ललितपुरमा १७ वर्षदेखिको यातायात सिन्डिकेट तोडिँदै

Posted On    Author    Category सामाजिक.

ललितपुर । रुट परमिट हुँदाहुँदै पनि बढी आम्दानी गर्नकै लागि निश्चित रुटमा गाडी नचलाउने भाडाका सवारीलाई ललितपुर ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

ट्राफिक प्रहरीले त्यस्ता रुट परमिट भएका सवारीहरुलाई कारवाहीको दायरामा ल्याउने भएपछि १७ वर्षदेखि चल्दै आएको सिन्डिकेट तोडिने भएको हो ।

ललितपुरको गोदावारी क्षेत्रमा चल्ने अधिकांश माइक्रोबसहरुमा गोदावारीदेखि रत्नपार्कसम्म सवारी चलाउने रुट परमिट रहेको थियो । तर, उनीहरुले आफ्नो फाइदाका लागि गोदावारीदेखि लगनखेलसम्म मात्र सवारी चलाउने गरेका थिए । जसले गर्दा यात्रुहरुले सास्ती भोग्नु परिरहेको थियो ।

‘३०–३५ किलोमिटर टाढा रहेको धुलिखेलसम्म एउटै गाडी चल्ने र रत्नपार्कबाट १६ किलोमिटर मात्र टाढा रहेको गोदावारी पुग्न भने दुईवटा गाडी परिवर्तन गर्नुपर्ने अवस्था थियो,’ लतिलपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले भने ।

यात्रुहरुको गुनासोपछि सो रुटमा चल्ने सवारीसँग सोधपुछ र चेकजाँच गर्दा अधिकांश भाडाका सवारीसँग रत्नपार्क–गोदावरीको रुट परमिट भएको फेला पारेको हाछेथुले जानकारी दिए ।

‘नयाँ रुट परमिटका लागि पहल गर्नु पर्ने होला भनेर हामी सोधपुछ र चेकजाँच गर्दा रुट परमिट पहिल्यै रहेको फेला पर्यौँ,’ उनले भने, ‘यातायात समितिले उनीहरुलाई लगनखेलसम्म मात्र चलाउन दबाब दिएको तथ्य पनि हामीले फेला पार्यौँ ।’

यो खुलासासँगै ललितपुर ट्राफिक प्रहरीले परमिट भएका ४७ वटा भाडाका सवारीलाई आइतबारबाट रत्नपार्क–गोदावारी सिधा रुटमा गाडी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । ‘यो रुटमा नचलाउनेहरुलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ,’ हाछेथुले रातोपाटीसँग कुरा गर्दै भने ।

हाल गोदावारीबाट रत्नपार्कसम्म जान सर्वसाधारणले दुईवटा गाडी परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । उनीहरु गोदवारीबाट लगनखेल आएर लगनखेलबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता रहेको छ । रत्नपार्कबाट आउँदा पनि यही बाध्यता रहेको छ ।

यसले गर्दा यात्रुले कहिलेकाहीँ आधा घण्टासम्म पर्खनुपर्ने बाध्यता रहेको थियो भने । सामान बोकेकाहरु, महिला, बृद्धबृद्धा र बालबालिकाहरुलाई समस्या हुने गरेको थियो ।

त्यस्तै दुईवटा गाडी परिवर्तन गर्नुपर्दा पैसा बढी लाग्ने गरेको गुनासो यात्रुहरुको थियो । हाल लगनखेलबाट रत्नपार्कसम्म १७ रुपैयाँ र लगनखेलबाट गोदावारीसम्म २५ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । अब गोदावारीबाट रत्नपार्क र रत्नपार्कबाट गोदावारी गाडी चल्दा यात्रुले पूरा रुटको ३५ रुपैयाँ मात्र तिनुपर्ने हुन्छ । यसबाट सर्वसाधारणको पैसा बचत पनि हुने ट्राफिक प्रहरीको भनाई छ ।

यसको साथै गोदावारीको आन्तरिक पर्यटनलाई टेवा पुग्नुका साथै ट्राफिक जाम पनि कम हुने आशा प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *