
सिधा पाइला चाल्न हम्मे छ। मान्छे गाडी चढ्न ठेलमठेल गर्दै छन्। घम्साघम्सीमा कसैका झोला खस्छन्, कसैका खुट्टा किचिन्छन् त कसैका टाउका ठोक्किन्छन्।
यस्तो लाग्छ, मानौं त्यहाँ होडबाजी छ, गाडी चढ्नेको। यो होडमा सफल हुनेहरू सिटमा बसेर जितको खुइय मार्छन्, नसकेकाहरू सडकमै निरीह उभिन्छन्। कोही आधा जीउ कुप्य्राएर यी दुवै भावना छल्न खोज्छन्।
बिहीबार साँझ साढे ६ बजे हामी पुग्दा पनि रत्नपार्क यस्तै थियो, महानगरीय प्रहरी कार्यालय अगाडिको कुनोबाहेक।
अस्तव्यस्त रत्नपार्कको त्यो कुनोमा साँझको व्यस्त समय पनि मान्छे भलाद्मी बनेर लामबद्ध उभिएका थिए। चिलले चल्ला छोपेजस्तो माइक्रो देख्नेबित्तिकै सिट लुछाचुँडी गर्ने हतारो उनीहरूलाई थिएन। चिनीको ढिकामा वरिपरि झुम्मिने कमिलाझैं त्यहाँ कोही पनि माइक्रो घेरा हाल्न तम्तयार थिएनन्।
रत्नपार्कको यो कुनो गोंगबु–बानियाँटार जाने माइक्रो स्टप हो। झन्डै एक महिना भयो, यो रूटका यात्रु यसरी लामबद्ध हुन थालेको। उनीहरू लाममा उभिएरै माइक्रो कुर्छन्, र गाडी आएपछि कसैलाई नधकेली आफ्नो पालोमा चढ्छन्। एक ट्रिपमा नअटेकाहरू ठेलमठेल गर्दै घुस्न खोज्दैनन्। बरु, बाहिर उभिएर अर्को माइक्रो पर्खन्छन्।
बिहीबार हामी पुग्दा माइक्रो यात्रुको लाम परैबाट देखियो।
हामीले लाम बसेका समीर शर्मालाई सोध्यौं, ‘कति खेर आउँछ गाडी?’
‘खै, ढिला भइसक्यो। यतिखेर त कहिले आउँछ, कहिले आउँदैन,’ बानियाँटार पुग्न हतारिएका शर्माले मुखको मास्क फुकाल्दै भने, ‘जति हतार भए पनि लाइन नबसी गाडी चढ्न पाइँदैन। सबैले आ–आफ्नो पालोमा चढ्ने हो।’
समीर दिनहुँ यसैगरी लाम लागेर माइक्रो चढ्छन्। रत्नपार्कबाट बानियाँटार जाँदा मात्र होइन, बानियाँटारबाट रत्नपार्क आउँदा पनि। अझ उता लाम बस्न थालेको त छ महिना भइसक्यो।
‘पहिले हामी बानियाँटार स्टपमै लाइन बस्न थालेका हौं, लगभग पाँच महिनापछि रत्नपार्कमा पनि सुरु गर्नुपर्यो भनेर यता पनि बस्न थालियो,’ उनले भने, ‘अहिले त नियमजस्तै भइसक्यो। बानियाँटारको यो रूटमा दिनहुँ आउजाउ गर्नेलाई लाइन नबसी गाडी चढ्न पाइँदैन भन्ने थाहा छ।’
पहिले बानियाँटारमा मात्र लाम बस्ने नियम हुँदा उताबाट आउन सजिलो भए पनि फर्कंदा उस्तै घम्साघम्सी गर्नुपर्ने उनले सम्झे।
‘रत्नपार्कमा त अरू रूट र बानियाँटार रूटमा कुनै फरकै थिएन,’ उनले भने, ‘अफिस टाइममा युद्ध लडेझैं हुन्थ्यो। कतिको पर्स चोरियो, कति माइक्रोको ढोकामा चेपिएर घाइते नै भए। बानियाँटारबाट आउँदा जुन सुविस्ता हुन्थ्यो, यताबाट जाँदा उस्तै सकस।’
‘अहिले रत्नपार्कमा पनि लाइन बस्न थालेपछि बल्ल ढुक्क यात्रा गर्न पाइएको छ।’
बानियाँटारबासी माइक्रो लाममा कतिसम्म अनुशासित छन् भने, यहाँ कसैलाई पालो मिच्ने छुट छैन।
हामी त्यहाँ उभिँदा–उभिँदै एउटा माइक्रो आइपुग्यो। शान्त यात्रु सभ्य रूपमा पालैपालो माइक्रो चढ्न थाले। त्यही बेला एक जना लाम मिचेर छिर्न खोजे।
‘लाइन मिचेर चढ्न पाइँदैन,’ मुन्टो बटारेर ढोकातिर फर्केका गाडी चालकले हप्काए, ‘लाइनमा आउनुस्।’
पालो मिच्न खोज्ने ती व्यक्ति लुरुक्क पछाडि उभिन गए।
रत्नपार्कमा यो नियम लगाउने कुनै ‘ठूला मान्छे’ वा ‘निकाय’ होइनन्। बानियाँटारका स्थानीय हुन्।
‘यो नियम बानियाँटारवासी र माइक्रो समितिले नै मिलेर लगाएको हो,’ माइक्रो चालकले भने, ‘म यो रूटमा नयाँ हुँ, लाइन बस्ने नियमले गाडी चलाउन सबभन्दा सजिलो यही रूटमा रहेछ।’
source setopati
Leave a Reply