यसकारण तन्नेरीमै बिग्रिदैछ नेपालीको मुटु, ५ वरिष्ठ मुटुरोग विशेषज्ञको धारणा

Posted On    Author    Category स्वास्थ्य.

डा दिवाकर शर्मा वरिष्ठ मुटुरोग विशेषज्ञ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
नेपालीको बढ्दै गएको आयस्रोतका कारण जीवनशैलीमा पनि अस्वभाविक परिवर्तन आइरहेको छ । जसका कारण ग्रामीण भेगका मानिस सदरमुकाममा आएर बस्ने वा अन्य सहरी क्षेत्रमा बसाइ सर्ने क्रम जारी छ । गाउँबाट सहरमा आएका मानिस विलासी हुँदै जाँदा मुटुरोग पनि बढिरहेको हो ।

अर्कोतर्फ हुर्कंदै गरेका केटाकेटीलाई सहरी क्षेत्रमा पर्याप्त खेल्ने मैदान छैन । जंकफुड तथा विषादीयुक्त खाना नियमित खाइरहेका छन् अनि प्रदुषणको मार उस्तै छ । रेस्टुरेन्टको खानपिन उस्तै अस्वस्थकर छ । जथाभावी नुन तथा चिल्लो हालिएको खानेकुरा छ । अनुमगन छैन । यतातिर सरकारले कुनै ध्यान नदिँदा भोलिका दिनमा तन्नेरीमै धेरै नेपालीको मुटु बिग्रिने खतरा छ । सन् १९६० र ७० को दशकमा अमेरिकाले भोगेको पीडा अब हामीले खेप्नुपर्ने अवस्था आइरहेको छ । त्यसकारण सरकारले उपचार सेवाको विस्तारसँगै रोगको मुहान बन्द तथा साँघुरो बनाउने बाटोतर्फ प्राथमिकता दिनुपर्छ ।

जंकफुड रोक्ने, सहरमा पर्याप्त मात्रामा खुला स्थान बनाउने, प्रदुषण रोक्ने, रेस्टुरेन्टका फास्टफुडलाई रोक्ने/नियमन गर्ने, वडा–वडामा रक्तचाप, सुगर जाँचको व्यवस्था गर्ने हो भने मुटुरोग लाग्नबाट धेरैलाई जोगाउन सकिन्छ । साथै, सरकारले गंगालाललाई प्रतिष्ठान बनाएर आवश्यक जनशक्ति उत्पादनको बाटो पनि खोल्नुपर्छ ।

सिपिआर तालिम अनिवार्य हुनुपर्छ
डा यादवदेव भट्ट
वरिष्ठ मुटुरोग विशेषज्ञ, नर्भिक अस्पताल
हामीले सन् २००४ मा गंगालालमा एन्जियोप्लास्टी सेवा सुरु गरेका हौं । त्योभन्दा अगाडि नर्भिकमा यो सेवा सुरु भएको थियो । हामीले गंगालालमा सेवा सुरु गर्दा मुस्किलले एक जना बिरामी भेटिन्थ्यो । तर, अहिले दैनिक ४–५ जनाको एन्जियोप्लास्टी हुन्छ । महिनामा मैले ४० देखि ४५ जनाको एन्जियोप्लास्टी गरिरहेको छु । यो भनेको नेपालमा मुटुरोगका बिरामी बढ्दै गएको प्रमाण हो ।
उपचार सेवाका दृष्टिले हार्डवेयर र सफ्टवेयर अर्थात् संस्था र जनशक्ति दुवै क्षेत्रमा क्रमिक विकास भइरहेको छ । तर, बिरामीको दाँजोमा निकै कम छ ।
हृदयाघात भएर लडेका बिरामीलाई जति छिटो अस्पताल पु¥याउन सक्यो त्यति धेरै बाँच्ने सम्भावना हुन्छ । तर, हामीकहाँ ढिलो गरी अस्पताल पुग्ने चलन छ । हृदयाघातका कारण बेहोस भएर ढलेका बिरामीलाई तत्कालै कार्डियो पल्मोनरी रिससिटेसन (सिपिआर) अर्थात् तालिम प्राप्त व्यक्तिले छातीमा दुवै हातले थिच्ने र मुखबाट हावा दिएर अचेत अवस्थामा रहेका व्यक्तिको श्वासप्रश्वास फर्काउने काम गर्न सके ५० प्रतिशत मृत्यु रोक्न सकिन्छ । विदेशमा १८ वर्षमाथिका अधिकांश व्यक्तिले यस्तो तालिम लिएका हुन्छन् । हामीले पनि पछिल्लो समय बैंक तथा कार्यालयमा पुगेर यस्तो तालिम दिइरहेका छौं । सिपिआर तालिमलाई अनिवार्य गर्न सके धेरै मृत्युलाई रोक्न सकिन्छ ।

आरामदायी जीवनशैलीले निम्त्याउँछ मुटुरोग
डा रत्नमणि गजुरेल
वरिष्ठ मुटुरोग विशेषज्ञ, मनमोहन कार्डियोथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्स सेन्टर
मानव शरीरमा सबैभन्दा पहिला काम गर्न सुरु गर्ने अंग मुटु हो । मानिसको जीवन मुटुको धड्कनबाट सुरु हुन्छ र अन्त्य पनि मुटु बन्द भएसँगै हुन्छ । मानिसको मुटु आमाको पेट भित्र रहँदादेखि नै चल्न थाल्छ । आमाको पेटमा ७ देखि ८ हप्ताको हुँदा मुटु चल्न थाल्छ । मुटुले शरीरका सबै अंगमा रगत पम्प गरेर पठाउने काम गर्छ । जबसम्म मुटु राम्रोसँग चल्छ मानिस स्वस्थ रहन्छ तर जब यसमा गडबड आउँछ शरीरमा विभिन्न रोग तथा समस्या देखिन थाल्छ ।
पछिल्लो समय मुटुका बिरामी बढेका छन् । मुटुरोगमध्ये विशेषगरी कोरनरी आर्टरी डिजिज रक्तचाप, सुगर, खानपान, जीवनशैली र उमेर बढ्दै जाँदा देखिन्छ । मुटुका रोग लगाउने जोखिमलाई परिवर्तनशील र परिवर्तन गर्न नसकिने गरी दुई भागमा छुट्याउन सकिन्छ । व्यवहार र चालचलन परिवर्तनशील जोखिम हुन् भने उमेर, लिंग, वंशाणुगत आदि परिवर्तन गर्न नसक्ने जोखिम हुन् ।

उच्च रक्तचाप तथा सुगरको समस्यालाई मानिसले खानपान र व्यवहारबाट परिवर्तन गर्न सक्छन् । धूमपान, मद्यपान छाड्न सक्छन् । तर, जन्मजात जिनमै रोगको जोखिम छ भने त्यो परिवर्तन गर्न सकिँदैन ।

मुटुरोग विलासी जीवन, मोटोपन, उच्च रक्तचाप, अस्वस्थ जीवनशैलीका कारण धेरै देखिन थालेको छ । त्यसकारण यसलाई मानिस आफैंले नियन्त्रणमा ल्याउन सक्छन् । जहाँ आरामदायी जीवनशैली छ, त्यहाँ कोरनरी हार्ट डिजिज बढी हुन्छ । तुलनात्मक रुपमा गाउँमा शारिरीक परिश्रम बढी हुन्छ । त्यसैले त्यहाँ मुटुरोग सहरमा भन्दा कम छ ।
पछिल्लो समय रेमिट्यान्स लगायतका कारण जीवनलाई सरलीकरण गर्ने क्रममा मानिस विलासी बन्दै गएका छन् । गाउँबाट सहर बसाइ सरेकाहरुले सहरी जीवनशैलीको नक्कल गर्दा थप समस्या बल्झिएको छ । योसँगै बढिरहेको तनावले पनि रोग थपिएको छ । त्यसैले मानिसले मुटु रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन जरुरी छ ।

नियमित व्यायाम र स्वास्थ्य परीक्षण गरौं
डा प्रकाशराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ, वीर अस्पताल
मुटु जोगाउन प्रत्येक दिन ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ । जीवनलाई सुखी बनाउन नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक छ । यसका साथै मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह उच्च कोलेस्टेरोल जस्ता समस्याको समयमै उपचार गराउनुपर्छ । मोटोपन नियन्त्रण, मानसिक तनावबाट मुक्ति, व्यायाम, योगाभ्यास आदिले मुटुका समस्या लाग्नबाट बचाउँछ ।

काठमाडौंको विकल्प बन्दैछ चितवन
डा श्यामराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ, चितवन मेडिकल कलेज
मुटुको उपचार भन्ने बित्तिकै काठमाडौं जानुपर्छ भन्ने वाध्यतालाई हामीले क्रमशः हटाउँदै गइरहेका छौं । चितवनमा हामीले ०७० भदौ ११ देखि क्याथल्यब सेवा दिन थालेका हौं । यहाँ अहिले मुटुको ओपोडीदेखि जटिल शल्यक्रियासम्म हुन थालेको छ । हृदयाघात भएका धेरै बिरामीले नयाँ जीवन पाइसकेका छन् । मुटुको उपचारका लागि दैनिक ७० भन्दा बढी बिरामी ओपिडीमा आउँछन् । मुटु उपचार सेवा सुरु भएयता हामीले १५ सयभन्दा बढीलाई नयाँ जीवन दिन सफल भएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *