बजारमा सुनको हाहाकार !

Posted On    Author    Category व्यापार.

काठमाडौं । हरितालिका तीजलाई नेपाली हिन्दु महिलाहरुको महान् पर्वका रुपमा लिइन्छ । यो वर्षको तीज पर्वपनि नजिकै आइसकेको छ ।

तीजमा नेपाली महिला राम्रा पहिरनसँग सुनका गरगहना लगाएर हिड्छन् । अरु बेलामा भन्दा तीज पर्वको बेला महिलाहरु धेरथोर सुनका गहना थप्न चाहन्छन् । जसका कारण तीजवर्त नजिकिएसँगै सुन पसलहरुमा महिलाहरुको भीड बढ्न थाल्छ ।

तीजका बेला सुनको तिलहरी, नौगेडी, जन्तर लगायतका गहना लगाएर महिलाहरु हिड्न गर्छन् । तीजमा गहना लगाउने संस्कृति पछिल्लो समय फेसन जस्तै बनेको छ । तीजमा आफन्तहरुलाई गरगहना उपहार दिने चलन पनि छ ।

सुन बढी बिक्री बितरण हुने तीज पर्वको पूर्व सन्ध्यामा सुनको आपूर्ति कम भएको व्यवसायीको भनाई छ ।

नेपाल सुनचादी ब्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्य समयको तुलनामा तीजको बेलामा सुनको गहनाको माग दोब्बर हुने बताउँछन् ।

‘अरु सामान्य बेलाको तुलनामा तीजको बेलामा गहनाको माग दोब्बर हुन्छ, साउन दोस्रो सातादेखि बृद्धि हुने सुनको माग भदौ दोस्रो सातासम्म रहने गरेको छ,’ शाक्यले भने । तर अहिले सुन नपाइएको कारण गहनाको अर्डर नै लिन छोडिएको शाक्यले बताए ।

‘नियमित ग्राहकलाई सुन छैन भनेर गहनाको अर्डर नलिइ फर्काउन पनि समस्या छ, तर बजारमा सुन पाइदैन, ग्राहकले नै बेच्न ल्याएका पुराना गहना खिचेर नयाँ बनाउदै दिदै गर्ने गरेको भएपनि अब त त्यो पनि कम भइसक्यो,’ शाक्ले भने ।

न्यूरोडमा रहेको श्री कुमकुम ज्वेलर्सका सञ्चालक राजु शाही पछिल्लो समय आवश्यक मात्रामा सुन नपाइएका कारण व्यापारमा असर परेको बताउँछन् । बजारमा सुनको माग भढी भएपनि आफूसँग सुन नभएकोले ब्यवसाय नै संकटमा परेको उनको भनाइ छ ।

तीजमा परम्परागत रुपमा नै गहना लगाउनु पर्ने प्रचलन रहेकाले गहनाको माग बढी रहेको उनले बताए । सुनका हारभन्दा पनि नौगेडी र तिलहरीको माग बजारमा बढी रहेको उनको भनाई छ ।

प्रतिदिन १० देखि २० प्रकारका गहनाहरु बिक्री गर्दै आएका उनले तीजका लागि आधा तोलादेखि डेढ तोलासम्मको सुन अर्डर आइरहेको बताए ।

यस्तै, बिशाल बजारमा रहेको गणपति ज्वेलर्सका बिक्रेता सम्पद सिंहले पनि आवश्यक मात्रामा सुन नपाएकोले समस्या भएको बताए ।

‘सुन आको छैन, अर्डर बढी आउने गरेको छ, पर्याप्त सुन नभई अर्डर लिन पनि मिलेन,’ सिंहले भने ।

यस्तै, बिशाल बजारमै रहेको सालिमार ज्वेलर्सकी विक्रेता रमिता तुलाधारले तीजका लागि नौगेडी, छड्के तिलहरी, माइति तिलहरी लगायतका गहनाहरु बढी बिक्री हुने गरेको बताइन् ।

मानिसहरुको भीड बढ्दो भएपनि बजारमा सुन कम भएका कारण व्यवसायमा डिमान्ड पूरा गर्न गाह्रो भएको बताइन् ।

‘दिनमा ५/६ जनाको अर्डर आउने गरेको छ, तर आवश्यकता अनुसार सुन छैन,’ तुलाधारले भनिन् ।

यस्तै गहना गृहका प्रज्वल गिरीका अनुसार पछिल्लो समय तिजले गर्दा सुनको डिमान्ड बढेको छ । महिलाहरुले तीजका लागि आधा तोलादेखि १ तोलासम्मको सुनका गहना किन्ने गरेकाले व्यवसाय राम्रै चलेको उनले बताए ।

उनले प्रतिदिन २५ देखि ३० वटा अर्डर आउने, तर हाल बजारमा माग अनुसारको सुन नभएकाले डिमाण्ड पुर्याउन गाह्रो भएको बताए ।

यस्तै, लक्की ज्वेलर्सकी बिक्रेता देवी पाण्डेलेपनि पछिल्लो समय तीजले गर्दा बजारमा सुनका गहनाको डिमाण्ड बढेको, तर सुनको आपूर्ति कम भएकाले समस्या उत्पन्न भएको बताइन् ।

