एउटा यस्तो गाउँ छ जसको उद्दार गरेको छ अकबरे खर्सानीले । यो गाउँ हो पाँचथरको चिलिङदिन । यहाँका मानिस अकबरे खुर्सानी बेचरै करोडपति बनेका छन्। धेरैको घर व्यवहार अकबरेले नै चलाइदिएको छ । अचम्मै गरेको छ अकबरेको खेतिले यो गाउँमा
यो गाउँ अहिले फाल्गुनन्द गाँउपालिकामा पर्छ । पीरो खुर्सानी फलाएर यहाँका किसानले गुलियो मूल्य पाइहेका छन ।
खुर्सानी त खुर्सानी नै भयो, यहाँ खुर्सानीको विरुवा समेत व्यापक विक्री हुन्छ । बिरुवा बेचेरै करोडपति बनेकाहरु पनि छन् यो गाउँमा ।
यसरी भयो थालनी
चिलिङदिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु भएको १० जति भयो । मेची राजमार्गमा पर्ने इलाम र पाँचथरको सीमावर्ती राँके बजारमा आइपुग्ने झापा, मोरङ, काठमाण्डौ तथा भारतको सिलिगुडी र दार्जिलिङ सम्मका मानिसले यहाँको खुर्सानी स्वादिष्ट रहेको भन्दै धमाधम किनेर लैजान थाले। त्यसबेला यहाँ व्यावसायिक खुर्सानी खेति थिएन। सबैले मीठो खुर्सानी भन्दै किनेर लैजान थालेपछि चिलिङदिनको विज्ञापन हुन थाल्यो ।
चिलिङदिनकै ज्यामिरे टोलका टिका नेम्वाङले यो खेतीलाई अलि बृहत्तर बनाउने सोच बनाए । त्यपछि उनले बिगतमा गर्दै आएको मकै र कोदो खेति हुने १० रोपनी जग्गामा अकबरे लगाए ।
अकबरे फल्न थालेपछि उनी मालामाल भए । त्यसपछि उनले गाउँलेलाई पनि अकबरे लगाउन प्रोत्साहित गर्न थाले ।
नेम्बाङको प्रयासपछि यहाँका प्रायः कृषकले अकबरे रोप्न थाले । धमाधम फल्न थाल्यो अनि खल्तीभरी पैसा आउन थाल्यो । क्रमश पूरै गाउँमा अकबरे खुर्सानी फैलियो ।
यो गाउँमा अचम्मसँग अकबरे खेति बिस्तार भइरहेको जानकारी जिल्ला कृषि विकास कार्यालयमा पुग्यो । कार्यालयका कर्मचारी खेति हेर्न आए ।
यो गाउँले पूरै जिल्लामा अकबरे फैलाउन थाल्यो ।
नेपाल सरकारले ‘एक गाँउ एक उत्पादन’ कार्यक्रम ल्यायो । पाँच वर्ष अघि जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेको कृषि समितिको बैठकले चिलिङदिनलाई अकबरे गाउँ घोषणा गर्यो ।
जिल्ला कृषि विकास कार्यालय र पाँचथर उद्योग बाणिज्य संघको साझेदारीमा चिलिङदिनमा एक गाँउ एक उत्पादन कार्यक्रम कार्यन्वयन हुन थाल्यो ।
त्यसपछि यहाँ अकबरे खुर्सानी झन व्यापक भयो ।
कृषि बिकास कार्यालयको तथ्यांक अनुसार यो गाउँमा साना ठूला गरी ५० वटा समूहले खुर्सानी उत्पादन गरिरहेका छन् । चार सय सात जना किसान अकबरे उत्पादन गरिरहेका छन ।
यो गाउँबाट बार्षिक ५० मेट्रिक टन हाराहारी अकबरे उत्पादन हुन्छ । उत्पादन भएको खुर्सानी इलाम, झापा, दार्जिलिङ, सिलिगुडी, काठमाण्डौ जान्छ । सिंगापुर, हङकङ र वेलायत पनि जान्छ ।
बोटबाट टिप्नासाथ किसानले किलोको दुई सय रुपैंया मूल्य पाँउछन् । सुकाएर बेच्ने हो भने अझ धेरै फाइदा छ । अचार बनाएर बट्टामा राखेको अनि प्रशोधन गरेको खुर्सानीको मूल्य भने गुणस्तर हेरेर सात सय रुपैंयाँ किलोसम्ममा बिक्री हुन्छ ।
गाउँपालिका प्रमुख अम्बरबहादुर नेम्बाङ भन्छन “अब गाउँपालिकाका अन्य वडामा पनि सम्भावना अध्ययन गरेर ‘एक वडा एक उत्पादन’को नीति लिन्छौं।”
बिरुवा बेचेरै लखपति
दश बर्ष अघि शुरु भएको अकबरेको व्यवसायिक खेति बिस्तार भएपछि अभियन्ता टिका नेम्बाङ भने खुर्सानीसँगै बेर्ना उत्पादनमा लागेका छन ।
उनले यो बर्ष टनेल भित्र चारलाख बिरुवा उत्पादन गरेका छन । ‘गतबर्ष पनि बिरुवा उत्पादन गरेर ५० हजार रुपैंयाको बेचें, यो बर्ष चारलाख रुपैंयाँको बेच्छु।’
उनी सरदर सय रुपैयाँ गोटामा बेर्ना बेच्छन् ।
अघिल्ला बर्षहरुमा खुर्सानीमा फंगिसाइड नामको रोग लागेकाले स्वस्थ बिरुवा उत्पादन गर्न टर्नेल तर्फ आकर्षित भएको नेम्बाङ बताउँछन् ।
फाल्गुनन्द गाँउ पालिकाको कृषि बिकास साखाका प्रमुख अम्बिका लुइँटेल हाल खुर्सानीमा लाग्ने रोग किरा नियन्त्रण सँगै बिषादी रहित उत्पादनमा आफुहरुले कृषकलाई प्रोत्साहित गरिरहेको बताँउछन ।
चिलिङदिनको नाम नै अकबरे हुन थालेको छ र चिलिङदिनको अकबरे भनेपछि हाताहाती बिक्छ । नेपाल सरकारको एक गाउँ एक उत्पादन कार्यक्रमलाई चिलिङदिनले सार्थक बनाइदिएको छ ।
Leave a Reply