
काठमाडौँ — ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ ।
प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले ९० लाख ६४ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ।
लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा विद्युत् चोरी भइरहेको पाएपछि चोरी नियन्त्रण अभियानलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको प्राधिकरणले पछिल्ला दिनमा लामाटार, लाँकुरी भञ्ज्याङ र च्यासल क्षेत्रमा हुकिङ हटाउन अभियानलाई तीव्र पारेको छ।
प्रमुख यादवका अनुसार स्थानीय सुरक्षाकर्मी, जनप्रतिनिधि र नागरिक समाजका अगुवाको सहयोगमा दैनिक तीन दर्जनभन्दा बढी हुकिङ हटाउने र चोरीका उपकरण जफत गर्न थालिएको छ। प्राधिकरणले हुकिङ सामग्रीसहित स्थानीयवासीलाई पक्राउ गर्दै कारबाहीको प्रक्रिया शुरु गरेको छ।
एक सातामा मात्रै छ लाख ५० हजार रुपैयाँ बराबरको जरिवाना रकमसमेत उठेको छ। चोरी नियन्त्रण अभियानलाई आक्रामक रुपमा सञ्चालन गरिएपछि एकै ग्राहकले एक लाख ५० हजार रुपैयाँसम्म तिर्न थालेका छन्।
प्राधिकरणले मिटर नभएका ग्राहकलाई निवेदन दिएको सात दिनभित्र मिटर उपलब्ध गराउन थालेको छ। महानगर, नगरपालिका र गाउँपालिकाका वडा कार्यालयमा नै विद्युत् मिटर उपलब्ध गराउन शुरु गरिएको प्रमुख यादवले बताए। अटेर गर्नेलाई भने कारबाही गर्ने र कुनै पनि दबाबलाई स्वीकार नगर्ने रणनीतिका साथ प्राधिकरण चोरी नियन्त्रण अभियानमा लागेको जनाइएको छ। प्राधिकरणका अनुसार ललितपुरमा मात्रै ५० करोड रुपैयाँ बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ।
source ekantipur
Leave a Reply