
थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमिता महर्जन सहकारीको दैनिक काममा रमाउँदै आएकी छिन् । स्वास्थ्य क्षेत्रमा तीन वर्षको अनुभव सँगालेकी महर्जनले सहकारी सामाजिक क्षेत्र भएकाले काम गर्दा आनन्द आउने बताउँछन् ।
आफ्नो समुदायको हितका लागि सहकारीमार्फत काम गर्न पाएकोमा उनी खुसी छिन् । भन्छिन्–‘हाम्रो सहकारीमा सबै यहीँ क्षेत्रका दिदीबहिनी हुनुहुन्छ, उहाँहरुको हितका लागि काम गर्न पाउँदा रमाईलो भइरहेको छ ।’
सहकारीको विकासका लागि दिनरात काम गर्नुपरे पनि खासै बोर फिलिङ नहुने उनले सुनाइन् ।
उनी सहकारीकै कामको सिलसिलमा विभिन्न जिल्ला भ्रमणमा पुगेकी छिन् । भ्रमणमा जादाँ धेरै कुरा थाहा पाइने भएकाले भ्रमणलाई उनले प्राथमिकतामा राख्ने गरेकी छिन् ।
महर्जनले थेचो महिला जागरण सहकारीलाई नमूनाकै रुपमा विकास गर्ने अठोट लिएकी छिन् । ‘म यस संस्थालाई नमूना सहकारी बनाउन लागिपरेको छु’–उनि भन्छिन्–‘आशा छ, एक दिन अवश्य सफल हुने छ ।’
गाउँमा सहकारीमार्फत आर्थिक उन्नतिका लागि उनी क्रियाशील भएर लागिपरेको बताउँछिन् । स्थापनाकालदेखि नै (२०६५ कार्तिक) उनी सहकारीमा काम गर्दै आएकी छिन् ।
थेचो सहकारीको व्यवस्थापक भएर काम गरेपछि उत्तरदायित्व बढेको र अझै धेरै काम गर्न बाँकी रहेको उनी बताउँछिन् । ‘म सहकारीमा आएर पहिचान बनाएको छु, मलाई यसैमा गर्व लाग्छ’ उनी भन्छिन् । व्यवस्थापक भएर काम गर्दा सञ्चालक र कर्मचारीको व्यवस्थापन गर्दै आएकी छिन् ।
उनले सहकारीका विभिन्न तालिम लिएकी छिन् । एकाउन्टिङ, पल्र्स, मनिटरिङ, कर्जा कर्जा व्यवस्थापनलगायतका आधा दर्जनभन्दा बढी तालिम लिएकी छिन् ।
तालिमले मानिसको जीवनमा महत्वपूर्ण भूमिका हुने उनले सुनाइन् । तालिमको अवसर आउँदा सञ्चालक तथा कर्मचारीलाई आवश्यकताअनुसार पठाउने गरेको उनले बताइन् ।
तालिममा जाँदा संस्थाले छुट्टै नियम बनाएको उनले सुनाइन् । ५ हजार भन्दा बढी शुल्क तिर्नुपर्ने अवस्था भए सहभागीले पनि आधाजति आफ्नै पकेटबाट योगदान गर्नुपर्ने संस्थाको नियम छ ।
सहकारीका निकायले संस्थाबाट शुल्क लिने तर संस्थाको हितका लागि खासै काम नगर्ने गरेको उनको बुझाई छ । ‘संस्थाले निःशुल्क सेवा दिनुपर्ने, यदी निःशुल्क नसकेपनि थोरै शुल्कमा तालिमलगायतका सेवा प्रदान गर्नुपर्ने उनको तर्क छ ।
संस्थाले लुमन्ती र सामुदायिक महिला मञ्चको सहकार्यमा महिला सशक्तीकरणका कार्यक्रम गर्दै आएको महर्जनले जानकारी दिइन् ।
हाल संस्थाको शेयर सदस्य १ हजार ९ सय २२ जना पुगेका छन् । संस्थाले ४ करोड ५१ हजार निक्षेप संकलन गरी ३ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ । त्यस्तै संस्थाले शेयर पूँजी पनि बढाउँदै लगेको व्यवस्थापक महर्जनले जानकारी दिइन्
Leave a Reply