स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

Posted On    Author    Category सामाजिक.

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् ।
सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयहरूले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्।

स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिकाको मस्यौदामा १२ वर्षभन्दा माथिकाको हकमा सिट क्षमताबराबर संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने व्यवस्था गरिएको छ ।
१२ वर्ष मुनिकाको हकमा भने बसको सिट क्षमता भन्दा एक दशमलव ५ गुणा विद्यार्थी राख्न सकिने व्यवस्था छ । कम उमेरका बालबालिकालाई एउटै सिटमा दुईजना समेत राख्न सकिने भएकाले यस्तो नियम बनाइएको हो।

सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्।
सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ को दफा १५३ को प्रावधानअनुसार निर्देशिका बनाइएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए । शिक्षण संस्थाले विद्यार्थी ओसारपसार गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका सवारी–साधन (बस वा भ्यान)ले दिने यातायात सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उद्देश्यले निर्देशिका ल्याउन लागिएको उनले बताए ।
‘बालबालिका ओसार्ने बसलाई सुरक्षित र व्यवस्थित गराउन निर्देशिका तयार पारेका हौँ,’ उनले भने, ‘निर्देशिकाको मस्यौदा तयार भइसक्यो, सैद्धान्तिक स्वीकृतिका लागि एकसाता अघि मन्त्रालय पठाइसक्यौँ, स्वीकृति दिनेबित्तिकै कार्यान्वयन गर्छौं।’

विभागका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली– २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी विभागले स्कुल बस निर्देशिका जारी गर्न लागेको हो । विभागले तयार पारेको स्कुल बस निर्देशिकाको मस्यौदामा स्कुल बसहरू पहेँलो रंगको हुनुपर्ने प्रावधान छ । स्कुल बसको अगाडि र पछाडि ‘स्कुल बस’ भनेर कालो रंगले लेखिएको हुनुपर्ने मस्यौदामा उल्लेख छ।

यसैगरी, बसमा अनिवार्य रूपमा प्राथमिक उपचार बाकस राख्नुपर्ने व्यवस्था गरिएको छ । बसमा अग्नि नियन्त्रण उपकरण पनि देखिने ठाउँमा हुनुपर्नेछ । त्यसका साथै प्रत्येक बसमा डस्टबिनको अनिवार्य व्यवस्था गरिनुपर्ने मस्यौदामा उल्लेख छ । निर्देशिकाको मस्यौदामा बसको प्राविधिक जाँचपास सार्वजनिक सवारी–साधनसरह हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, स्कुल बसमा आकस्मिक ढोकाको अनिवार्य व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । बसको प्रवेशद्वारको सबैभन्दा तल्लो ‘फुट स्टेप’ जमिन माथि तीन सय मिलिमिटर भन्दा बढी हुनु हुँदैन । भाडामा लिइएको बसका लागि ‘स्कुल अन ड्युटी’ लेखिएको ब्यानर बसको अगाडि लेख्नुपर्ने हुन्छ। निर्देशिकाको मस्यौदामा सिटको कुनै पनि भागबाट तीखो वा धारिलो वस्तु बाहिर निस्किएको हुनु नहुने, झोला राख्ने सुरक्षित ¥याक हुनुपर्नेलगायत व्यवस्था पनि गरिएको छ । निर्देशिकाले स्कुल बस चढ्ने विद्यार्थीको परिचयपत्रका लागि समेत मापदण्ड तोकेको छ । अब स्कुलले प्रत्येक विद्यार्थीका लागि स्कुल बस नम्बर, बस रुट र विद्यार्थीको बस स्टप उल्लेख गरेको फोटो सहितको परिचयपत्र जारी गर्नुपर्नेछ।

यसैगरी बस ड्राइभरले विद्यार्थीको पूर्ण विवरण सहितको सूची राख्नुपर्ने, सूचीमा विद्यार्थीको नाम, कक्षा, ठेगाना, रक्त समूह, रोक्नुपर्ने स्टप उल्लेख हुनुजस्ता व्यवस्था पनि निर्देशिकामा छन् । सञ्चालन रुट प्लान तथा समय तालिका बसमा टाँसिएको हुनुपर्नेछ भने बस सेवासम्बन्धी उजुरी गर्नुपरेमा उजुरी सुन्ने व्यक्तिको नाम र टेलिफोन नम्बर स्पष्ट रूपमा देखिने गरी लेखिएको हुनुपर्ने व्यवस्था निर्देशिकामा छ।

निर्देशिकामा बसको गतिसम्बन्धी मापदण्ड समेत तोकिएको छ । स्कुल बसलाई कुनै पनि अवस्थामा अधिकतम ४० किलोमिटर प्रतिघन्टाभन्दा बढी गतिमा चलाउन पाइनेछैन । चालक र सहचालकले स्कुल र यातायात व्यवस्था विभागले तोकेको पोसाक लगाउनुका साथै अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्नेछ।

निर्देशिकामा विद्यालय, सवारीचालक, अभिभावक र विद्यार्थीका लागि छुट्टाछुटै जिम्मेवारी तोकिएको छ । स्कुल बस चालकले सवारी चलाएका बखत विद्यार्थीसँग बोल्ने, जिस्कने वा अन्य क्रियाकलाप गर्न पाइनेछैन । यसैगरी चालकले अन्य यात्रु र मालसमान बोक्न पाउनेछैनन् । त्यस्तै, चालकले कुनै अभिभावक विद्यार्थी लिन नआएमा विद्यालयको जिम्मा लगाउनुपर्ने जिम्मेवारी तोकिएको छ।

अभिभावकले पूर्वप्राथमिकका विद्यार्थीका हकमा आफँै स्कुलबस स्टेसनसम्म पु¥याउन र लिन आउनुपर्नेछ । चालकले सवारी नियम तथा यस निर्देशिका विपरीत सवारी चलाएको पाइए अभिभावकले तुरुन्त विद्यालय प्रशासन र नजिकको प्रहरीलाई खबर गर्नुपर्ने दायित्व तोकेको छ ।

विद्यार्थीले पनि आफू यात्रा गर्ने सवारी साधनलाई सफा राख्ने, आपसमा मिलेर बस्ने, झ्यालबाट फोहोर नफाल्ने र चालकसँग व्यवहार गर्ने दायित्व पूरा गर्नुपर्नेछ । चालकले सवारी नियम उल्लंघन गरेको देखेमा तुरुन्त विद्यालय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्नुपर्ने दायित्व विद्यार्थीलाई तोकिएको छ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *