कथाकार/उपन्यासकार कुमार नगरकोटीले प्रयोगवादी लेखनमा आफ्नो छुट्टै परिचय बनाएका छन् । प्रायः अँध्यारा गल्ली र सुनसान घाटतिर घुम्न रुचाउने उनी रचनामा पनि त्यस्तै परिवेश उतार्छन् । स्कुलमा अंग्रेजी शिक्षकको जागिर छाडेर केही वर्षयता उनी पूर्णकालीन लेखनमा सक्रिय छन् ।
देश र समाजको समसामयिक विषयमा कमै लेख्ने उनी ‘लेखक समाजको दुःख मात्र लेखेर बस्ने अभिशप्त प्राणी नभएको’ बताउँछन् । मोक्षान्तः काठमान्डू फिभर, फोसिल, अक्षरगन्ज, कोमाः अ पोलिटिकल सेक्स, मिस्टिका जस्ता कृति निकालिसकेका नगरकोटी ‘ज्ञ’ लघु उपन्यास र ‘घाटमान्डू’ उपन्यासको पाण्डुलिपि तयार पारेर यतिबेला फुर्सदमा छन् । यही फुर्सदको समयमा उनले आफ्नो लेखन र नेपाली साहित्यबारे अनलाइनखबरसँग खुलेर कुराकानी गरे ।
स्वैरकल्पना र मनमौजीखालका कथाहरू लेख्नुहुन्छ । यस्तो असम्भव लाग्ने दुनियाँको मोह किन ?
पहिल्यैदेखि अलिक फरक तरिकाले सोच्थेँ । विचित्र र अनौठा कुरा नै बढी मन पर्ने । अफबिट साहित्य र सिनेमा मात्र हैन, जीवनशैली पनि त्यस्तै रुचाउँछु । मैले पढ्न चाहेको जस्तो कुरा नभएकोले त्यस्तै लेख्छु । स्वैरकल्पनाको कुरा गर्दा, लेखकका रूपमा तपाईंले त्यस्तो संसारको सृष्टि गर्नुहुन्छ, जसको तपाईं नै राजा बन्नुहुन्छ ।
लेख्ने क्रममा पात्रको चरित्रभित्र यति पस्छु, त्यहीं पात्र नै आफू हो कि जस्तो अनुभूति हुन्छ । वास्तविक जीवन र कथानकबीच धमिलो रेखा मात्र पाउँछु । यो जीवन पनि आख्यान जस्तो लागिदिन्छ । यसले दिने आनन्द अपार छ ।
एउटा चल्तीको लेखकले सामाजिक विषयबाट टाढिएर कल्पना र तर्कनाका कुरा मात्र गर्न सुहाउँछ त ?
यहाँ भावुकतामा डुब्ने काम धेरै भएको छ । सबैले समाजको यथार्थ यो हो भनेर कराइरहनुपर्छ भन्ने जरुरी लाग्दैन । सामाजिक यथार्थबारे लेख्नेहरू धेरै छन् । मैले पनि त्यही नै गर्नुपर्छ भन्ने के छ र ? कम्तीमा मलाई त छाडिदेऊ यार ! कसैले तेरो लेखाइमा नारीको समावेशिता खै भन्ला । कसैले जात र पहिचानको कुरा छुट्यो भन्ला । मैले ‘लेखकहरू जेलमा छन्’ भन्ने मूल शीर्षकभित्र रहेर भर्खरै पाँचवटा कथा लेखिसिध्याएँ । त्यसमा लेखकका यिनै समस्या र पीडा आएका छन् ।
घाटहरूमा जलिरहेको लाश हेर्दा अध्यात्मिक हिसाबले जीवनप्रति झन् सजग भइन्छ
लेखकले जे लेखिराखेको छ, त्यसैलाई थप फराकिलो पार्न हौसला भर्नुपर्छ जस्तो लाग्छ । यो-यो कुरा पुगेन भनेर आलोचना गर्नु चाहिँ ठीकै हो । मलाई शिरीषको फूल बाहेक पारिजातका बाँकी कृति झुर लाग्छ । तर, अरु कसैलाई त उनका अन्य पुस्तकले पनि अर्थ राख्ला नि ! त्यसैले एकथोक मन पर्छ भन्दैमा अरु सबै वाहियात हो भन्नु उचित हुँदैन ।
समाजको भावभूमिदेखि निकै टाढा रहेका तपाईंका कृति पढेर साहित्य जगत्ले के पाउने ? पाठकले के पाउने ?
केही समयअघि मैले सामाजिक यथार्थवादले साहित्य ध्वस्त पार्यो भन्दा मार्क्सवादीहरूबाट खप्की खानुपर्यो । तर, अझै पनि म त्यही नै भन्छु । हामीले साहित्यका विविध आयाममा फैलिनुपर्छ जस्तो लाग्छ । लेखकपिच्छे आफ्नो फरक शैली र मान्यता हुन्छ । यति धेरै स्वादमा नगरकोटी एउटा स्वाद हो । सबैले पढ्नुपर्छ भन्ने पनि छैन । यसो भनेर मैले अहम् पालेको हैन । पाठकको रुचि र छनोटको स्वतन्त्रताको कुरा गरेको हुँ ।
मेरो कथा र उपन्यास पढेर यसरी पनि यो ढाँचामा लेख्न र सोच्न सकिंदो रैछ भनेर अरुको दिमागमा आओस् भन्ने लाग्छ । हाम्रो समाज यति जागरुक र बौद्धिक उचाइमा पुगिसकेको छैन, जसले एउटा लेखक निश्चित आयाममै अघि बढोस् भनेर फराकिलो सोच बनाओस् । त्यसको लागि अझै समय लाग्ला ।
त्यसो भए समाजप्रति लेखकको दायित्व केही हुन्न ?
समाजकै कुरा लेख्नुपर्छ भनेर जोरजबर्जस्तीले लाग्दिनँ म । बढीजसो स्वैरकल्पनाका कुरा लेखे पनि कतै न कतै समाजका कुरा आएका छन् मेरो लेखनमा । कसरी अभिव्यक्त गर्ने भन्ने माध्यम मात्रै फरक हो । पहिलो कथासंग्रह ‘मोक्षान्त: काठमान्डू फिभर’ आउनुअघि मनमौजी पारामै थिएँ । कथा छाप्ने, कथाकार बन्ने कुनै मोह थिएन । लेखेर थन्क्याउने काम मात्र हुन्थ्यो ।
मोक्षान्तपछि दोस्रो कथासंग्रह ‘फोसिल’ आउनुअघिको ग्यापमा लेखनमा केही बदल्नुपर्छ भन्ने महसुस भयो । केही त्यस्ता लेखूँ, जुन समाजसँग जोडिएको होस् भन्ने सोचेँ । आरोप छँदै थियो ममा, यसको कथामा समाज, आम मान्छेका कुरा हुँदैन भनेर । त्यस्तो आरोप चिर्नेगरी संग्रहका दुई कथा ‘फोसिल’ र ‘गिद्धहरूको नाच’ लेखेँ । समाजसँग केही दूरीमा बसिने र राम्ररी नजोडिने एउटा कुरा हो, तर यसका प्रभावहरूबाट बच्न को सक्छ र ?
पहिलोबाट दोस्रो संग्रहमा त्यसरी सामाजिक विषय ल्याएपछि पाठकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
मोक्षान्त रुचाउने पाठकलाई त्यो अलि मन परेन । तपाईं त मस्तमौला टाइपको, आफ्नै शैली भएको लेखक कतातिर लाग्नुभयो भने । तर, समग्रमा मन पराइयो त्यसलाई । यसबीचमा आफ्ना पाठकहरूको पनि दुईवटा वर्ग देखेँ मैले । एकथरि मोक्षान्त कालखण्डका स्वैरकल्पना भरिएको कथा रुचाउने । अर्काथरि समाज जोडिएको फोसिल जस्ता कथा रुचाउने । यो देखेर निकै गजब लाग्यो मलाई ।
नेपाली साहित्य लेख्दा जथाभावी अंग्रेजी भाषा पनि नगरकोटीले मजैले मिसाइदियो भन्ने झटारो पनि आयो नि !
(हाँसो) अँ, चाखेँ त्यस्तो । मलाई साँगुरो सोच मन पर्दैन । हाम्रो हिन्दू संस्कारमा भनाइ छ नि, अतिथि देवो भवः । त्यही मान्यता राख्छु म । आगन्तुक शब्द पाहुना जस्ता हुन्, तिनको उचित स्वागत र सत्कार गर्दै जानुपर्छ । शब्दहरूमा पनि प्रयोग गर्न मन पराउँछु म । अंग्रेजी मात्र हैन, म त उर्द्धू, फ्रेन्च लगायत भाषाका शब्द पनि आरामले प्रयोग गरिदिन्छु । शब्दहरूको यति ठूलो बगैंचा छ, प्रसंग र आवश्यकताअनुसार जुन फूलको सुवास लिए पनि हुन्छ जस्तो लाग्छ ।
जिन्दगीमा उपन्यास लेख्दै लेख्दिनँ भन्ने गर्नुहुन्थ्यो, तर ‘मिस्टिका‘ आयो । कसरी तोडियो प्रतिज्ञा ?
हो, लेख्दिनँ नै भन्ने थियो । सबैजना उपन्यास लेख्न लागेका बेला भिडमा म मिसिन्नँ भन्ने थियो । बरु किनारमा बसेर हेर्छु भन्ने सोचेँ । तर, समयक्रममा फेरि अर्कै सोच आयो । लेखनमा जुन मेरो शैली छ, त्यसलाई औपन्यासिक ढाँचामा किन नल्याउने भन्ने लाग्यो । क्याजुअल लेखहरू लेख्दै थिएँ पत्रिकामा । त्यस क्रममा नाटक लेख्ने प्रस्ताव आयो । म त प्रयोगमै रमाउने मान्छे । नाटक पनि लेखूँ न त भन्ने लागेर ‘कोमा’ लेखेँ । विशुद्ध नेपाली पनि राम्रै लेख्दोरैछ भने पाठकहरूले । विधागत हिसाबले पनि कविता, कथा, नाटकपछि लेख्न के बाँकी छ भन्दा उपन्यास नै थियो । यस्तै क्रममा प्रयोग गर्ने हुटहुटी चलेर आफ्नै स्वादको उपन्यास लेखेँ ।
लेखकले कुनै प्रभाव र दबाबविना लेख्नुपर्छ भनिरहँदा साहित्य बजारमा बिक्नेगरी जानुपर्छ भनेर चिन्ता गर्नेहरू पनि छन् । तर, बजारमा गएपछि त पाठक र प्रकाशकको चाहनालाई पनि ध्यान दिनैपर्ला । त्यस्तो स्थितिमा लेखकको अस्तित्व के होला ?
धेरै लेखकलाई त्यस्तो कुराले फरक पार्ला । पुस्तक लेख्ने क्रममै प्रकाशक हावी होलान् । बजारको टे्रन्ड र पाठकको रुचि ख्याल गरेर लेख्नेहरू पनि नभएका हैनन् । बजारकै कुरा गर्ने हो भने त नगरकोटीले ‘वेश्यालयमा ईश्वर’ वा ‘सेक्स इन द घाट’ शीर्षकमा लेख्यो भने मारामार बिक्री हुँदो हो । तर, बजारले रुचाउँछ भन्दैमा त्यतातिर जादिनँ म । बजारले प्रभाव पारेको महसुस पनि कहिल्यै भएन । मेरो त आफ्नो हिसाबले लेख्ने काम हो, छापे छाप नछापे नछाप भन्ने शैली छ । यस्तो ढाँचाको त नपढिएला, नरुचाउँलान् भनेर नलेख्ने हैन म । कतै न कतै त पाठक होला भन्ठान्छु । अदृश्य पाठकका लागि लेख्छु । कृतिले पनि पाठक जन्माउँदै जाने मान्यता राख्छु ।
अहिले त लेखकले नयाँ पुस्तक लेख्दालेख्दै प्रकाशकबाट अग्रीम पेश्की रकम नै पाउने अवस्था देखिन थालेको छ । पूर्णकालीन लेखक भएर बाँच्न सकिने सम्भावना देखिएकै हो त ?
पहिलाको तुलनामा मिडियामा साहित्य र लेखकको चर्चा, पाठकको चासो, प्रकाशन गृहको संख्या र उत्साह बढेको पक्कै हो । तर, केही सीमित लेखकले पुस्तक लेखेरै केही समयका लागि जीवन निर्वाह गरेको देखेर त्यसलाई समग्रमा हेर्न मिल्दैन । सबैलाई त्यो सुविधा नहुन सक्छ । पूर्णकालीन लेखक बन्न सकिने अवस्था आए एउटा सर्जकले लेख्ने विषयमा मात्रै चिन्तन र साधना गर्ने समय पाउँछ । विदेशी साहित्यको अध्ययन गर्न सक्छ । त्यसबाट देशकै साहित्यको स्तर बढ्ने हो । तर, हामीकहाँ त दिनभर अनेकतिर जागिर गरेर पनि धन्न लेखन कर्म अघि बढाइरहेछन् लेखकहरू ।
तपाईंले परस्त्रीसँगको सेक्सबारे खुलमखुला स्वीकार्नुभएको छ । यो तपाईंको इमानदारी हो कि अराजकताको प्रदर्शन ?
हो, साँचो कुरा लुकाउनु जरुरी लाग्दैन मलाई । कसैले सोध्दाखेरि मैले भनेको कुरा हो । यत्तिकै घोषणा गर्दै हिंडेको हैन । कोठे गफगाफमा एकथरि कुरा गर्ने र सार्वजनिक मञ्चमा अर्कैथरि आदर्श छाँट्ने दोहोरो व्यक्तित्व मन पर्दैन मलाई । पोखरामा एउटा कार्यक्रममा श्रीमती सामुन्नेमै हुँदा मैले पहिलो सेक्सको किस्सा सुनाएको हुँ । गरेको कुरा लुकाउनु र कथित नैतिकता-अनैतिकताको हिसाब गर्नु बेकार हो । सेक्सलाई सोच्नै र गर्नै नहुने कता न कताको पाप बनाएको चित्त बुझ्दैन । सुन्दर चिज हो यो ।
त्यसो भए सेक्समा खुलापनको पक्षधर हो तपाईं ?
एकदमै । पूर्णरुपमा सुन्दर यौनजीवन बाँच्नुपर्छ । कुण्ठित भएर दिमागमा चाहिं यौनको भकारी बनाउने अनि बाहिर साधु देखिने प्रवृत्ति यो सांसारिक रंगमञ्चभित्रको दूषित नाटक हो । दुई जनाको मन मिल्यो भने मजासँग सेक्स गर्दा हुन्छ । सेक्स ड्राइभ शान्त हुनेगरी र सेक्सुअल्ली स्वतन्त्र हुने गरी कलात्मकरूपमा सम्भोग गर्नुपर्छ । परपुरुष/स्त्रीसँग सेक्स गरेपछि पनि कोही आफूलाई इमानदार र आदर्श पात्र दाबी गरिरहन्छन् । कोही अरुलाई खराब भन्ने ट्याग लगाउँछन् । दुवै वाहियात कुरा हो । दुई तन र मन स्वेच्छाले मिलिसकेको छ भने हू केयर्स !
समकालीन नेपाली साहित्य पढ्दा कत्तिको चित्त बुझ्छ ?
हाम्रो साहित्य हेर्दा मचाहिँ एकदमै असन्तुष्ट हुन्छु । हत्तपत्त कुनै पुस्तकले छुँदैन । मैले पढ्ने र लेख्ने साहित्यको स्वाद नै भिन्नै भएर हो कि ? त्यस्तो साहित्य अरु कसैले नलेखेकोले नै मैले लेख्नुपर्यो भन्दै आएको छु । मैले बच्चै बेलादेखि विदेशी साहित्य पढेँ, नेपालीमा त्यस्तो साहित्य त छैन । पाठकको रूपमा मैले जसरी स्वाद खोज्ने अरुहरू पनि धेरै होलान् । लेखकहरूमा भने अहिले लेखिरहेका नारायण ढकाल, नयनराज पाण्डे, बुद्धिसागर लगायतका केही मन पर्छन् । तर, यो संख्या पर्याप्त छैन ।
हामीकहाँ लेखकहरूले गहिराइमा गएर समाजको नाडी छाम्न सकेका छन् कि छैनन् ?
