काठमाडौं–कागज, रजिस्ट्ररमा चलिरहेको कारागार व्यवस्थापन अब इन्टरनेट एप्लिकेसनबाट गरिने भएको छ। कारागार व्यवस्थापन विभागले अब अनालाइन एप्लिकेसनमार्फत तथ्यांक चुस्त दुरुस्त राख्ने प्रक्रिया थालनी गरेको हो । कारागारका कुनै पनि तथ्यांक थाहा पाउन अब कुर्नुपर्दैन।
त्यसका लागि देशका ७४ वटा कारागारबाट कैदी, थुनुवाको तथ्यांक संकलनका क्रममा रहेको विभागका निर्देशक देवीप्रसाद सुवेदीले बताए । अब एक महिनाभित्र अनलाइन एप्लिकेसनमार्फत मोबाइलमा समेत तथ्यांक हेर्न सकिनेछ ।
अहिलेसम्म सम्बन्धित जिल्ला कारागारले फ्याक्सबाट तथ्यांक पठाउने गरेकामा अब सम्बन्धित जिल्ला कारागार व्यवस्थापनले मोबाइलबाटै तथ्यांक अपडेट गराउन सक्नेछन् । अबको एक महिनाभित्र कारागार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आउने सुवेदीले बताए । उनले भने, ‘मध्यपश्चिम, सुदूरपश्चिमको तथ्यांक राखिसकेका छौं । अबको चार दिनपछि पूर्वाञ्चलको अपडेट गर्दैछौं । त्यसपछि बाँकी रहेका क्षेत्रको तथ्यांक संकलन गर्दैछौं ।’
सूचना, प्रविधिमार्फत तथ्यांक व्यवस्थित गर्न सकिने हुँदाहुँदै पनि म्यानुअलमा काम गर्नुपरेको र हस्तलिखितमा त्रुटि हुने गरेको उनले बताए । ‘जिल्लामा विवरण माग्दा हैरान भएको छ । अब यो समस्या छिट्टै समाधान गर्दैछौं,’ उनले भने ।
source Nagariknews
Leave a Reply