दैनिक २० किलो सुन अभाव
मागको आधारमा सुन नपाएपछि देशभरको सुन व्यवसाय चौपट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

बजारमा दैनिक करिब २० किलो सुन कमी भएको उनको भनाई छ ।

‘अहिले ४० किलोभन्दा बढी सुनको माग छ, बैंकबाट २० किलोमात्र सुन बजारमा जान्छ, माग अनुसारको सुन पाइएकै छैन’ शाक्यले भने ।

सुनको अभाब सुल्झाउनको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको ध्यानाकर्षण गराउने तयारी गरिएको पनि शाक्यले बताए ।

२२ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले सुन आयात गरेर बजारमा बिक्री गर्न अनुमति दिएको छ । ती बैंकले बजारमा दैनिक बिक्री गर्ने २० किलो सुनले बजारको माग धान्न सकेको छैन ।

मुलुकमा वार्षिक ५० अर्ब रुपैयाँको सुन कारोबार हुन्छ । आर्थिक वर्ष ०७४÷७५मा सात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको थियो ।

ShopIn Holidays Pvt. Ltd.

सुन नपाएको भन्दै आन्दोलन
बजारमा सुनको माग बढी भएपनि सो अनुसान सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । चितवन, दाङ, कास्की, रुपन्देही, अर्धाखाँची, पाल्पा लगायतका जिल्लाका व्यवसायीहरुले व्यवसाय बन्दको कार्यक्रम समेत गरेका छन् ।

उनीहरुले सांकेतिक रुपमा १–२ दिन बजार बन्द गरेका छन् । तर, सुन नपाउने हो भने बिक्रीका लागि पसलमा सुन नै नरहने अवस्था आउन सक्छ । यस्तो अवस्था आएमा पसल खोल्न सक्ने अवस्था नरहने व्यवसायीहरुको भनाई छ ।

बजारको माग अनुसार सुनका गहना पुर्याउन नसक्दा व्यवसायीहरु धरापमा चितवन सुनचाँदी व्यवसायी संघका एक सदस्यले बताए ।

‘राष्ट्र बैंकबाट दैनिक पाउने २० केजी सुन मध्येपनि ६० प्रतिशत काठमाण्डौ उपत्यकाका ३ जिल्लामा बितरण गरिन्छ, बाँकी ४० प्रतिशत ७४ जिल्लामा भाग लगाउदा बजारको माग अनुसार हुदै भएन,’ उनले भने ।

किन भयो त अभाव ?
गत बर्ष पनि सरकारले बैंकहरुमार्फत दैनिक २० किलो सुन मात्रै ल्याउन पाइने नियम बनाएको थियो । तर, गत बर्ष यसबर्षको जति अभाव भएको ब्यवसायीले बताएका थिएनन् ।

केही बर्षअगाडिदेखि नै ब्यवसायीहरुले आवश्यक मात्रामा सुन नपाएको गुनासो गर्दै आएका थिए । तर, सुन नपाएकै कारण पसल बन्द गर्नुपर्ने अबस्था भने आएको थिएन ।

सरकारले केही महिना अगाडि सुन तस्करीको मुख्य नाइके भन्दै चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरेको छ । सो सम्बन्धि अनुसन्धान गर्दा पछिल्ला केही बर्षयता नेपालमा ३८ क्विन्टल सुन तस्करीबाट भित्रिएको सरकारी अधिकारीको भनाइ छ ।

सरकारको सो भनाइ तथा बैधानिक माध्यमबाट गत बर्षकै जति सुनको आपूर्ति हुदा पनि सुनको हाहाकार हुनले नेपाली बजारको सुनको आपूर्तिको एक प्रमुख माध्यम तस्करी रहेको संकेत मिलेको छ ।

बजारमा सुनको हाहाकार गराउन अर्थमन्त्रालयको निर्णय पनि सहयोगी बनेको छ ।

गत आर्थिक बर्षसम्म सरकारले विदेशबाट आउने नेपालीलाई प्रतिब्यक्ति ५० ग्रामसम्म सुन ल्याउदा भन्सार तिर्नु नपर्ने नियम बनाएको थियो ।

तर, चालु आर्थिक बर्षको लागि ल्याइएको बजेटले यसरी विदेशबाट ल्याउन पाइने सुनको कोटा बढाएर प्रतिब्यक्ति १०० ग्रामसम्म पुर्यायो । सुन ल्याउन पाइने मात्रा बढाइए पनि भन्सार तिर्नु नपर्ने नियम भने हटाइएको छ ।

चालु आर्थिक बर्षदेखि विदेशबाट आउने नेपालीले प्रतिब्यक्ति १०० ग्रामसम्म सुन ल्याउन पाउँछन् । तर पहिलो ५० ग्राम सुन ल्याउने प्रति १० ग्राम ५२ सय र बाँकी ५० ग्राममा प्रति १० ग्राम ६२ सय रुपैयाँको दरले भन्सार तिर्नुपर्छ ।

यो भन्सार दर बैंकिङ प्रणालीबाट आउने सुनले तिर्नेभन्दा बढी छ । बैंकिङ प्रणालीबाट आउने सुनमा प्रति १० ग्राम ४२ सय रुपैयाँका दरले भन्सार तिर्नुपर्छ ।

source: clickmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *