्कुलका शिक्षक शिक्षिकाहरुलाई धम्क्याएका थिए । पछि स्कुल प्रशासनले बालबालिकाको क्षेत्रका काम गर्दै आएको संस्था ‘सेभ द चिल्ड्रेन’ लाई खबर गरेको थियो । प्रहरीका अनुसार पीडित बालिका अहिले सेभ द चिल्ड्रेनको संरक्षण छिन् भने पत्रकार कोइरालालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ ।
प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको एसएसपी जोशीले बताए । जोशीका अनुसार कोइरालालाई अनुसन्धानको म्याद लिन आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गर्ने प्रहरीको तयारी छ ।
लामो समय एभिन्युज टेलिभिजनमा काम गरेका कोइराला पछिल्लो समय माउन्टेन टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत थिए ।
source sushasannews
Leave a Reply