लेखकहरूले समाज बुझ्न बाँकी राखेका छन् जस्तो लाग्दैन । समकालीन लेखकहरूको कुरा गर्दा म बाहेक (हाँसो) । मचाहिँ त्यस्तो नाडी छाम्नेमा पर्दिनँ । अहिले समर्पित भएर लाग्ने गम्भीर लेखकहरू बढ्दैछन् । जो लेख्नुअघि विषयवस्तु र ठाउँबारे अनुसन्धान नै गरेर केही राम्रो कृति आओस् भनेर लागिरहेका छन् । यो निकै खुसीको कुरा हो । यस हिसाबले साहित्यको स्तर पनि विस्तारै बढ्दै जाला । मेरो हकमा चाहिँ समाज यस्तो संक्रमणमा रहेको र अस्थिर भएका बेला यस्तो मिस्टिका लेखेर बस्ने भनेर पनि टिप्पणी गर्छन् । तर, मेरो बाटो र शैली नै बेग्लै छ । फेरि म साहित्य मात्र लेख्दिनँ । पेन्टिङ, फिल्म, अध्यात्म, दर्शन पनि ल्याउँछु लेखनमा ।
पहिले निकै गुपचुप रहेर आफैंमा सीमित हुने मान्छे पछिल्लो समय सार्वजनिक कार्यक्रममा निकै छाउन थाल्नुभयो नि !
कार्यक्रममा हिंड्न पहिलेको तुलनामा अलि बाक्लिएको मात्रै हो । धेरै भिडमा मिसिन त मेरो स्वभावले नै दिंदैन । मान गरेर बोलाएको ठाउँमा नाइँ भन्न मन लाग्दैन । के रैछ त हेरुँ न भन्ने लाग्छ । तर, त्यसरी बाहिरतिर जाँदा कसैले पुस्तकको प्रशंसा गर्यो भने निकै अप्ठेरो महसुस हुन्छ । झुटो बोल्या हो कि जस्तो लाग्छ । बरु गाली गर्यो भने पचाउँछु ।
बिहे गरेपछि बजारभाउ थाहा भयो भन्नुभएको थियो एक समय । अहिले त छोरा जन्मिएको पनि सात वर्ष भइसक्यो । पछिल्लो समय लेखनमै लागेर गुजारा चलाइरहँदा महँगीले कति गाह्रो पारेको छ ?
बिहे भएपछि बजारले धेरैतिरबाट घेर्दो रैछ । त्यतिखेर सुरुवाती बेलामा भाउबारे सजग भइयो । तर, पछि हालत उस्तै । किनमेल श्रीमतीले नै गर्न थालिन् । म त फेरि पनि सबै कुरादेखि बेखबर हरफन मौला नै बनेँ । बजारभाउको नाममा फिल्मको डीभीडी र चुरोटको भाउ मात्रै थाहा छ । महँगीको भार प्रकाशकले उठाइदिएका छन् । लेखन-कक्ष (गुफा) सहित घर खर्चका लागि मासिक २५ हजार रुपैयाँ पाउँछु । त्यसैले पूर्णरुपमा लेखनमै लीन हुन पाएको छु ।
लेखन यात्राको कुनै ड्रिम प्रोजेक्ट पनि छन् कि ?
ग्राफिक नोभल (सचित्र उपन्यास) प्रकाशन गर्ने सोच छ अढाई-तीन सय पेजको । नेपालीमा ग्राफिक नोभल अहिलेसम्म छैन । यस्तो डिजाइनको निकाल्ने भनेर दिमागमा खाका तयार छ । मेरो आइडियाअनुसार स्केच कोर्ने मान्छे पनि चाहियो । समय लाग्ला ।
Leave a Reply