वन्दीगृह बन्यो पाठशाला, कारागारबाट घरमा खर्च पठाउनेहरु पनि छन्

Posted On    Author    Category सामाजिक.

भनिन्छ, जिउन जाने कारागार जीवनको पाठशाला हो, नजाने कारागार कालो छिंडी हो । हो, त्यही पाठशालाको अनुभव गरिरहेका छन्, झापा चन्द्रगढीको बन्दीगृहमा रहेका देउकुमार सार्की । जतिबेला उनी जेल परे, उनको हातमा कुनै सीप थिएन्। खेतीपाती, घाँस÷दाउरा, थलो–भकारो या त मजदुरी गर्ने सीपमात्र थियो ।

कारागार उनका लागि पाठशाला बनेको छ । त्यही पाठशालामा प्रयोगात्मक सीप सिके । त्यो सीप प्रयोग गरेर आफूलाई आवश्यक खर्च जुटाउने मात्र होइन, आम्दानी गरेर घर खर्च समेत पठाउँछन् । १० वर्ष अघि जेल परेका सार्की मुढा बुन्छन् । र, त्यसैबाट प्राप्त आम्दानी घर खर्च पनि पठाउँछन् ।

दुई छोरा र दुई छोरीका बाबु सार्कीका घरमा हाल तीनजनाको परिवार छ । ६ जनाको परिवारमा उनी जेल परे । त्यो पछि दुई छोरीको बिहे भयो । अब श्रीमती र दुई छोरासहित ३ जनाको परिवार घरमा छ । आर्थिक अवस्था कमजोर भएका सार्की आफूलाई भेट्न आएका छोरालाई घर खर्च चलाउनु भन्दै पैसा पठाउँछन् । उनी भन्छन्–‘ एक÷दुई महिनामा छोरा भेट्न आउँछन्, उनीहरुलाई नै पैसा दिन्छु, लिएर जान्छन् ।’

दशवर्ष अघि जेल परेका देउकुमारलाई सुरुमा मुढा बुन्न सिक्न एक महिना लाग्यो । बन्दीगृहभित्र पहिलो पटक पुग्दा उनीभन्दा अगाडि गएकाहरुले मुढा बुन्दै थिए । देउकुमारले पनि उनीहरुलाई नै गुरु थापेर मुढा बुन्न सिके । त्यसयता निरन्तर मुढा बुन्दै आएको सार्कीले बताए ।

उनले भने,–‘जान्दिनथें, सिक्न एकमहिना लाग्यो ।’ सिकेको सीप सदुपयोग गर्न खुब मन लाग्ने सार्कीले बताए । उनले भने, ‘मुढा बुनेर दैनिक ५० रुपैयाँ आम्दानी हुन्छ ।’ पहिले पहिले कारागार अथवा जेल भनेर परिभाषा गरिएको थुनुवागृहलाई पछिल्लो समय बन्दीगृह भनिदै आएको छ । तर, जिल्ला कारागार झापामा बसेका उनी कारागार र बन्दीगृह दुवै भन्न रुचाउँदैनन् । यी दुवै गलत रहेको उनको बुझाई छ ।

दशवर्षे बन्दीगृह बसाईमा बन्दीगृहलाई सार्र्कीले होस्टेलको संज्ञा दिए । बाहिर जसरी बुझिन्छ, यो ठाउँ त्यस्तो होइन रहेछ, सार्कीले भने, ‘यो त होस्टल पो रहेछ ।’ बन्दीगृहमा काम गर्नेदेखि खेल्ने, मनोरञ्जन दिने लागि रेडियो, टेलिभिजन लगायतका सञ्चारमाध्यमको सुविधा उपलब्ध छ । त्यस्तै टेबल टेनिस, भलिबल, चेस लगायतका खेल÷मनोरञ्जनको उपलब्धता छ ।

बन्दीगृहमा बसेर घर खर्च पठाउन सकेकोमा गर्व मान्छन् सार्की । उनी भन्छन्, ‘आफू यहाँ बसेर पनि खर्च पठाइयो भनेर खुशी लाग्छ ।’ आफूूलाई भेट्न आएका छोरालाई कहिले पनि खाली हात पठाउनु परेको छैन उनले । ‘आउँदा खेरी यसो २÷३ हजार रुपैयाँ दिएरै पठाउँछु’ सार्कीले भने । बन्दीगृहमा बुनेका मुढा हाल झापा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लगिने गरेको छ । बन्दीले बनाएका मुढा बाहिर बजारमा लानेले प्रतिगोटा १८० देखि ८५ सम्ममा मूल्य दिने गरेका छन्। त्यसमा अहिलेसम्ममा कति मुढा बुनियो भन्ने हेक्का छैन उनलाई ।

बन्दीगृहमा इच्छा गर्ने जति सबैले मुढा बुन्न पाएका छन् । मुढाका लागि आवश्यक सामग्री बाँस, प्लाष्टिक धागो, उनी धागो, पाटा सुत्ली, टायर, रङ, खाप्स्यो, कुरुष लगायत आवश्यक सामग्री बाहिरबाट मगाइन्छ । यसरी बाहिरबाट प्राप्त सामग्री बन्दीगृहभित्र पुगेपछि जसले बुन्न चाह्यो उसैले बुन्छ, कसले कतिवटा बुन्छ त्यही आधारमा आम्दानी पनि गर्छ । अनि निर्माण सामग्री जसले मगायो बुनिएका मुढापनि उसैले बाहिर बिक्री गर्नाले मुढा बुन्नेलाई बजारको खासै चिन्ता छैन ।

बन्दीगृह झापामा मुढा मात्र होइन पुरुषहरुले ढाका टोपी पनि बुनेर बिक्री गरी आम्दानी गर्ने गरेका छन् । साढेतीन वर्ष अघि विराटनगर जेलमा कैदी बन्दी बन्न पुगेका मोरङ पथरी शनिश्चरेका शान्तिराम बराइली हाल झापा जिल्ला बन्दीगृहमा ढाका टोपी बुन्दै छन् । उनी जेल सरुवा भएर झापा आइपुगेका हुन् ।

शान्तिरामले विराटनगर जेलमै ढाका टोपी बुन्न सिके । दुई दिनमा एउटा टोपी बुन्छन् । प्रतिगोटा तीनसयदेखि साढे तीनसयमा बिक्री गर्छन । ढाका टोपीको मूल्य विराटनगर भन्दा झापामा राम्रो रहेको बताउँदै उनले भने, ‘डेढ दुई सयभन्दा बढीमा बिक्री हुँदैनथ्यो, यहाँ त टोपीको मूल्य राम्रो रहेछ, डबलै बढी मूल्य आउँछ ।’

पथरीस्थित भूटानी शरणार्थी शिविरका शान्तिरामका आफन्त सबै तेस्रो मुलुक गइसके । टोपी बेचेर प्राप्त आम्दानी उनी आफैं उपयोग गर्छन् । उनले भने, ‘बचेको रकम कसलाई कहाँ पठाउनु र कोही त छैन, आफैं चलाउँछु ।’

बन्दीगृहमा रहेका अधिकांस पुरुषहरुले मुढा बुन्ने गरेका छन् । आफूले बुनेको मुढाबाट प्राप्त पैसा कतिले घर पठाउँछन् त कतिले त्यही खर्च गर्छन ।

झापा जिल्ला बन्दीगृह धेरै पहिलेदेखि नै मुढा बिक्रीका लागि चर्चित छ । यहाँ बुनिएका मुढा झापा सहित अन्य विभिन्न स्थानमा लगेर बिक्री गरिन्छ । बन्दीले बुनेका मुढा अलि बलिया र टिकाउ हुने विश्वास पनि गरिन्छ । त्यही विश्वासका कारण कतिपय आफैं कारागार पुगेर किन्छन् । तर, बन्दीले निर्माण गरेका सामग्रीको बजार सरकारले नखोजिदिंदा आफूहरुले चाहे जस्तो गरी निर्माण गर्न नपाएको बन्दीहरु गुनासो गर्छन् ।

बन्दीगृह झापामा रहेका बन्दीहरुले निर्माण गरेका मुढा वा टोपीले बजार पाउने हो भने एकै दिनमा चारसय मुढा र दुई दिनमा ३६ वटासम्म ढाका टौपी उत्पादन हुनै बताइन्छ ।

source hamrokatha

Leave a Reply

Your email address will not be published. Required fields are marked *