कसिस्मा मिजार दुई वर्ष पुगेर तीन लाग्न दुई दिन मात्र बाँकी थियो।
बाबु सुन्दर र आमा कविता आफ्नो पहिलो सन्तानको ‘बर्थ डे’ मनाउने तयारी गर्दै थिए। त्यही बेला यस्तो बज्रपात भयो, उनीहरूले छोरीको ‘बर्थ डे’ कहिल्यै मनाउन पाएनन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पछ्याउँदै हिँड्ने सुरक्षाकर्मीसहितको पछुवा गाडीले ठक्कर दिँदा कसिस्माको ज्यानै गयो।
त्यो २०७१ वैशाख १३ को दिन थियो।
शनिबार भए पनि सुन्दर र कविताले पसल खोलेका थिए। काठमाडौं–३५, सुविधानगरमा जुत्ता–चप्पल सिउँथे सुन्दर। कविता त्यहीँ लुगा सिउँथिन्।
साँझ सात बजेको थियो। उनीहरू पसल बन्द गर्ने तरखरमै थिए। त्यही बेला बच्चाको जुत्ता किन्न दुई जना ग्राहक छिरिहाले।
कसिस्मा आमाको कुर्ताको फेर समात्दै के–के बोलिरहेकी थिइन्, कविता ग्राहकलाई जुत्ता देखाउनतिर लागिन्।
‘मामु, यो जुत्ता त मलाई ठिक हुने रहेछ,’ कसिस्माले तोतेबोलीमा बोलेको अन्तिम वाक्य यही हो।
उनी कुन बेला कुर्ताको फेर छाडेर उम्किइन्, कुन बेला सडकमा पुगिन् कवितालाई पत्तै भएन। आधा मिनेट नबित्दै पसलअगाडि गाडीको चर्को आवाज आएपछि बल्ल उनी झल्याँस्स भइन्। वरिपरि हेरिन्, कसिस्मा थिइनन्।
‘छोरी खै!’
उनी ग्राहकलाई पसलभित्रै छाडेर अत्तालिँदै बाहिर निस्किइन्।
कसिस्मा सशस्त्र प्रहरी बलको बा१झ ९५३५ नम्बरको गाडीको चक्कामुनि लडिरहेकी थिइन्। कविताले छोरीलाई उठाइन्। टाउकोबाट भल्भल्ती रगत बगिरहेको थियो।
दुर्घटनापछि भ्यानबाट ओर्लेका सशस्त्र प्रहरीका जवानहरू कसिस्माको हालत देखेर हत्तपत्त चढे। जसरी हुइँकिएर आएका थिए, त्यसरी नै भागे। घाइतेलाई उठाएर अस्पताल लैजाने सामान्य मानवताधरि देखाएनन्।
‘कान्तिपुर अस्पताल पचास मिटर टाढा थियो, छोरीलाई त्यहीँ लग्यौं,’ करिब पाँच वर्षअघिको घटनाको विस्तार लगाउँदै मिजार दम्पतीले मंगलबार दिउँसो सेतोपाटीसँग भने, ‘त्यहाँ उपचार सम्भव नभएको डाक्टरले बताए।’
मिजार दम्पती कान्तिपुर अस्पतालकै एम्बुलेन्स लिएर न्युरो अस्पताल, बाँसबारी पुगे।
भर्ना गरेको डेढ घन्टामै डाक्टरले कसिस्मालाई मृत घोषणा गरे।
हुर्कंदै गरेकी छोरीको उज्यालो अनुहार सम्झेर होला, मिजार दम्पतीको अनुहार अँध्यारो भयो। आँखा रसाए। भक्कानो फुट्न मात्र सकेन।
‘त्यसपछि प्रहरीले छोरीको शव टिचिङ अस्पताल लग्यो। हामीलाई कोठा फर्काइदियो,’ आमा कविताले भनिन्, ‘भोलिपल्ट बानेश्वर प्रहरीले बिहानै डाक्यो।’
Leave a Reply